+

प्रदूषणले विस्तारै-विस्तारै मारिरहेको छ

प्रदूषणले विस्तारै-विस्तारै मारिरहेको छ

केही दिनयता हामीकहाँ आँखाले प्रष्टै देख्ने र शरीरले तत्कालै महसूस गर्ने गरी प्रदूषण फैलिएको छ । हाम्रो शहर पहिल्यैदेखि धेरै प्रदूषित थियो, अहिले प्रष्ट महसूस भएको छ । यो विषयले महत्व नपाएको मात्र हो, हामीले आमाको पेटमा हुँदादेखि नै दूषित हावा लिइरहेका छौं ।

एक हप्तायता धेरै मानिसले आँखा पोल्ने, घाँटी खस्खसाउने, टाउको दुख्नेलगायत समस्या भोगिरहेका छन् । स्वस्थ मानिसलाई प्रदूषणले पारेको तत्कालीन असर हो, यो । दम रोगीहरूलाई त यसले सिकिस्तै पारेको छ । अस्पतालहरूमा यो प्रष्ट देखिएको छ । खोकी बढेर अस्पताल आएकामध्ये धेरैलाई प्रदूषणको कारणले यस्तो भएको भन्ने थाहा समेत छैन ।

गाह्रो भएर पनि विभिन्न कारणले अस्पताल आउन नसकेका बिरामीहरूलाई ‘इन्हेलर’ को मात्रा बढाउन, सकेसम्म घरबाहिर ननिस्कन सुझाव दिइरहेकी छु । प्रदूषणको कारण बिरामीहरूको स्वास्थ्य खराब हुँदै गएको, मानिसको आयु विस्तारै–विस्तारै घटाउँदै लगेको थाहा पाउँदा फोक्सो सम्बन्धी डाक्टर भएको नाताले मलाई निकै नमज्जा लागिरहेको छ ।

यो बेला अति आवश्यक काम नपरिकन घरबाहिर ननिस्कनु नै राम्रो हुन्छ । दीर्घरोगीहरूले औषधि टुटाउनुहुँदैन । मर्निङ वाक गर्नेहरूले घरभित्रै व्यायाम गर्नुपर्छ ।

हावामा फैलिएका धुलीकणमा सल्फर डाइअक्साइड, नाइट्रोजन डाइअक्साइड, ग्राउण्ड लेभल ओजनलगायत मानव स्वास्थ्यको लागि अत्यन्तै हानिकारक रासायनिक पदार्थहरू मिसिएको हुन्छ । हावाको धुलीकण अत्यन्तै सूक्ष्म भएकाले सीधै फोक्सो र रक्तनलीहरूमा प्रवेश गर्छ । त्यसले शरीरमा धेरै नकारात्मक असर पार्न थाल्छ । यसले हृदयघात, पक्षघात जस्ता असर देखाउँछ । क्यान्सर र डिमेन्सिया हुने सम्भावना बढ्छ ।

सन् २०१५ को एउटा रिपोर्टले शिशु मृत्युको प्रमुख कारण प्रदूषणलाई मानेको छ । गत वर्ष विश्वभर प्रदूषणको कारणले एकमहिना मुनिका पाँच लाख शिशु मरेको अर्को रिपोर्ट छ । प्रदूषणले दम रोगीहरूको मृत्यु हुने सम्भावना ४० प्रतिशत र मुटुरोगीको २० प्रतिशत बढाउँछ । प्रदूषणले क्यान्सरका बिरामीको मृत्यु हुने जोखिम १९ प्रतिशत बढाउँछ । त्यस्तै, ‘स्ट्रोक’ हुने जोखिम २० प्रतिशत बढाउँछ । हृदयघात, पक्षघात, क्यान्सर र डिमेन्सिया हुने सम्भावना २० प्रतिशत भन्दा बढी देखाउँछ ।

सवारी साधनहरूले सल्फर डाइअक्साइड, नाइट्रोजन डाइअक्साइड जस्ता घातक रसायन हावामा मिसाउँछन् । सवारी साधनले निकाल्ने धुवाँले ग्राउण्ड लेभल ओजन बढाउँछ । थोत्रा सवारी साधन र कमसल पेट्रोलियम पदार्थका कारण हाम्रो जस्तो गरिब देशहरूमा बढी प्रदूषण हुन्छ । ‘आमाकै पेटमा हुँदा प्रदूषित हावा खाएको’ यसै भनिएको होइन ।

घरभित्रकै हावाले पनि मानिसलाई असर गरिरहेको हुन्छ । आधाभन्दा बढी नेपाली अहिले पनि खाना पकाउन दाउरा र गुइँठा प्रयोग गरिरहेका हुन्छन् । हाम्रो देशमा खाना पकाउने महिला नै हुन्छन्, जसको कारण गर्भवतीहरूले आफ्नो गर्भमा रहेका सन्तानलाई समेत प्रदूषित हावा खुवाइरहेका हुन्छन् ।


प्रदूषणले हरेक दिन देखिने र दुख्ने गरी असर गरिरहेको हुँदैन । विस्तारै घातक असर गर्दै लैजाने भएकाले प्रदूषणलाई ‘साइलेन्ट किलर’ भनिन्छ । प्रदूषणले हामीलाई विस्तारै–विस्तारै मारिरहेको छ ।

प्रदूषणको असरबारे बुझ्ने, बुझाउने काममा सरकार र नागरिक दुवैको उत्तिकै भूमिका र उत्तरदायित्व हुनुपर्छ । यो बेला पनि टोलटोलमा फोहोर जलाइरहेको देखिन्छ । यो भनेको हामी नागरिकहरूले नै प्रदूषण बढाउन योगदान गरिरहेका छौं । यातायातका साधन प्रयोगकर्ताहरूले नियमित सर्भिसिङ गरे धेरै हदसम्म प्रदूषण कम हुन्छ । सरकारले विद्युतीय गाडीलाई प्रोत्साहित गर्ने नीति लागू गर्दा पनि प्रदूषण नियन्त्रण हुन्छ ।

सरकारले लिने नीति कडा र कार्यान्वयन प्रभावकारी हुनुपर्छ । हाम्रोमा प्रदूषणको मात्रा तोकिएको भन्दा सधैं बढी किन हुन्छ ? नीतिनिर्माण तथा कार्यान्वयन गर्नेहरू उत्तरदायी हुनुपर्छ कि पर्दैन ? हामीमध्ये धेरैमा उत्तरदायी हुनुपर्छ भन्ने भावना नै छैन ।

वयस्क र स्वस्थ मानिसमा अहिले देखिएको प्रदूषणको असर बढ्दै जाँदा निमोनियाको खतरा बढ्छ । दीर्घ रोगीहरूको फोक्सो त्यसै पनि नाजुक हुन्छ । यो प्रदूषणले उनीहरू अस्पताल भर्ना हुनुपर्ने, मृत्यु हुने जोखिम दोब्बर बनाइसकेको छ । दमका रोगीलाई अक्सिजन नै चाहिने अवस्था आइसक्यो । बालबच्चाको समग्र ‘ग्रोथ’ मा दीर्घकालीन असर पार्ने अवस्था छ ।

यो बेला अति आवश्यक काम नपरिकन घरबाहिर ननिस्कनु नै राम्रो हुन्छ । दीर्घरोगीहरूले औषधि टुटाउनुहुँदैन । मर्निङ वाक गर्नेहरूले घरभित्रै व्यायाम गर्नुपर्छ । अहिलेको लागि हरेक व्यक्तिले गर्ने प्रयास भनेको यिनै हुन् ।

(रेस्पिरेटरी एण्ड क्रिटिकल केयर विज्ञ पाण्डेसँग अनलाइनखबरकर्मी सागर बुढाथोकीले गरेको कुराकानीमा आधारित)

डा. रक्षा पाण्डे प्रदूषण वायु प्रदूषण
डा. रक्षा पाण्डे
लेखक
डा. रक्षा पाण्डे
फोक्सोरोग तथा क्रिटिकल केयर विशेषज्ञ

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : ३९३२ अध्ययन : एमबीबीएस, एमआरसीपी (बेलायत), एफएएमएस (फेलो अफ एकेडेमी अफ मेडिसिन सिंगापुर), पल्मोनरी र क्रिटिकल केयर पल्मोनरी र क्रिटिकल केयर मेडिसिन हाल काठमाडौंको धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

गर्भावस्थाको पहिलो महिना के कस्तो स्वास्थ्य जाँच गर्ने ?

गर्भावस्थाको पहिलो महिना के कस्तो स्वास्थ्य जाँच गर्ने ?

बच्चालाई निमोनियाबाट कसरी जोगाउने ?

बच्चालाई निमोनियाबाट कसरी जोगाउने ?

आँखामा देखिने ‘जान्थेलाज्मा’ कति खतरनाक ?

आँखामा देखिने ‘जान्थेलाज्मा’ कति खतरनाक ?

यसकारण हुन्छ गर्भावस्थामा बान्ता

यसकारण हुन्छ गर्भावस्थामा बान्ता

डर दिमागबाट हुने भए पनि छाती र मुटुमा किन महसुस हुन्छ ?

डर दिमागबाट हुने भए पनि छाती र मुटुमा किन महसुस हुन्छ ?

स्वास्थ्य बीमा बोर्ड र अस्पतालको लापरबाहीले मिर्गौला रोगीलाई सास्ती

स्वास्थ्य बीमा बोर्ड र अस्पतालको लापरबाहीले मिर्गौला रोगीलाई सास्ती