२२ चैत, काठमाडौं । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) कभर्ड हलमा टिपटप हेल्प नेपाल स्पोर्टस् क्लब र बुलबुले रारा क्लबबीच पाँचौ आरबीबी एनभीए राष्ट्रिय महिला र पुरुष क्लब भलिबल च्याम्पियनसिपमा भिड्दा फरक दृश्य देखियो ।
खेल नेपालका दुई क्लबबीच थियो । तर दुवै टिममा विदेशी खेलाडी थिए । आयोजक नेपाल भलिबल संघ एनभीएले च्याम्पियनसिपमा ३ जना विदेशी खेलाडी राख्न पाउने प्रावधान राखेपछि हेल्प नेपाल र बुलबुले रारा दुवैले ३-३ जना विदेशी खेलाडी क्लबमा राखेका थिए ।
हेल्प नेपालले १३औं साग खेलेका विनित कुमारसहित तीन भारतीय खेलाडी टिममा राखेको छ । यस्तै बुलबुले रारा क्लबले पाकिस्तान राष्ट्रिय टिमका ३ खेलाडी राखेको छ ।
यी दुई टिम आइतबार कभर्ड हलमा भिड्दा भारत भर्सेस पाकिस्तान जस्तै देखियो । दर्शक नेपाली थिए । करिब २ हजार दर्शकको अगाडि भारत र पाकिस्तानका खेलाडी एकअर्का विरुद्ध भिडे ।
पहिलो सेट बुलबुले राराले जितेपनि त्यसपछिका तीन सेट लगातार आफ्नो पक्षमा पार्दै हेल्प नेपालले ३-१ को सेटमा खेल जित्यो ।
हेल्प नेपालको जितमा भारतीय खेलाडी विनित कुमार, रोहित र विकासको प्रभाव प्रष्ट देखियो । बुलबुलेका लागि पाकिस्तानी खेलाडीले उत्कृष्ट प्रदर्शन गर्नुका बाबजुद हार बेहोर्न बाध्य हुनुपर्यो ।
पहिलो सेटमा ४-० को अग्रता लिँदै शुरु गरेको बुलबुले राराले अग्रता कायम राख्दै २५-२१ ले आफ्नो पक्षमा पार्यो । तर दोस्रो सेट हेल्प नेपालले पुनरागमन गर्दै २५-१८ ले सहजै जित्दै १-१ को बराबरी अवस्थामा पुर्यायो ।
प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको तेस्रो सेट हेल्प नेपालले टाई ब्रेकमा २६-२४ ले जित्दै खेलमा अग्रता बनायो । २२-२४ ले पछि परेको बेला बुलबुले राराले लगातार दुई अंक ल्याउँदै २४-२४ को बराबरी गरेको थियो । तर टाई ब्रेकमा लगातार दुई अंक ल्याउँदै हेल्प नेपालले सेट जित्यो ।
चौथो सेटमा शुरुवातदेखि नै अग्रता बनाएको हेल्प नेपालले बुलबुले रारालाई दबाबमा राख्दै २५-२१ ले खेल जित्यो ।
लगातार तेस्रो जितपछि हेल्प नेपालले ९ अंक जोडेको छ र एपीएफसँग अंक बराबरी गरेको छ । हेल्प नेपालले अब तीन विभागीय टिमसँग खेल्न बाँकी छ ।
पहिलो सेटमा रिभिस र डिफेन्समा कमजोरी भएकोले पराजित भएपनि त्यसपछि खेलाडीले सुधार गर्दै जित सम्भव भएको हेल्प नेपालका प्रशिक्षक रमेश केसीले बताए । ‘पहिलो सेटमा रिसिभ र डिफेन्स बीच तालमेल हुने सकेन । त्यसमा हामीले सुधार गर्दै लगातार तीन सेट जित्न सफल भयौं,’ केसीले भने ।
पहिलो सेटमा भारतीय खेलाडी वितिनले जोडेकोभन्दा बढी नेगेटिभ अंक दिएका थिए । केसीले भारत र यहाँ खेल्दा बलको डिजाइनमा फरक परेकोले उनलाई खेल्न केही गाह्रो भएको बताए । तर त्यसपछिका तीन सेटमा उनले उत्कृष्ट प्रदर्शन गरे । उनले चार सेटमा कुल २५ अंक जोडे ।
माघमा भएको एनभीए क्लब च्याम्पियनसिपको उपाधि हेल्प नेपालले नै जितेको थियो । त्यतिबेला पनि हेल्प नेपालले तीन विदेशी खेलाडी ल्याएको थियो । अहिले उनीहरु व्यस्त रहेकोले अरु तीन जना ल्याएको हेल्प नेपाल स्पोर्टस् क्लबका महासचिव अरुण श्रेष्ठले बताए ।
उता बुलबुले राराको यो दोस्रो जित हो । पहिलो खेलमा एपीएफसँग पराजित भएको बुलबुले राराले त्यसपछि लगातार त्रिभुवन आर्मी र नेपाल पुलिसलाई पराजित गरेको थियो । चार खेलबाट बुलबुले राराको ६ अंक छ । बुलबुले राराले अब नयाँबजार सामाजिक युवा क्लब र मणिमुकुन्द क्लबसँग खेल्न बाँकी छ ।
बुलबुले राराका अध्यक्षसमेत रहेका प्रशिक्षक निरमबहादुर शाहीले अबको दुई खेल जित्ने निश्चित भएको र फाइनल पुग्न अन्य टिमको खेलको नतिजामा समेत निर्भर पर्नुपर्ने बताए ।
‘अब हेल्प नेपालले आर्मी र एपीएफलाई हराएमा हाम्रो फाइनल पुग्ने अवसर छ,’ शाहीले भने ।
यस्तै आइतबारै भएको पुरुषतर्फको अर्को खेलमा नेपाल पुलिस क्लबले मणिमुकुन्द भलिबल क्लबलाई २५-१८, २५-१९, २५-११ ले पराजित गरेको छ । पुलिसको यो दोस्रो जित हो ।
तस्वीर : विकास श्रेष्ठ/अनलाइनखबर
प्रतिक्रिया 4