Comments Add Comment

रुपन्देहीमा मोबाइल एप्सबाटै घर-घरमा सवारी सेवा

१ वैशाख, बुटवल । रुपन्देहीमा पहिलो पटक नागरिकलाई घर-घरबाटै यातायातको सेवा प्रदान गर्न थालिएको छ । गत वर्ष कोरोना महामारीका कारण यातायात सेवा ठप्प हुँदा नागरिकले पाएको दुःखलाई मध्यनजर गर्दै यो अवधारणा अगाडि बढेको र एप्लिकेशन तयार गरी सेवा शुरु गरिएको हो ।

सूचना प्रविधि विषयमा अध्ययन गरेका सातजना युवाहरु रोशन कार्की, विष्णु घिमिरे, नविन राना, हिमाल शर्मा, खिमा अधिकारी र सुदन पाण्डेले १५ लाख लगानीमा सवारी सेवा शुरु गरेका हुन् । उनीहरुले सफल सवारी सेवा प्रालि दर्ता गरी दुईवटा मोवाइल एप्लिकेशन लन्च गर्दै बुधबारदेखि घरघरबाटै यातायात सेवाको शुरुवात गरेका हुन् ।

काठमाडौंमा यो सेवा बिगतदेखि नै चलिरहेको भएपनि उपत्यका बाहिर भने रुपन्देहीमा पहिलो हो । सजिलो सवारी र सजिलो सवारी चालक गरी दुईवटा एप्स लन्च गरिएको छ । यी दुई मोवाइल एपमार्फत् यात्रा गर्न चाहने व्यक्ति कहाँ छन् र कहाँ जान चाहन्छन् ? सबै जानकारी दिन सकिन्छ । यो एपमार्फत् बोलाएको ठाउँमा केही समयमै सवारी लिन आइपुग्छ ।

अहिलेसम्म साढे दुई सय चालक सजिलो सवारी सेवामा दर्ता भइसकेको संस्थाका अध्यक्ष रेशम कार्कीले जानकारी दिए । सफलको सेवा शुल्क मोटरसाईकल तथा स्कुटरको हकमा ६ किलोमिटरका लागि ५० रुपियाँ र त्यसपछि हरेक एक किलोमिटरमा थप शुल्क बढ्दै जाने प्रबन्ध निर्देशक विष्णु घिमिरेले बताइन् ।

त्यस्तै ट्याक्सीको हकमा ५ किलोमिटरको ४०० रुपैयाँ र त्यसपछि हरेक किलोमिटरमा ४० रुपियाँ थपिंदै भाडा रकम लिइने प्रालिले जनाएको छ । त्यस्तै लक्जरी कारको ५ किलोमिटरको ८०० रुपैयाँ तोकिएको छ । यसबाट नयाँ रोजगारी समेत सिर्जना भएको संस्थाकी प्रवन्ध निर्देशक विष्णु घिमिरेले बताइन् ।

सवारी चालक एप इन्स्टल गरेपछि सेवा दिने चालकले नाम, सवारी साधनको विवरण र लाइसेन्सलगायत आवश्यक विवरण दर्ता गर्नुपर्छ । सुविधा लिने यात्रुले एपमार्फत् पूरा विवरण भरेपछि रुपन्देहीको जुनसुकै ठाउँबाट पनि सेवा दिन र लिन सक्‍नेछन् ।

‘हामीसँग आबद्ध सवारी साधनको तेस्रो पक्ष बिमा हुन्छ, त्यसबाटै दुर्घटनामा घाइतेको उपचार हुन्छ’–एप्लिकेशन निर्माण गरेका रोशन खनालले भने–‘हाम्रो उद्देश्य सबैले सर्वसुलभ यातायात सेवा पाउन् भन्ने हो ।’

एपमार्फत् धेरै देशले यो सेवा विस्तार गरिसकेका छन्। बजारमा देखिएका ट्याक्सी कुनै भाडा, कुनै साहुको र कुनै ऋणमा चलाउने भएकाले त्यसको लगानी उठाउन गाह्रो हुने चालकहरू गुनासो गर्छन् । सफल सवारी सेवाले यो गुनासोलाई समेत अन्त्य गरिदिने खनालको भनाइ छ ।

यसबाट यात्रु ठगिने समस्या पनि नहुने र सहुलियत दरमै सेवा प्राप्त गरिने भएकाले यो भरपर्दो हुने उनले बताए । यस्तो प्रविधिले ट्याक्सी चालकहरूले लिने गरेको मनपरी भाडालाई चुनौती दिएको उनको भनाइ छ । एप्लिकेसन लन्च गर्दै तिलोत्तमा मिडिया क्लवका अध्यक्ष लक्ष्मण पौडेलले यातायात क्षेत्रलाई प्रविधिसँग जोड्नु आजको आवश्यकता रहेको भन्दै रुपन्देहीमा शुरु भएको सेवाले केही हदसम्म यो आवश्यकतालाई पूरा गरेको बताए ।

आर्थिक अनुसन्धान केन्द्र नेपालका अध्यक्ष हुमराज भुसालले अहिले घरघरर मोबाइलमै इन्टरनेटसँग नागरिकको पहुँच पुगेकाले सजिलो सवारी सेवा प्राप्त गर्न सेवाग्राहीलाई सहज हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment