२९ चैत, काठमाडौं । क्रिस्टल प्यालेसलाई ४-१ ले पराजित गर्दै चेल्सी प्रिमियर लिगको चौथो स्थानमा उक्लेको छ । क्रिस्टियन पुलिसिकले दुई गोल गरेपछि चेल्सीले सहज जित हात पारेको हो । काइ हाभार्ट र कुर्ट जुमाले चेल्सीका लागि एक एक गोल थपे ।
प्यालेजको मैदानमा भएको खेलको आठौं मिनेटमै काइ हाभार्टले गोल गर्दै लण्डन क्लब चेल्सीलाई अग्रता दिलाएका थिए । १०औं मिनेट पुलिसिकले अग्रता दोब्बर पारे ।
३०औं मिनेटमा कुर्ट जुमाले गोल गरेपछि पहिलो हाफमै चेल्सीले ३-० को अग्रता बनायो ।
६३औं मिनेटमा क्रिस्टल प्यालेसका क्रिस्टियन बेनटेकेले गोल गर्दै खेल ३-१ को अवस्थामा ल्याए । तर, ७८औं मिनेटमा पुलिसिकले व्यक्तिगत दोस्रो गोल गरेपछि चेल्सीले सहज जित हात पारेको हो ।
जितपछि ३१ खेलबाट ५४ अंक जोड्दै चेल्सी चौथो स्थानमा उक्लेको हो । क्रिस्टल प्यालेस ३१ खेलबाट ३८ अंकसहित १३औं स्थानमा छ ।
प्रतिक्रिया 4