Comments Add Comment

क्रसर उद्योगले केराबारीको आमजुङ्गीमा उठीबासको त्रास

१७ फागुन, विराटनगर । ढुङ्गागिट्टी कारोबारमा लागेका जनप्रतिनिधि र क्रसर उद्योगीका कारण बस्ती नै उठीबास हुने अवस्था आएको भन्दै मोरङको केराबारी गाउँपालिका-८ आमजुङ्गीवासी आन्दोलनमा उत्रिएका छन् । तर जथाभावी उत्खनन् रोक्न स्थानीय प्रशासनले कुनै कदम चालेको देखिएको छैन ।

आमजुङ्गीबस्ती भएर खदम खोला बग्छ । खदम मोरङ जिल्लामा सबैभन्दा बढी ढुङ्गागिट्टी उत्खनन हुने खोला पनि हो । बस्तीमा करिब चार सय परिवारको बसोबास छ । बस्तीको सिरानमा (माथिल्लो भाग) महादेव मिनरल इन्ड्रष्टिज र शिवम् क्रसर उद्योगमा सञ्चालनमा छन् ।

दुई उद्योगले मनलाग्दी उत्खनन गरेपछि स्थानीय केही दिनयता आन्दोलनमा उत्रिएका हुन् । शनिबार महादेव मिनरल इन्ड्रस्टिजको कार्यालयमा तोडफोड गरेका स्थानीय आइतबार बिहान गाउँपालिका अध्यक्ष रोहित कार्कीलाई भेट्न गाउँपालिकाको कार्यालय पुगे । नाराबाजीसहित पुगेका स्थानीयलाई प्रहरीले गेटमा रोक्यो । गाउँलेले अध्यक्षलाई छलफलका लागि बाहिर बोलाए । तर क्रसर उद्योग सञ्चालकसमेत रहेका कार्कीले स्थानीयलाई भेट्न मानेनन् । आफ्ना समस्या सुनाउन खोज्दा जनप्रतिनिधिले नमानेपछि आक्रोशित समूहले तोडफोडको प्रयास गर्‍यो ।

अध्यक्ष आफैं क्रसर उद्योगी रहेकाले आफ्नो माग सुनुवाइ गर्न चासो नदिएको स्थानीयको आरोप छ । अध्यक्ष कार्की कृष्ण क्रसिङ उद्योगका संस्थापक हुन् । महादेव मिनरल इन्ड्रष्टिजमा गाउँपालिका अध्यक्ष कार्की र ढुङ्गागिट्टी कारोबारी भीम पौडेललगायतको लगानी रहेको स्थानीयवासीको दाबी छ ।

दुई उद्योगले आफ्नो क्षेत्रमा पर्ने खदम खोलाभित्र उत्खनन गरिसकेका छन् । खोला धारमा १५ फिटभन्दा गहिरो खाल्डो छ । खोला बाहिरको निजी जग्गामा पनि १० फिटभन्दा गहिरो खनेर उत्खनन भएको स्थानीय जीतबहादुर बस्नेतले बताए । खोलाधार भन्दा गहिरो हुनेगरी निजी जग्गामा उत्खनन गरेपछि बर्खामा बाढीले गाउँ बगाउने जोखिम भएकाले आन्दोलन गर्नुपरेको उनले बताए ।

बस्ती बगाउने गरी उत्खनन सुरु भएपछि स्थानीयले केही दिनयता प्रदर्शन गरिरहेको उनले बताए । पटक-पटक उद्योग सञ्चालकलाई आग्रह गर्दा नमानेका कारण शनिबारयता प्रदर्शन गर्नुपरेको उनले बताए ।

‘निजी जग्गामा भन्दै मनोमानी रुपमा उत्खनन गर्दा गाउँ नै बगाएर लैजाने जोखिम हुन्छ,’ स्थानीय गोपाल खड्काले भने, ‘सबै सरकारी संयन्त्र ठेकदारको पछि लागेका छन् ।

हाम्रो समस्या सुनिदिने निकाय छैन ।’ गाउँपालिका अध्यक्षलाई अनाधिकृत उत्खननको स्थलगत अध्ययन गर्न आऊ भन्दा नआएको उनले बताए ।

गाउँपालिका घेराउ गर्न आएका स्थानीयवासी ।

स्थानीयको आन्दोलन यो पहिलो भने होइन । गत वर्ष पनि मनोमानी रुपमा उत्खनन भएको भन्दै स्थानीय आन्दोलित बनेका थिए । ढुङ्गागिट्टी कारोबारी भीम पौडेलको प्रवेशले बस्ती नै उठिबास हुने जोखिममा रहेको स्थानीयको दाबी छ ।

सुनसरी-मोरङमा चलेका ढुङ्गागिटी कारोबारी पौडेलले महादेव मिनरल इन्ड्रष्ट्रिज सञ्चालन गर्छन् । दुई वर्षअघि केराबारी प्रवेश गरेका पौडेलका कारण आमजुङ्गीका स्थानीय विस्थापित हुनुपर्ने अवस्था रहेको स्थानीयले बताए ।

‘हामीले अनाधिकृत रुपमा उत्खनन नगर्नुहोस् भनेर पटक-पटक आग्रह गर्याैं,’ स्थानीय जीतबहादुर बस्नेतले भने, ‘तर उद्योग सञ्चालक भीम पौडेलले मानेनन्, गाउँलाई जोखिम पार्नेगरी उत्खनन गरिरहे ।’

भीम पौडेल भन्छन्- मिलाएर लेखिदिनु ल !

ढुङ्गागिट्टी कारोबारी भीम पौडेल भने आफ्नो उद्योगले ढुङ्गागिट्टी उत्खनन गर्दा बस्ती जोखिममा नपर्ने दाबी गर्छन् । आफ्नो निजी जमिनमा रहेको ढुङ्गागिट्टी उत्खनन गरेको बताउँदै उनले खोलाबाट आफूखुसी ढुङ्गागिट्टी निकाल्न नपाएकाहरुको अगुवाइमा प्रदर्शन भएको दाबी गरे । ‘हामीले निजी जग्गामा रहेको ढुङ्गा गिट्टी निकालेर क्रसरको माटो हालेर खेती गर्ने योजना बनाएका थियौं,’ उनले भने, ‘कुरा यिनै हुन् । समाचार मिलाएर लेखिदिनु ल ।’ पौडेलले चिसाङ खोलामा पनि क्रसर उद्योग सञ्चालन गरेका छन् । केराबारीमा जस्तै लेटाङमा पनि स्थानीय असन्तुष्ट छन् ।

केराबारी गाउँपालिका उपाध्यक्ष शान्तिकुमारी लिम्बु भुजेलका अनुसार खदम खोलामा आमजुङ्गी बस्ती आसपास तीनवटा क्रसर उद्योग छन् । तीमध्ये माथिल्लो भागमा रहेको शिवम् क्रसर र महादेव मिनरल इन्ड्रष्ट्रिजको उत्खननका कारण बस्ती जोखिममा छ ।

नियम नमिच्न आग्रह गर्दा व्यावसायीले अटेर गर्ने गरेको उनेको गुनासो छ । निजी जग्गामा उत्खनन गर्दा प्रकृया पूरा गर्नुपर्ने भए पनि सञ्चालकले गाउँ नै जोखिममा पर्नेगरी मनपरी रुपमा उत्खनन गरेको गुनासो आएको उनले बताइन् ।

क्रसर व्यावसायीसँग प्रशासनको पनि मिलेमतो जस्तो देखिएको उनको भनाइ छ । ‘व्यावसायीको ज्याजती बल्झिरहन्छ, हामीले नगर्नुहोस् भनिरहेका छौं,’ उनले भनिन्, ‘केराबारीमा ढुङ्गा गिट्टी उत्खननले ठूलो समस्या निम्त्याएको छ ।’

गाउँपालिका अध्यक्ष रोहित कार्की भने सञ्चारकर्मीलाई प्रतिक्रिया दिन पन्छिरहेका छन् । आइतबार कार्यालयमा पुगेका पत्रकारसँग उनले आन्दोलन चलिरहेकाले केही नबोल्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment