Comments Add Comment

हेलिकप्टरलाई वायु प्रदूषणको असर, चार दिनदेखि उडान ठप्प

फाइल तस्वीर

१६ चैत, काठमाडौं । हेलिकप्टर व्यवसायीलाई कोरोना भाइरसको संकटमाथि तुवाँलो संकट थपिएको छ । काठमाडौंको आकाशको भिजिविलिटी (हावाको पारदर्शीपन) कमजोर बनेसँगै सबै हेलिकप्टर ग्राउण्डेड बनेका छन् ।

मनाङ एयरका प्रवन्धक राजु न्यौपानेका अनुसार हेलिकप्टर पाइलटको नांगो आँखाले देखेको भरमा उडाउनु पर्ने एयरक्राफ्ट हो । सोही कारण उपकरणका माध्यमबाट उडान–अवतरण गर्न सक्ने जहाजले मात्र कम भिजिविलिटीमा पनि उडान गर्न सकेका छन् ।

हेलिकप्टरको उडान–अवतरण भने पूर्ण रुपमा प्रभावित बनेको छ । ‘कोरोनाले यसै थलिएका कम्पनी चार दिनदेखि ठप्प छन्,’ उनले भने, ‘प्रकृति र मौसमको बाटो हेर्दै बसेका छौं ।’

अहिले आकस्मिक अवस्थामा पनि काठमाडौंस्थित त्रिभुवन विमानस्थलबाट हेलिकप्टर उड्न सक्दैनन् । यस्तो अवस्थामा नेपाली सेनाको हेलिकप्टर उडाउने गरिन्छ । हेलिकप्टरका लागि भने नागरिक उड्डयनसम्बन्धी नियम लाग्दैन । सोहीकारण आपतकालीन अवस्थामा भने सेनाले कम भिजिविलिटीमा समेत हेलिकप्टर उडाउने गर्छ ।

आरोहण सिजनमा आशा

हेलिकप्टरका लागि मुख्य विजनेस दिने वर्ग विदेशी पर्यटक हुन् । पदयात्रा र पर्वतारोहणमा जाने पर्यटकको संख्या जति बढी भयो, हेलिकप्टरको व्यापार पनि उत्तिकै हुने गर्छ । तर, पर्यटक नआएपछि सन् २०२० को वसन्त ऋतुयता नै हेलिकप्टरले विजनेस पाएका छैनन् ।

यसरी विजनेस गुमाएको ठ्याक्कै एक वर्ष पुगेको छ । जारी आरोहण सिजनमा पर्यटक आउने र केही मात्रामा भएपनि विजनेस पाउने आशामा व्यवसायी छन् । अहिले वायुसेवा सञ्चालक संघले हवाइ व्यवसायमा एक वर्षको अवधिमा भएको क्षतिको विवरण संकलन गरिरहेको छ ।

कम्पनीहरुको आर्थिक अवस्था विश्लेषण गर्दै प्राधिकरण

नेपाल नागरिक उड्डयन प्राधिकरणले वायुसेवा कम्पनीहरुको आर्थिक अवस्था विश्लेषण गर्ने भएको छ । सो प्रयोजनका लागि प्राधिकरणले हेलिकप्टर कम्पनीहरुबाट उनीहरुको अहिलेको अवस्था के छ भन्ने सम्बन्धी विवरण माग गरिएको प्राधिकरणका महानिर्देशक राजन पोखरेलले जानकारी दिए ।

‘हामी आगामी बजेट, नीति तथा कार्यक्रमको तयारीमा छौं,’ उनले भने, ‘सोही प्रयोजनका लागि सबै कम्पनीहरुबाट उनीहरुको आर्थिक अवस्था के छ भन्नेबारे विवरण माग गरेका छौं ।’ यसले आगामी बजेटमा एयरलाइन्स क्षेत्रलाई कसरी सम्बन्धी गर्ने भन्नेबारे धारणा बनाउन सहज हुने प्राधिकरणको भनाइ छ ।

हेलिकप्टर सोसाइटी अफ नेपालका अनुसार लकडाउन खुलेर परिस्थिति सामान्य भएको अवस्थामा पनि कतिपय हेलिकप्टर कम्पनीले सेवा नै शुरु गर्न सकेका छैनन् । सेवा शुरु गरेका हेलिकप्टर कम्पनीले समेत एक/एक वटा मात्र हेलिकप्टरबाट सेवा थालेका छन् । तुवाँलो भन्दा अगाडि समेत दुई दर्जन हेलिकप्टर विमानस्थलमा थन्किएर बसेका थिए ।

मासिक करोडौं घाटा

सोसाइटीको तथ्यांक अनुसार नेपालमा व्यस्त मौसममा एउटा हेलिकप्टरले औसतः मासिक १ सय घण्टासम्म उडान गर्ने गरेको थियो । हेलिकप्टरले प्रतिघण्टा औसतः १७ सय डलरमा उडान गरिरहेका थिए । अहिले उडिरहेका हेलिकप्टरको मासिक उडान समय साविकको तुलनामा आधा समेत पुग्दैन । यता, भाडा औसतः ९ सय देखि १ हजार डलर प्रतिघण्टामा झरेको छ ।

अर्थातः हरेक उडानमा औसतः ७ सय डलरसम्म घाटा बेहोर्नु परेको व्यवसायीहरुको भनाइ छ । यसमा थन्किएर बसेका हेलिकप्टरको कमाई जोडिएको छैन । यसबाट मासिक करोडौं रुपैयाँ घाटा भइरहेको छ । एउटा मात्र हेलिकप्टर हुने कम्पनीले आफ्नो संचालन खर्च धान्न मासिक औसतः ५० घण्टासम्म उड्नुपर्ने सोसाइटीको अनुमान छ । त्यसभन्दा माथि उडान भएमा मात्र त्यो कम्पनीको नाफा हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment