Comments Add Comment
मेलम्चीको पानी वितरण शुभारम्भ :

चार दिनमै ठड्याइयो भृकुटीमण्डपमा धारा

२० चैत, काठमाडौं । शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले भृकुटीमण्डप, काठमाडौंमा धारा खोलेर मेलम्ची खानेपानी आयोजनाको पानी वितरण औपचारिक रुपमा शुभारम्भ गरिन् ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले १५ चैतमै महाकाल चौरमा कार्यक्रम गरेर पानी वितरणको सुरुवात गरेको थियो । त्यसको ५ दिनपछि शुक्रबार भव्य कार्यक्रम गरी राष्ट्रपतिले पुनः पानी वितरणको शुभारम्भ गरिन् ।

यो कार्यक्रम जति हतारमा भएको छ, भृकटीमण्डपमा धारा निर्माण पनि त्योभन्दा कम हतारमा भएको थिएन । किनकी सोमबार अर्थात पाँच दिनसअघिम्म त्यहाँ धारा हुनु त परेको कुरा, धारा बनाउने योजना पनि थिएन ।

खोनपानी मन्त्रालयका अधिकारीहरुका अनुसार मेलम्चीको पानी वितरण हुने भएपछि चैत २३ गते उद्घाटन कार्यक्रम गर्ने योजना बन्यो ।

तर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले कार्यक्रमलाई २० गते सार्न निर्देशन दियो । ‘राजनीतिक परिस्थिति फेरिनसक्ने भन्दै कार्यक्रम सार्न निर्देशन आएपछि हतारमा तयारी गर्नुपर्‍यो,’ मन्त्रालयका एक अधिकारी भन्छन् ।

पानी वितरणको शुभारम्भ कहाँ गर्ने ? खानेपानीमन्त्री मणि थापा र सचिव माधव बेल्बासे, मेलम्ची खानेपानी आयोजनाका प्रमुख तिरेश खत्री, आयोजना कार्यान्वयन निर्देशनालयका प्रमुख कमलकुमार श्रेष्ठ लगायतको टोलीले सम्भावित ठाउँका रुपमा पानीपोखरीको खानेपानी विभाग परिसर, खुमलटारको पानी ट्यांकी परिसर, टुँडिखेल, खुलामञ्च र भृकुटीमण्डपको अवलोकन गर्‍यो ।

राष्ट्रपतिको उपस्थितिमा औपचारिक कार्यक्रम गर्न फराकिलो ठाउँ चाहने भएपछि भृकुटीमण्डपमा धारा बनाउने निर्णय भयो । भृकटीमण्डपको जग्गाको स्वामित्व समाजकल्याण परिषदसँग छ, त्यसैले परिषदसँग परामर्श गरेर पार्कको एक भाग छनोट भयो । तर त्यहाँ कसरी पानीको प्रवन्ध गर्ने भन्ने अन्यौल थियो ।

खानेपानी मन्त्रालयका अधिकारीहरुले उद्घाटनका लागि ट्यांकी राखेर पानीको व्यवस्था गर्ने योजना ल्याएका थिए । तर आयोजना कार्यान्वयन निर्देशनालय (पीआईडी)ले असहमति जनाएको थियो । राष्ट्रपतिबाट उद्घाटन हुने धाराबाट २४ घण्टा पानी आउनु पर्ने अडान लिएपछि योजना बदलिएको थियो । त्यसअनुसार पीआईडी प्रमुख श्रेष्ठले नै धाराको डिजाइन गर्ने जिम्मा लिए ।

उनले तीन वटा ढुंगेधारा रहने डिजाइन गरे, जसमध्ये दुईटा साना धारा प्रधानमन्त्री र खानेपानीमन्त्रीले र मूल धारा राष्ट्रपतिले खोलेर उद्घाटन गर्ने योजना थियो । धारा बनाउने जिम्मा केयूकेएल, पीआईडी र रमण कन्स्ट्रक्सनले लियो । रत्नपार्क क्षेत्रमा वितरण लाइन बिछ्याउने जिम्मा पाएको रमण कन्स्ट्रक्सनलाई प्राविधिक खोज्न लगाएर १६ गतेदेखि धारा बनाउन सुरु भयो ।

केयूकेएलका ओम ढकाल, पीआईडीका ध्रुव खड्का, खानेपानी मन्त्रालयका दिपक केसी पनि खटिए । निर्माण स्थलमा खटिएका एक कामदारका अनुसार चार दिनमै प्रयोग गर्न मिल्ने मात्र होइन, शिलालेख पनि राख्नुपर्ने गरी निर्माण गरिसक्नुपर्ने थियो । त्यसैले सिमेन्ट सुकाउन हेयर ड्रायर मेसिन समेत प्रयोग गरेको उनले सुनाए ।

पीआईडीका प्रमुख श्रेष्ठले पनि तीन दिन रातको सिफ्टमा पनि काम गरेको बताए । ‘यो धारा बनाउँदा हामीले एम ३५ कंक्रिटको प्रयोग गरेका छौं, सामान्य रुपमा हामीले घर बनाउँदा एम २० कंक्रिटको प्रयोग गर्छौं,’ उनले भने ।

चार दिनमा धारा तयार भयो, रंगरोगन भयो । रत्नपार्कबाट आउने नयाँ वितरणलाइनको पानी जडान भयो र शुक्रबार दिउँसो राष्ट्रपतिले उद्घाटन गरेकी छन् । प्रधानमन्त्री कार्यालयले राष्ट्रपतिबाट मात्रै उद्घाटन गर्ने भनेपछि अरु धारा खोल्न कार्यक्रम रोकिएको खानेपानी मन्त्रालयका पीआईडीका निर्देशक श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment