Comments Add Comment

कोभिड-१९सँग जुध्न साढे ६० अर्ब वैदेशिक सहायता

२६ चैत, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९)को महामारीसँग जुध्न नेपालले ६० अर्ब ५३ करोड रुपैयाँ भन्दा बढी (५१ करोड ३० लाख अमेरिकी डलर) सहायता प्राप्त गरेको छ । आर्थिक वर्ष २०७६/७७ मा नेपालले कुल २ अर्ब २८ लाख अमेरिकी डलर -२ खर्ब ३६ अर्ब २३ करोड रुपैयाँ) वैदेशिक सहायता प्राप्त गरेको छ ।

त्यसको २५.५ प्रतिशत सहायता कोभिडको महामारीविरुद्ध लड्न तथा त्यसले अर्थतन्त्रमा पारेको प्रभाव न्यूनिकरणमा खर्च भएको अर्थ मन्त्रालयद्धारा सार्वजनिक गरेको आर्थिक सहायता सम्बन्धी प्रतिवेदनमा उल्लेख छ ।

मन्त्रालयका अनुसार कोभिड-१९ को महामारीबाट जुध्न धेरैजसो सहायता आकस्मिक रुपमा परियोजना तयार भई वितरण गर्नु परेको थियो । यसमध्ये विगतदेखि नै सञ्चालनमा रहेका परियोजनाबाट ४ करोड ८६ लाख अमेरिकी डलर तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुबाट भने ५५ लाख अमेरिकी डलर बराबरको सहायता कोभिड-१९ विरुद्धको लडाइँमा खर्च भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

  •  कुल सहायता प्राप्ति : २ अर्ब ३ करोड अमेरिकी डलर
  •  कोरोना महामारीविरुद्ध लड्न भएको खर्च : ५१ करोड ३० लाख अमेरिकी डलर

अर्थ मन्त्रालयका अनुसार यसरी आएको रकममध्ये बहुपक्षीय निकायबाट सबैभन्दा बढी रकम सहायता नेपाल आएको छ । कोभिड-१९ सहायतामा आएको रकममध्ये एसियाली विकास बैंक, अन्तर्राष्ट्रिय वित्त कोष, अमेरिका, यूरोपेली यूनियन र विश्व बैंकबाट मात्र कुल ९४.४ प्रतिशत देखिएको छ ।

कुन निकायबाट कति रकम आयो ?

  • एसियाली विकास बैंक : २५ करोड डलर
  • यूरोपेली यूनियन : १ करोड डलर
  • अन्तर्राष्ट्रिय मुद्रा कोष : २१ करोड डलर
  • अमेरिका : २ करोड ६० लाख
  • विश्व बैंक : ६० लाख

९१ प्रतिशत ऋण
कोभिड १९विरुद्ध खर्च गर्न आएको कुल रकममध्ये ९१ प्रतिशत रकम ऋणका रुपमा आएको हो । प्राविधिक सहायताका रुपमा ६ प्रतिशत बजेट प्राप्त भएको छ । अनुदानका रुपमा २ प्रतिशत र सिधै भुक्तानीका रुपमा एक प्रतिशत रकम प्राप्त भएको अर्थ मन्त्रालयको तथ्यांकमा उल्लेख छ । यो सहायता आर्थिक वर्ष २०७६/७७ को अन्तिम (असार मसान्त २०७७) सम्म आएको रकम हो ।

मन्त्रालयका अनुसार यो आर्थिक वर्षमा कुल वैदेशिक सहायता प्राप्तिमा समेत गत वर्षको तुलनामा २१.२ प्रतिशतको वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षमा १ अर्ब ५७ करोड ८५ लाख डलर सहायता प्राप्त भएको थियो ।

अघिल्लो आर्थिक वर्षमा सरकारले प्राप्त गरेको कुल वैदेशिक सहायता नेपालको कुल बजेटको २३.३ प्रतिशत हिस्सा हो । यस वर्ष नेपालमा गैरसरकारी संस्थाको तर्फबाट भने १३ करोड १८ लाख डलर रकम खर्च भएको छ । यो वर्ष गैरसरकारी संस्थाले गरेको खर्च गत आवको तुलनामा भने कम भएको छ ।

नेपालले एक वर्षमा लिएको कुल वैदेशिक सहायतामध्ये ६९.९ प्रतिशत ऋणका रुपमा रहेको छ । १८.७ प्रतिशत अनुदान र बाँकी प्राविधिक सहायताका रुपमा प्राप्त भएको हो । प्राप्ती भएको वैदेशिक सहायता भित्र बजेटमा समावेश परियोजनाका लागि ८३.५ प्रतिशत प्राप्ति भएको पाइएको छ । ‘अफबजेट’ प्राप्ति भने १६.५ प्रतिशत रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment