Comments Add Comment

आयल निगमको अटोमेसन प्रणाली ईआरपी नमान्ने पेट्रोलियम बिक्रेताको घोषणा

३१ चैत, काठमाडौं । इन्धन चोरी र मिसावट कम गर्न नेपाल आयल निगमले वैशाख तीन गतेदेखि लागु गर्न लागेको इन्टरप्राइज रिसोर्स प्लानिङ (ईआरपी) प्रणाली पेट्रोलियम बिक्रेताले नमान्ने घोषणा गरेका छन् । देशभरका पेट्रोल पम्प सञ्चालकहरुको छाता संगठन नेपाल पेट्रोलियम डिलर्स एसोसिएसनले मंगलबार एक विज्ञप्ति जारी गर्दै तयारी र परामर्शविनै निगमले नयाँ प्रणाली ल्याएको भन्दै उक्त प्रणाली नमान्ने निर्णय गरेको जनाएको हो ।

निगमले नयाँ प्रणाली वैशाख तीन गतेबाट कार्यन्वयनमा ल्याउँदैछ । ईआरपी कार्यन्वयन गर्न निगमले बिक्रेता नियमावली संशोधन लगायतका समस्याहरु समाधान नगरेको, एसोसिएसनसँग यस अघि भएको समझदारी कार्यन्वनयन नगरेको र सरोकार पक्षलाई आर्थिक प्राविधिक जानकारी समेत नदिइएको आरोप लगाएको छ ।

‘राज्यभरका बिक्रेताले हाललाई पुरानै सफ्टवेयरबाट खरिद र रकम भुक्तानीको कारोबार गर्ने निर्णय गरेका छौं,’ माथि उल्लेखित समस्या समाधान गरेपछि मात्रै नयाँ प्रणाली प्रयोगमा ल्याउन सकिने जानकारी गराउन चाहन्छौं ।’ एसोसिएसनको निर्णयमा भनिएको छ ।

निगमले ल्याउन खोजेको ईआरपी प्रणालीमा राखिने तथ्यांक र पेट्रोलियम बिक्रेता विनियमावली २०७५ अनुससार त्रुटि हुने देखिए पछि केही समयकालागि रोक्न मात्रै आग्रह गरिएको एसोसिएसनका अध्यक्ष लिलेन्द्र प्रसाद प्रधानले बताए । ‘व्यवसायीहरुलाई प्रणालीबारे निगमले यथेष्ट सूचना र जानकारी दिएको छैन, हाम्रा बिक्रेतालाई जानकारी दिएर मात्रै कार्यान्वयनमा ल्याउ भनेको हो तर निगमले उद्घाटन गर्ने हतार गर्‍यो,’ अध्यक्ष प्रधानले भने । अटोमेसनमा जान व्यवसायी पनि आतुर रहेको भन्दै अध्यक्ष प्रधानले नयाँ प्रणालीको सुरक्षाबारे पनि गम्भीर प्रश्न उठेको बताए ।

निगमको पारदर्शीतालाई रोक्न खोजियो

नयाँ प्रणाली नमान्ने व्यवसायीको घोषणाबारे प्रतिक्रिया जनाउँदै नेपाल आयाल निगमले भने कार्यन्वयनको अन्तिम घडीमा आएर व्यवसायीले निगमलाई पारदर्शी रोक्न खोजेको बताएको छ ।

निगम अटोमेसन र लेखा प्रणाली पारदर्शी बनाउने कार्य कार्यान्वयन गर्नु र व्यवसायीको माग अलग विषय भएको निगमका कार्याकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले बताए । निगमको म्यानुअल प्रणालीलाई डिजिटाइज गर्छु भन्नु निगमको विषय भएको भन्दै उनले ईआरपीले निगम पारदर्शी भन्ने जिकिर गरे ।

व्यवसायीसँग प्रशस्त छलफल र सूचना दिएरै प्रणाली कार्यन्वयनमा ल्याउन लागिएको भन्दै उनले प्रणालीको गलत व्यख्या नगर्न र निगमलाई पारदर्शी नबन भन्न व्यवसायीले नहुने बताए ।

‘व्यवसायीका माग स्वभाविक छन् ईआरपी तयो भन्दा अलग कुरा हो । गलतत ढंगले प्रणालीलाई मागसँग जोडियो, निगमलाई पारदर्शी नबन भनियो,’ कार्यकारी निर्देशक पौडेलले भने । पुरानै सफ्टवेर नै चलाउ भनेर व्यवसायीले निगमलाई भन्न नमिल्ने उनको भनाइ छ । निगमको नयाँ प्रणाली कार्यनवयनको चरणमा रहँदा इन्धनको बिक्री वितरणमा कुनै समस्या नहुने पनि उनको दाबी छ ।

निगमका नायब कार्यकारी निर्देशक शुसिल भट्टराईकाअनुसार पहिलो चरणमा निगमले वैशाख तीन गतेदेखि ईआरपी लागु हुँदैछ । नयाँ प्रणाली जडान गर्न बुधबार र बिहीबार डिपोबाट पेट्रोलियम बिक्री रोकिएको शुक्रबारबाट नयाँ प्रणालीमार्फत तेल बिक्री र लेखा प्रणाली कार्यन्वयनमा आउने उनले बताए ।

के हो ईआरपी ?

आयल निगमले तेल खरिद गर्ने भारतीय आयल निगमदेखि निगमको तेल बिक्री गर्ने सबै पेट्रोल पम्पसमेत एउटै सूचना प्रविधिमा जोडिने प्रणाली इन्टरप्राइज रिसोर्स प्लानिङ (ईआरपी) हो । निगमका लेखा, प्रशासन, वितरण, इन्जिनियरिङ, सबै प्रदेशिक डिपो, शाखा कार्यालय, हवाई इन्धन डिपो तथा ट्यांकरलाई समेत यो प्रविधिसँग एकीकृत हुने निगमले जनाएको छ । निगमको सबै प्रणाली एकै क्लिकबाट अनुगमन, निरीक्षण र चुहावट पहिल्याउन पत्ता लाग्ने यो प्रणालीले निगमको अपारदर्शीता हट्ने दाबी निगमको छ । पेट्रोल पम्प, ग्यास बिक्रेताले घरबाटै तेलको अर्डर लिन र भुक्तानी प्रणालीबाटै गर्न सकिन्छ ।

जर्मन प्रविधिको एकीकृत व्यवस्थापन प्रणाली ईआरपी संसारभर प्रचलित र सुरक्षित रहेको सूचना प्रविधि विज्ञ मनोहर भट्टराई बताउँछन् । कुनै पनि कार्यालयले आफ्नो माताहतको सबै निकायको एकीकृत मनिटरिङ गर्न संसारभर यो प्रविधि सञ्चालनमा रहेको उनले बताए । ‘प्रणालीको ओरिजिन देखि डेस्टिनेसनसम्म हुने कार्यको चुहावट रोक्न यो प्रणाली एकदमै सुरक्षित छ, बदमासी रोक्न यो टुल्स संसारभर प्रयोगमा छ,’ भट्टराईले भने । नेपालमा पनि विदेशी नियोग लगायतमा यस्ता प्रविधि सञ्चालनमा रहेको र नेपाल आयल निगम, नेपाल एयरलाइनस जस्ता कार्यालयले यस अघि नै यस्तो प्रणाली कायन्वयनमा ल्याउनु पर्नेमा ढिलाइ गरेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment