Comments Add Comment

नेपाली आधुनिक संगीतको विकासक्रम बुझाउने किताब

‘यो पुस्तक मेरा व्यक्तिगत संस्मरणको संग्रह हो र यो कुनै ऐतिहासिक अभिलेख होइन’ लेखक तथा पत्रकार पिटर जे कार्थकले आफ्नो निबन्ध संग्रह ‘नेपाली संगीत स्रष्टा, दार्जिलिङ र काठमाडौं’ को आभार पृष्ठमै प्रष्ट्याएका छन् ।

कार्थकले केही वर्षअघि अंग्रेजी भाषामा लेखिएको पुस्तकको यो नेपाली संस्करण हो । पुस्तकमा कार्थकले सन् १९९७ देखि सन् २०१७ बीचमा विभिन्न अंग्रेजी पत्रिकामा छापिएका र थप दुई दार्जिलिङ पहाड र काठमाडौं खाल्डोको संगीत संसार गरी नयाँ सामग्री समेटेका छन् ।

पुस्तकमा कार्थकले आफूले संगत गरेका र नजिकबाट चिनेका नेपाली सांगीतिक इतिहासमा उच्च स्थान ओगटेका स्रष्ठाहरूसँगको संस्मरण पनि समेटेका छन् । पुस्तक पढ्दा कार्थकको व्यक्तिगत जीवन र सांगीतिक क्षेत्रमा स्थापित व्यक्तित्वहरूसँगको उनको सम्बन्धलाई पहिल्याउन सकिन्छ ।

१२ वर्षको हुँदा सांगीतिक क्षेत्रमा प्रवेश गरेका उनले गोपाल योञ्जन, अरुणा लामा, पुष्प नेपाली, रञ्जित गजमेर, दिव्य खालिङ, शान्ति श्रेष्ठ, नातीकाजी, अम्बर गुरुङ, कुमार बस्नेत, तारादेवी, शान्ती ठटाल, दिलमाया खातीलगायतका सांगाीतिक स्रष्टासँग संगत गरे अर्थात उनीहरुलाई नजिकबाट चिन्ने मौका पाए ।

तारादेवीलाई रेडियो नेपालबाट बेईजतीपूर्वक निष्कासित गरिँदा जीवनका अन्तिम दिनहरूमा उनले भोग्नुपरेको कठिन परिस्थिति, अम्बर गुरुङलाई दार्जिलिङमा बस्ने वातावरण नहुँदा नेपाल आएर बस्न बाध्य हुनुपर्दाको प्रसंग पनि किताबमा उठान गरिएको छ ।

त्यही भएर पनि कार्थकले पुस्तकमा उनीहरुको व्यक्तिगत तथा सांगीतिक जीवनको मिहिन पाटो लेख्न सकेको पाइन्छ ।

पुस्तकमा लेखकले केही सांगीतिक स्रष्टालाई व्यक्तिगतरुपमा आलोचना पनि गरेका छन् । कार्थकले लेखमार्फत सांगीतिक क्षेत्रका केही प्रसिद्ध व्यक्तिहरू व्यक्तिगत आचरणका कारण पछि परेका टिप्पणी समेत गरेका छन् ।

पढ्दै जाँदा आधुनिक नेपाली संगीतमार्फत काठमाडौं र दार्जिलिङको सम्बन्ध कसरी बिकसित भयो भन्ने मिहिन जानकारी पाउन सकिन्छ । त्यसबेलाको सांगीतिक माहोल, सांगीतिक समाज, संगीतकारप्रतिको दृष्टिकोण र त्यसबेलाको राजनीतिक अवस्थाका बारेमा पनि बुझ्न पुस्तक सहयोगी देखिन्छ ।

पुस्तकले त्यसबेलाको शासन व्यवस्थाबारे बुझ्न सघाउँछ । तारादेवीलाई रेडियो नेपालबाट बेईजतीपूर्वक निष्कासित गरिँदा जीवनका अन्तिम दिनहरूमा उनले भोग्नुपरेको कठिन परिस्थिति, अम्बर गुरुङलाई दार्जिलिङमा बस्ने वातावरण नहुँदा नेपाल आएर बस्न बाध्य हुनुपर्दाको प्रसंग पनि किताबमा उठान गरिएको छ ।

संस्मरणात्मक शैलीमा लेखिएका २७ वटा सामग्री पुस्तकमा समेटिएका छन् । पुस्तकले आधुनिक संगीतबारे आजको युवालाई धेरै जानकारी दिनेछ भन्ने विश्वास गर्न सकिन्छ । आधुनिक संगीतलाई उचाइमा पुर्‍याउनका लागि योगदान दिएका स्रष्टाहरूको नीजि जीवनबारे पनि धेरथोर जानकारी पुस्तकले राखेको देखिन्छ ।

कार्थक सन् १९६६ देखि ०७६ सम्म १० वर्ष रेडियो नेपालमा वाद्यवादकको रूपमा कार्यरत रहे । त्यसबेला सयौं गीतमा वाद्यवादन गरेपनि गायक तथा गायीकाहरूसँग उनको बोलचाल नभएको प्रसंग पनि पुस्तकमा उल्लेख छ । वाद्यवादकलाई गरिने विभेदका कारण गायन क्षेत्रका कलाकार उनीहरूसँग बोल्न चाहँदैन थिए ।

उनले यो पुस्तकमा गायक, गायिका र संगीतकारको बारेमा मात्रै लेखेका छन् । अगमसिं गिरीको बारेमा लेखेका छन् । अन्य गीतकारको बारेमा समेट्न नसक्नु किताबको कमजोरी भएको उनी स्वीकार्छन् ।

लेखक स्वयं वहुप्रतिभाशाली व्यक्तिका रूपमा चिनिन्छन् । उनले कलाकार, शिक्षक, लेखक, तथा पत्रकार भएर काम गरिसकेका छन् । ‘प्रत्येक ठाउँ, प्रत्येक मान्छे’ जस्ता चर्चित उपन्यासका लेखक कार्थकले नेपाली पत्रकारितामा लामो समय कपि एडिटरको भूमिका निभाइसकेका छन् ।

नेपाली आधुनिक गीत संगीतमा उनको स्मरणीय योगदान छ । स्वेच्छाले नै संगीत छोडेको बताउने कार्थकलाई नेपाली संगीत जगतले बिस्तारै बिर्संदै गएको उनको अनुभूति छ । नेपाली संगीत क्षेत्रले बिर्से पनि अम्बर गुरुङले नबिर्सेको उल्लेख उनले गरेका छन् ।

किताबमा नेपाली संगीत स्रष्टाहरूको बारेमा लेखिएको भए पनि यसले नेपाली आधुनिक संगीतको सुरुआत, मध्यकाल र त्यसको आयामिक मोडका बारेमा अझ धेरै जानकारी दिएको छ ।

किताबमा उनले ‘दार्जिलिङ र काठमाडौंका कवि र गीतकारले दक्षिण एसिया र अरु ठाउँका गीतलाई फिक्का बनाएका छन् । यसको एउटा मुख्य कारण नेपाली गीतको साहित्यिक बजन हो’ भन्ने दाबी नै गरेका छन् । यो कति सत्य हो भन्ने विषयको गहन अनुसन्धान गर्ने जिम्मा भने लेखकले पाठक र अन्वेषककै जिम्मा छाडेका हुन कि भन्न सकिन्छ ।

पुस्तक हिमाल पुस्तकले बजारमा ल्याएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment