Comments Add Comment

मदन भण्डारी राजमार्ग दमकको भ्युटावरतर्फ सोझिएपछि …

१७ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मदन भण्डारी राजमार्गको धरान–बाहुनडाँगी खण्डमा बन्ने ३१ वटा पुलको आइतबार एकैपटक शिलान्यास गरे ।

प्रधानमन्त्रीले शिलान्यास गरेका पुलहरुमा बजेटको अभाव नहोला । तर, प्रधानमन्त्रीको गृहनगर दमकलाई लक्षित गरेर राजमार्गको घुमाउरो बनाइएको भन्दै यो सडक खण्डमा स्थानीयवासीको असन्तुष्टि देखिएको छ ।

शिलान्यास भएका ३१ वटा पुल बनाउन १३ वटा निर्माण कम्पनीले डिजाइन तयार गर्ने काम गरिरहेका छन् । केही पुलको डिजाइन स्वीकृत भएर निर्माण थाल्ने तर्खर हुँदैछ । यस सडक खण्डको कुल १३० किलोमिटर सडक खण्डका पुलहरु एकैपटक शिलान्यास भए पनि सडक बनाउन भने अझैसम्म बजेट सुनिश्चित भएको छैन ।

६७ किलोमिटर खण्डको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन (ईआईए) तयार भएर बजेट माग गर्ने तयारी हुँदैछ भने बाँकी खण्डको काम प्रारम्भिक वातावरणीय प्रभाव मूल्यांकन (आईईई) नै तयार भएको छैन । तथापि प्रधानमन्त्रीको गृहजिल्लालाई छुने यो सडक खण्डमा बजेटको अभाव नहुने सरकारी अधिकारीहरु बताउँछन् ।

आवश्यक प्रक्रिया पूरा हुनासाथ अर्थ मन्त्रालयबाट बहुवर्षीय ठेक्काका लागि स्वीकृति दिने आयोजनाका निर्देशक उमेशविन्दु श्रेष्ठ बताउँछन् । केही महिनाभित्रै धरान–बाहुनडाँगी खण्डको ६७ किलोमिटर खण्डको सडक बनाउन ठेक्का लगाइने निर्देशक श्रेष्ठले बताए । श्रेष्ठका अनुसार राजमार्गका अधिकांश खण्डमा नयाँ ट्रयाक खन्नुपर्ने छैन, पुरानै सडकलाई रुट तोकिएकाले स्तरोन्नति गरेर काम गर्दा हुने अवस्था छ ।

कतिपय खण्डमा भने राजमार्गको रुटलाई लिएर अझै पनि मतभेद रहेकाले काम अघि बढाउन भने सहज छैन । मोरङ, झापा र इलाममा सडकको रेखाङ्कनप्रति स्थानीयबासी असन्तुष्ट छन् ।

सरकारले चुरे आसपासका क्षेत्रको विकासका लागि भन्दै २०७५ जेठ ६ इलामका रोङ गाउँपालिकाको सलकपुरदेखि डँडेलधुराको रुपाल जोड्ने ‘मदन भण्डारी राजमार्ग’ घोषणा गरेको थियो । धेरैजसो यसअघि नै बनिसकेका स्थानीय सडक खण्डलाई नै राजमार्ग बनाउने गरी प्रस्तावित रुट सार्वजनिक भएको थियो । त्यसबेला मोरङ, झापा र इलामका प्रस्तावित रुटमा पर्ने गाउँका विभिन्न ठाउँमा स्थानीयले दीप प्रज्वलन गरेर खुसीयाली मनाएका थिए । तर, राजनीतिक स्वार्थका कारण भटाभटी रुटहरु बदलिएको भन्दै तिनै जनता अहिले असन्तुष्ट बनेका हुन् ।

यो राजमार्गको सबैभन्दा बढी विवाद मोरङको लेटाङको जाँते–मधुमल्ला खण्डमा छ । सुरुमा मदन भण्डारी राजमार्ग लेटाङको माथिल्लो भेगबाट गुवाबारी, जाँते बजार, खोलीटार, टाँडीको धोबिनी र मधुमल्लाको तोरीबारी हुँदै झापाको बेलडाँगीतर्फ लैजान खोजिएको थियो । यही रुटलाई प्रयोग गर्ने गरी सर्भे भएको थियोे ।

तर, एकाएक रुट बदलेर दक्षिण लेटाङ, जाँतेको मदनचोक र कत्लेको मिक्खुखोला हुँदै मधुमल्लाको पुछारमा लगेर राजमार्ग जोडिएको छ । यसरी रुट फेरेर घुमाउरो बनाउनुको मुख्य उद्देश्य प्रधानमन्त्रीको गृहनगर दमकमा बन्न लागेको भ्यु टावरलाई छुवाउने रहेको सडक विभागका अधिकारीहरु स्वीकार्छन् ।

मोरङको उत्तरी क्षेत्रका स्थानीयले यो सडकलाई पूर्व–पश्चिम राजमार्गभन्दा टाढा पर्ने गरी चुरे पहाडको फेदीबाट लैजान जोड गरेका थिए । तर, सडक विभागले पूर्व–पश्चिम राजमार्गकै नजिक पारेर प्रधानमन्त्री ओलीको गृहनगर दमकतर्फ नै यो राजमार्गलाई सोझ्यायो । स्थानीयले प्रतिरोध गर्ने चेतावनी दिएपछि मन्त्रिपरिषद बैठकबाट विवादकै बीचमा धरान–बाहुनडाँगी खण्डको रेखाङ्कनको निर्णय गरिएको थियो । क्याबिनेटको सोही निर्णयले मदन भण्डारी राजमार्ग दक्षिणतर्फ सोझिएर दमक बजार नजिक पुग्ने निश्चित भएको हो ।

स्थानीयले विगतमा ढाक्रेहरु बाटोलाई आधार बनाएर राजमार्गको रुट बनाउनुपर्ने माग गर्दै आएका थिए । राजमार्गलाई शहरी सडकजस्तो बनाउन नहुने उनीहरुको मत थियो । राजनीतिक उद्देश्य पूर्तिका लागि दमकभन्दा करिब १७ किलोमिटर उत्तरबाट बनाउन सकिने राजमार्गलाई दुई किलोमिटर दूरी राखेर बनाउन लागिएको उनीहरुको भनाइ छ ।

माथिल्लो भेगमा स्थानीयले विरोध गरे पनि राजनीतिक दबाव रहेको भन्दै सडक विभागले पूर्व–पश्चिम राजमार्गकै नजिकबाट मदन भण्डारी राजमार्ग बनाउन प्रस्ताव तयार गरेको हो । पूर्व–पश्चिम राजमार्ग दमकको मुख्य बजार क्षेत्र भएर बनेको छ । यो राजमार्गभन्दा उत्तरतर्फ प्रधानमन्त्रीकै अग्रसरतामा ‘भ्यु टावर’ पनि बन्दैछ । अहिले त्यही भ्यु टावरभन्दा करिब दुई किलोमिटर आसपास पर्ने गरी मदन भण्डारी राजमार्ग बनाउने गरी पुलहरुको शिलान्यास भएको छ ।

मदन भण्डारी राजमार्ग उपभोक्ता सरोकार समिति नेपालका अध्यक्ष वृहस्पती खतिवडा मोरङको केराबारीबाट मदन भण्डारी राजमार्गलाई सीधै बेलडाँगीतिर सोझ्याउनुपर्नेमा दमकतर्फै नलगी नहुने भन्ने ढंगबाट काम भएको बताउँछन् ।

‘यो राजमार्ग पनि दमकलाई नै लक्षित गरियो, जुन गलत छ,’ खतिवडा भन्छन्, ‘यसले गर्दा माथिल्लो भेगका बस्तीहरु उपेक्षामा परे, यो राजमार्ग बनाउनुको औचित्य पनि त्यस क्षेत्रका जनतामाझ पुष्टि हुन सकेन ।’

सुगम क्षेत्रतर्फ नै राजमार्ग सोझ्याउँदा दुर्गम र भित्री क्षेत्रका जनताले विकासको स्वाद नै चाख्न नपाएको उनको गुनासो छ । ‘विकासमा लागि भनेर बनाइएको राजमार्ग शहरतर्फ नै केन्द्रित गर्दा राम्रो सन्देश गएको छैन,’ खतिवडा भन्छन्, ‘सरकारले सकेसम्म गल्ती सच्याओस् ।’

खतिवडाका अनुसार इलामतर्फको चुलाचुलीमा प्रवेश गरेपछि पनि जनतालाई ध्यान दिएर रेखाङ्कन हुन सकेको छैन । इलामको शिखरकटेरीबाट माथि लगेर महामाई, दमक–रवि सडक हुँदै माई नगरपालिकामा पु¥याउन प्रस्ताव गरिए पनि फरक ढंगले रेखाङ्कन गरिएको छ ।

त्यसभन्दा पूर्वातर्फको विवाद भने विभिन्न ढंगबाट सम्बोधन भएको खतिवडाको भनाइ छ । ‘सबै क्षेत्रका जनतालाई समान ढंगबाट हेरेर विकास गर्न सके समस्या आउँदैन,’ उनी भन्छन्, ‘तर, मदन भण्डारी राजमार्गका केही खण्डमा भने जनताको दुःख घटाउनेतर्फ नै सोचिएन ।’

जनप्रतिनिधिको पनि आपत्ति

स्थानीयबासी जस्तै जनप्रतिनिधिहरु पनि सरकारी निर्णयको विरोधमा छन् । मोरङको लेटाङबाट दमकतिर सोझिने गरी राजमार्गको रेखाङ्कन गरिएको आरोप उनीहरुको छ ।

लेटाङबाट टाँडीतर्फ जानुपर्ने मदन भण्डारी राजमार्ग मधुमल्लातिर सोझिएपछि स्थानीय जनप्रतिनिधिले सिंहदरबार नै धाएर भौतिक पूर्वाधार मन्त्री बसन्तकुमार नेम्वाङको ध्यानाकर्षण गराएका थिए । सडकको रेखांकनबारे मन्त्री नेम्वाङलाई भेटेरै विरोध जनाएका मोरङ क्षेत्र नम्बर १ का संघीय सांसद घनश्याम खतिवडा अहिले ओली गुटमा रहेकाले मौन छन् ।

तर, प्रदेश सांसद कुशल साम्बा माथिल्लो भेगका जनतालाई उपेक्षा गरेर राजमार्ग बनाउन लागिएको भन्दै अझै पनि सरकारी निर्णयको विरोधमा छन् । दमक बजारतर्फ केन्द्रित गरेर तल–तलैबाट राजमार्ग लैजाँदा ३० हजार जनसंख्याले यो राजमार्गबाट कुनै पनि लाभ उठाउन नसक्ने अवस्था आएको सांसद साम्बा बताउँछन् । ‘विकास भइसकेको क्षेत्रतिरै राजमार्गलाई केन्द्रित गरियो, यसले विकासमा पछाडि परेकाहरु पछाडि नै रहने भए,’ उनी भन्छन्, ‘जनताका लागि यो प्रतिगमनजस्तैै हो ।’

सडक विभागले भने पहाडको फेदीबाट डीपीआर भए पनि वातावरणीय विनास निम्तिने जोखिम भएपछि रुटलाई तल सार्नुपरेको तर्क गर्दै आएको छ । तर, सो क्षेत्रका सांसद साम्बा भने जाँतेबाट कत्लेसम्म पुग्दा ठूलो जंगल क्षेत्र विनासमा पर्ने बताउँछन् । उनी भन्छन्, ‘माथिबाट भन्दा तलबाट बनाउँदा बढी वातावरणीय विनास हुन्छ, जंगल मासिन्छ ।’

जनतालाई खुसी पार्न नसक्ने विकास बेअर्थको हुने बताउँदै सांसद साम्बा भन्छन्, ‘जनताको विरोधकै बीचमा प्रधानमन्त्रीले पुलहरुको शिलान्यास गर्नु आपत्तिजनक छ । प्रधानमन्त्रीज्युले बनाउँदै गरेको भ्यु टावरको सेरोफेरो बनाएर अर्को राजमार्ग लैजाने योजनाले जनता अन्यायमा परेका छन् ।’

मोरङ क्षेत्र नम्बर १ का सांसद घनश्याम खतिवडा भने यसअघि भएका विवादहरु समाधान गरेर मात्रै राजमार्गको निर्माण अघि बढेको बताउँछन् । ‘हामीले यसअघि राखेका मागअनुसार नै रेखाङ्कन टुंगिएको छ,’ उनले भने,‘मदनभण्डारी राजमार्गमा अहिले विवाद छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment