+
+
Shares

महिलालाई रङ दल्न खोजेपछि दर्लिङमा गयो दुईजनाको ज्यान

प्रहरी भन्छ – शंकास्पदहरु निगरानीमा छन्, समातिन्छन्

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत १६ गते १४:१२

१६ चैत, काठमाडौं । प्युठान, गुल्मी र बाग्लुङको संगमस्थलमा पर्ने दर्लिङमा हरेक वर्ष होलीको समयमा युवाहरुको जमघट हुन्छ । बडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाका अनुसार कसैले औपचारिक कार्यक्रम नराखे पनि वर्षेनि युवाहरु वनभोज खाँदै रमाइलो गर्न त्यहाँ पुग्छन् ।

आइतबार पनि बडिगार्ड गाउँपालिका–१०, दर्लिङमा तीनै वटा जिल्लाका युवाको बाक्लो उपस्थिति थियो । अपरान्ह ३ बजेपछि त्यहाँ एकाएक अशान्ति मच्चियो । निसी खोलाबाट आएका युवा र दर्लिङका युवा खुकुरी बोकेर कुटाकुटमा उत्रिए ।

जिल्ला प्रहरी कार्यालय, बाग्लुङले गरेको प्रारम्भिक अनुसन्धान अनुसार लिसी खोलाका युवाले दर्लिङका युवतीलाई रङ लगाइदिएपछि विवाद सुरु भएको थियो । मादक पदार्थ सेवन गरेका उनीहरुबीच झगडा भयो ।

त्यसक्रममा लिसी खोलाका ३६ वर्षीय प्रकाश कुँवर र ३४ वर्षीय दीपक दमाई सख्त घाइते भए । धलेकाधलेक गर्दै गर्दा दुवै जना भिरबाट चार सय मिटर तल खसेको पाइएको जिल्ला प्रहरी कार्यालय, बाग्लुङका डीएसपी एकवल हवारीले अनलाइनखबरलाई बताए ।

उनका अनुसार प्रहरीले आइतबार साँझै दुवै जनालाई उद्दार गरेर अस्पताल लैजाने प्रयास गरेको थियो । तर, बाटोमै दुवैको मृत्यु भएको उनले बताए ।

लिसी गाउँपालिकाका अनुसार ज्यान गुमाउने प्रकाश नेपाली कांग्रेसका जिल्ला सदस्य हुन् भने दीपक वैदेशिक रोजगारीका लागि मलेसिया गएर फर्किएका युवा हुन् ।

नेपाली कांग्रेसले यो घटना योजनाबद्ध भएको भन्दै दोषीलाई अविलम्ब पक्राउ गरेर छानविन अघि बढाउन भनेको छ । कांग्रेस नेताहरुले कुटपिटमा संलग्न पक्ष माओवादी कार्यकर्ता भएको दाबी गरेका छन् । तर, प्रहरीले भने यो घटनामा राजनीतिक नजोडिदिन भनेको छ ।

गण्डकी प्रदेश प्रहरी कार्यालयका डीएसपी ख्याम अर्याल भन्छन्, ‘यसलाई राजनीतिकरुपमा प्रहरीले हेरेको छैन, अपराधको निष्पक्ष अनुसन्धान गरिरहेका छौं ।’ बाग्लुङका डीएसपी हवारीले पनि घटनामा संलग्नहरुको पहिचान भइरहेको बताउँदै निगरानी थालिएको बताए ।

प्रहरीका अनुसार घटनामा संलग्नहरु चाँडै पक्राउ पर्नेछन् र थप अनुसन्धान सुरु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?