Comments Add Comment

‘दुर्गाप्रसादले लामो लडाइँ जिते, उपचारको दायित्व नेपाल सरकारले लिए हुन्थ्यो’

७ चैत, काठमाडौं । भारतको जेलमा ४० वर्षसम्म विनासुनुवाइ बसेका इलामका दीपकप्रसाद तिम्सिना (दीपक जैसी) शनिबार थुनामुक्त भएका छन् । दाजु प्रकाशचन्द्र तिम्सिनाको रोहबरमा छुटेका उनी आजै नेपाल फर्किनेछन् ।

उच्च अदालत, कोलकाताले बुधबार साँझ उनलाई छाड्न आदेश दिएको थियो । आदेशमा उनको स्वास्थ्य स्थितिबारे ६/६ महिनामा जानकारी गराउन पनि भनिएको छ ।

इलामस्थित घरबाट १९ वर्षको हुँदा निस्किएका दुर्गाप्रसाद काम खोज्दै दार्जिलिङ गएका थिए । त्यहीँ पक्राउ परे पछि विना सुनुवाइ चार दशकसम्म भारतका विभिन्न जेलमा घुमाइए । थुनामा रहेका एक कैदीबन्दीले उनीबारे वेस्ट बंगाल रेडियो क्लबलाई बताएपछि यो घटना बाहिर आएको थियो ।

उक्त क्लबमा समेत आबद्ध उच्च अदालत, कोलकाताका वकिल हिरक सिन्हा दीपकको पक्षमा कानूनी लडाइँका लागि प्रारम्भदेखि नै खटिएका थिए । ‘एक जना कैदीबन्दीले खबर गरेपछि त्यसबारे जानकारी म कहाँ आएको थियो र जेलमै गएर भेटेको थिएँ’, उनले अनलाइनखबरसँग भने, ‘आज उनी छुट्दै गर्दा मलाई खुशी लागेको छ ।’

शनिबार बिहान दमदम केन्द्रीय कारागारमै सिन्हा पुगेका वेला अनलाइनखबरकर्मी गौरव पोखरेलले उनीसँग टेलिफोन कुराकानी गरेका छन् । प्रस्तुत छ, कुराकानीको सम्पादित अंशः–

इलामका दुर्गाप्रसाद तिम्सिना (दीपक जैसी) विनासुनुवाइ ४० वर्षभन्दा बढी जेल बसेर छुटेका छन्, उनको पक्षमा बहस गरेको वकिलको रुपमा तपाईंलाई कस्तो लागि रहेको छ ?

दुर्गाप्रसादको पक्षमा बहस गरेको कानून व्यवसायीको रुपमा म धेरै खुशी छु । उनको यो लामो लडाइँ थियो र त्यसमा जित भएको छ । कुनै सम्झौताविना छाड्ने सम्मानित उच्च अदालतको यो एकदमै राम्रो फैसला हो । भाइ प्रकाशचन्द्रको रोहबरमा छाड्न आदेश दिएअनुसार उनी छुटेका छन् ।

मानवताको नाताले मलाई दुर्गाप्रसादको चिन्ता पनि छ । जब उनी नेपाल फर्किएर जानेछन्, त्यसपछि सरकारले उनको दायित्व लिन्छ/लिँदैन ? उनको स्वास्थ्य उपचार, खाने र बस्ने व्यवस्था कस्तो हुन्छ ? भन्ने प्रश्न मेरो मनमा छ । उनको भाइसँगको कुराकानीबाट मैले बुझे अनुसार दुर्गाप्रसादको परिवार एकदमै कमजोर आर्थिक पृष्ठभूमिको हो । नेपाल गइसकेपछि उनको आगामी दिन कसरी अघि बढ्छन् भन्ने मलाई चिन्ता लाग्छ ।

उनको उपचार नेपालमा कस्तो हुन्छ भन्ने पनि मलाई चिन्ता लागेको छ । वास्तवतमा कोलकाताको दमदम केन्द्रीय कारागरमा उनले पर्याप्त स्वास्थ्य सुविधा पाएका थिए । उपचारको विषयमा चाहिँ नेपाल सरकारले दायित्व लिइदिए हुन्थ्यो ।

गत सोमबार भएको सुनुवाइमा न्यायाधीशहरुले मानसिक स्वास्थ्यमा समस्या भएका कैदीबन्दीहरुका लागि महत्वपूर्ण फैसला गर्ने भनिएको थियो, त्यस्तो कुनै आदेश आएन होइन ?

– होइन… होइन । दुर्गाप्रसाद जेलबाट छुटे पनि कानूनी लडाइँ सकिएको छैन । आगामी सोमबार २२ तारिखमा यो मुद्दा पुनः सुनुवाइ हुँदैछ । अस्ति आन्तरिक आदेश मात्रै आएको हो । सोमबार यो विषय साढे १० बजे सुनुवाइ हुँदैछ ।

दीपकविरुद्धको मुख्य आरोप के रहेछ ?

उनलाई भारतीय दण्ड संहिताको धारा ३०२ अन्तरगत हत्या आरोपमा मुद्दा चलाइएको थियो । हालसम्म उनीमाथि लागेको आरोपको पुष्टि भइसकेको छैन ।

यो पनि पढ्नुहोस थुनामुक्त भएपछि दुर्गाप्रसादले गाए ‘रेसम फिरिरी’
नेपालमा उनको उपचार कस्तो हुन्छ भन्ने चिन्ता लागेको छ । उपचारको विषयमा नेपाल सरकारले दायित्व लिइदिए हुन्थ्यो ।

उनको स्वास्थ्य अवस्था कस्तो रहेछ ?

उनी शारीरिकरुपमा त ठीक छन् । तर, उनी हल्का मानसिक समस्यामा छन् कि भन्ने लाग्छ । म चिकित्सक त होइन यद्यपि, उनीसँग कुराकानी गर्दा, भेट्दाको अनुमान । स्वास्थ्य परीक्षणले पनि उनी ९/१० वर्षको बच्चाको जस्तो अवस्थामा रहेको भनेको छ ।

दिपकप्रसादको मुद्दा तपाईँसम्म कसरी आइपुगेको थियो ?

खासमा एक जना राधेश्याम दास नाम गरेका कैदीबन्दीले वेस्ट बंगाल रेडियो क्लबमा उहाँबारे खबर गरेका थिए । १० वर्ष अघि कारागारमा दीपकप्रसाद तिम्सिनासँग उनको भेट भएको रहेछ, गत जेनवरीमा जेल पर्दा पनि देखेपछि उहाँले क्लबमा खबर गर्नुभएको थियो । त्यसपछि मैले पनि उहाँबारे सूचना पाएँ र सबै सरोकारवाला निकायसँग खबर गरेर मैले उनलाई जेलमै पनि भेटेको थिएँ ।

दुर्गाप्रसादको यो घटनाले दक्षिण एसियाको फौजदारी न्याय प्रणालीको अवस्था कस्तो रहेछ भन्ने पनि देखायो होइन ?

– भारतमा केही कार्यविधि कानूनहरु छन्, एउटा प्रावधानले के भन्छ भने मानसिक समस्या भएका व्यक्तिले निको नहुञ्जेलसम्म अभियोगको सामाना गर्नुपर्दैन । उनको उपचार गराएपछि मात्र थप कारबाही प्रक्रिया अघि बढाउनुपर्छ नत्र, उनलाई छाडिन्छ ।

दक्षिण एसियाका विभिन्न मुलुकमा यस्ता खाले विभिन्न प्रावधान छन् । यो सम्बन्धित देशमा भर पर्ने कुरा हो । यस्तो अवस्थामा मलाई अरु मुलुकको बारे धेरै त थाहा हुने कुरा भएन । त्यसैले मैले फौजदारी न्याय प्रणाली खराब अवस्थामा छ भनेर त भन्न सक्दिन । तर, विभिन्न मानिसक समस्या भएका व्यक्तिको पुनस्र्थापना, सुनुवाइ लगायतको विषयमा केही कानूनी अपर्याप्तता पक्कै छन् ।

भारतीय जेलमा अन्य व्यक्ति पनि दिपकप्रसाद जस्तै सुनुवाइविनै लामो समयदेखि बसेका हुनसक्छन् ?

मलाई ठ्याक्कै जानकारीमा त छैन । तर, भारतमा दमदम कारागार जस्ता थुप्रै सुधार गृहहरु छन् । उनी जस्तै अरु व्यक्ति पनि लामो समयदेखि विना सुनुवाइ बसेको थाहा पाए, छुटाउन पहल गर्छौं ।

यो पनि पढ्नुहोस हराएको ४० वर्षपछि भारतीय जेलमा दाजुभाइको संवाद

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
गौरव पोखरेल

ट्रेन्डिङ

Advertisment