Comments Add Comment

दुई गोलको अग्रता जोगाउन नसक्दा पोर्चुगल बराबरीमा रोकियो

१५ चैत, काठमाडौं । फिफा विश्वकप २०२२ को युरोपियन छनोटअन्तर्गत आफ्नो दोस्रो खेलमा पोर्चुगल बराबरीमा रोकिएको छ ।

शनिबार राति भएको खेलमा दुई गोलको अग्रता लिए र पनि पोर्चुगल १० खेलाडीमा सीमित सर्बियासँग २-२ गोलको बराबरीमा रोकिएको हो ।

घरेलु मैदानमा सर्बियाले पुनरागमन गर्दै पोर्चुगलसँग अंक खोसेको हो ।

खेलको ११ औं मिनेटमा डिएगो जोटाले गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए । ३६औं मिनेटमा जोटाले व्यक्तिगत दोस्रो गोल गर्दै पोर्चुगललाई पहिलो हाफमा २-० को अग्रता दिलाए ।

तर दोस्रो हाफमा सर्वियाले दुई गोल गर्‍यो । ४६ औं मिनेटमा एलेक्सजान्डर मिट्रोभिचले गोल गर्दै सर्बियालाई खेलमा फर्काए ।

त्यसपछि ६० औं मिनेटमा घरेलु टोलीका फिलिप कोस्टिकले गोल गरेपछि खेल २-२ को बराबरीमा सकियो ।

खेलको इन्जुरी समयमा निकोला मिलेन्कोभिचले रातो कार्ड पाएपछि सर्बिया १० खेलाडीमा समेटिएको थियो ।

यस बराबरीपछि सर्बिया र पोर्चुगल दुवैले समूह ए मा समान ४ अंक जोडेको छ । तर गोल अन्तरको आधारमा सर्बिया पहिलो र पोर्चुगल दोस्रो स्थानमा छ । यस्तै समूहको अर्को खेलमा लक्जेमवर्गले रिपब्लिक अफ आयरल्याण्ड्लाई १-० ले पराजित गर्दै ३ अंक जोडेको छ ।

यस्तै समूह ई को खेलमा बेल्जियम चेक रिपब्लिकसँग १-१ को बराबरीमा रोकिएको छ । रोमेलु लुकाकुले बेल्जियमको लागि बराबरी गोल गरेका थिए ।

चेक रिपब्लिकको मैदानमा भएको खेलको ५०औं मिनेटमा लुकास प्रोभोडले गोल गर्दै घरेलु टिमलाई १-० को अग्रता दिलाएका थिए ।

बेल्जियमका रोमेलु लुकाकुले ६०औं मिनेटमा गोल गर्दै ले बराबरी गरे ।

यस बराबरीपछि चेक रिपब्लिकले २ खेलमा ४ अंक जोड्दै समूह ई को शीर्ष स्थानमा छ । २ खेलबाट समान ४ अंक भए पनि बेल्जियम गोल अन्तरका आधारमा दोस्रो स्थानमा छ ।

यसै समूहको अर्को खेलमा बेलारुसले इस्टोनियालाई ४-२ ले पराजित गरेको छ ।

यस्तै समूह जी मा नेदरल्यान्ड्सले लाट्भियालाई २-० ले हराउँदै छनोटमा पहिलो जित हात पारेको छ ।

टर्कीविरुद्ध पहिलो खेलमा नेदरल्याण्ड्स ४-२ ले पराजित भएको थियो ।

नेदरल्याण्ड्सको जितमा स्टेभेन बर्जघुइस र लुक डे जोङ गोल गरे ।

जितपछि नेदरल्याण्ड्सले २ खेलमा ३ अंक जोडेको छ । यसै समूहमा टर्कीले नर्वेलाई ३-० ले पराजित गर्दै लगातार दोस्रो जित हात पारेको छ । २ खेलबाट ६ अंकसहित टर्की शीर्ष स्थानमा छ । मोन्ट्रेलेगोले पनि जिब्राल्टरलाई ४-१ ले पराजित गर्दै ६ अंक जोडेको छ र गोलअन्तरका आधारमा दोस्रो स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment