+
+

महिलालाई जिउँदै पुरेर भारत भागेका थिए डोजर चालक

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत ६ गते १४:३२

६ चैत, काठमाडौं । धादिङको त्रिपुरासुन्दरी–१, सल्यानटारमा महिलालाई जिउँदै खाल्टोमा पुरेर डोजर चालक भारत भागेको पाइएको छ ।

जिल्लाको खोल्सी जिपजिपेमा १७ फागुनमा घाँस बोकेर घरतिर फर्किँदै गरेकी ४५ वर्षीया सरस्वती कुमाल खाल्डोमा खसेकी थिइन् । त्यसपछि बाटो खन्दै गरेका डोजर चालक भीमबहादुर बुढाथोकीले उद्दार गर्नु साटो वरिपरीको माटो ल्याएर उनलाई खाल्डोमा पुरिदिएका थिए ।

तर, स्थानीयले थाहा पाएलगत्तै दाङ घर भएका डोजर चालक भीमबहादुर बुढाथोकी फरार भएर भारत पुगेको पाइएको हो ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का निर्देशक सहकुलबहादुर थापाले बुढाथोकी भागेर नेपालगञ्ज हुँदै भारत गएर लुकेर बसेको बताए ।

‘सुरुमा दाङ गएका उनी आफन्तसँग पैसा लिएर भारतको हरियाणा पुगेको पाइएको छ’, प्रहरी नायब महानिरीक्षक (डीआईजी) थापाले भने, ‘हरियाणामा रहेका आफन्तले उनी महिलाको हत्या गरी भागेको थाहा पाएपछि आत्मसमर्पण गर्न सुझाएका थिए ।’ त्यसपछि हरियाणा छाडेर हरिद्वार पुगेको पाइएको थापाले बताए ।

प्रहरीले उनी त्यहाँ बसेको थाहा पाएपछि पक्राउ गर्न विशेष टोली खटाएको थियो । र, भारतीय प्रहरीसँगको समवन्यमा उनलाई पक्राउ गरेर नेपाल ल्याएको हो । उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय, धादिङबाट कर्तव्य ज्यान सम्बन्धी कसूरमा विस्तृत अनुसन्धान हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?