 
																			वर्तमान विश्वका अधिकांश मानिस कोभिड-१९ प्रकोपका कारण भयभीत जीवन जिउन बाध्य छन् । विश्वव्यापी कोरोना चुनौतीलाई वैज्ञानिकहरू मेडिकल साइन्समा नव प्रवर्तन र नयाँ प्रयोगका साथ अवसरमा बदल्न अनवरत रूपमा तल्लीन छन् ।
यो लेख तयार पार्दासम्म जोन हाकिन्स युनिभर्सिटीको स्रोत अनुसार कोरोनाबाट १४ करोड भन्दा धेरै व्यक्ति संक्रमित भइसकेका छन् भने तीस लाख भन्दा धेरै व्यक्तिले मृत्युवरण गरेका छन् । सन् २०१९ मा चीनको वुहानबाट देखा परेको यो भाइरस अहिलेसम्म विभिन्न स्वरूपमा आनुवंशिक उत्परिवर्तन गरेको छ ।
हालसम्म कोरोनाका पाँच वटा नयाँ भेरियन्ट देखिएका छन् । जसमा- बी.१.१.७ (बेलायत), पी.१ (जापान), बी.१.३५१ (ब्राजिल), बी.१.४२७ (दक्षिण अफ्रिका) र बी.१.४२९ (क्यालिफोर्निया) रहेका छन् ।
भारतमा भर्खरै कोरोनाको डबल जिन भेरियन्ट पत्ता लागेको छ । बेलायतको स्ट्रेनलाई सुपर स्प्रेडर मानिन्छ किनकि यस स्ट्रेनको संक्रमण गर्ने क्षमता अन्य भेरियन्ट भन्दा धेरै छ ।
युरोपमा नयाँ स्ट्रेनको कारण तेस्रो लहर शुरू भइसकेको छ भने छिमेकी मुलुक भारतमा दोस्रो लहरको शुरुआत भइसकेको छ । भारतलगायत सार्क मुलुकको अवस्थालाई हेर्दा नेपालमा छिट्टै नै कोरोनाको दोस्रो लहर आउने प्रबल सम्भावना छ ।
 नयाँ स्ट्रेनको संक्रमणपश्चात् देखिने लक्षण
नयाँ स्ट्रेनको संक्रमणपश्चात् देखिने लक्षण
शुरुआती अवस्थाको कोरोनाभाइरसको मुख्य लक्षण सुक्खा खोकी, ज्वरो आउने, स्वाद तथा वासना थाहा नहुने थियो । कोरोनाको नयाँ स्ट्रेनको संक्रमणपश्चात् धेरै व्यक्तिमा माथिका लक्षण नदेखिएर फरक लक्षण देखिएको अध्ययनले देखाएको छ । हातखुट्टा दुख्ने, शरीर दुख्ने, उल्टी आउने, पखाला लाग्ने, भोक नलाग्ने, पेटको समस्या तथा आँखाको समस्या आदि रहेका छन् । यस प्रकारका नयाँ लक्षण देखिएका व्यक्तिहरूलाई पीसीआर टेस्ट गर्न वैज्ञानिकहरूले सुझाव दिएका छन् ।\
अधिकांश व्यक्तिमा नयाँ स्ट्रेनको संक्रमण हुँदा समेत लक्षण चिन्ह नदेखिएको अध्ययनले देखाएको छ । भारतका विभिन्न राज्यमा धेरै संक्रमित व्यक्तिलाई कुनै लक्षण नदेखिएको पाइएको छ ।
हाल नयाँ स्ट्रेनको कोरोनाको संक्रमणले गर्दा नयाँ नयाँ लक्षण देखिएको हुँदा माथि उल्लिखित लक्षण देखिएका व्यक्तिहरूले समेत चिकित्सकलाई परामर्श सेवा लिएर पीसीआर टेस्ट गर्ने वातावरण निर्माण गर्न सरकारले जनस्वास्थ्यको मापदण्डमा समेटिनुपर्ने देखिन्छ ।
पीसीआर टेस्ट फल्स नेगेटिभ आउनु
अध्ययन अनुसार नयाँ स्ट्रेनको कोरोनाभाइरसबाट संक्रमित धेरै व्यक्तिमा आरटी-पीसीआर टेस्ट गर्दा कोरोना पत्ता लागेको छैन । यो हुनुमा पीसीआर टेस्टले ‘एस’ जिन पत्ता लगाउन नसक्नु हो । यद्यपि उनीहरूको सिटीस्क्यानको रिपोर्टमा कोरोनाको कारण फोक्सोमा स्पष्ट संक्रमण देखिएको थियो ।
सामान्यतः प्रति १०० जना वास्तविक कोरोनाका बिरामीलाई पीसीआर टेस्ट (नाकको नमूनाबाट परीक्षण) गर्दा करीब ७० जना मात्र वास्तविक कोरोनाका बिरामी भनेर पीसीआर टेस्टले पत्ता लगाउन सक्दछ । जसलाई पीसीआर टेस्टको सेन्सिटिभिटी दर ७० प्रतिशत रहेको भनेर परिभाषित गरिन्छ ।
नयाँ स्ट्रेनको कोरोनाभाइरस प्रायः एक पटकको टेस्टबाट पत्ता लाग्ने दर बढीमा ७० प्रतिशत र तीन पटकको अन्तरालमा पीसीआर गर्दा पत्ता लाग्ने दर ९० प्रतिशतसम्म रहेको भारतमा भएको अध्ययनले देखाएको छ ।
सरकारले विशेष गरी अन्तर्राष्ट्रिय विमानस्थल तथा भारतसँगको खुला नाकाबाट आउने व्यक्तिको पीसीआर टेस्ट अनिवार्य गर्ने जनस्वास्थ्यको मापदण्डमा उल्लेख गर्नु आवश्यक देखिन्छ ।
पुनः संक्रमणको खतरा
एकपटक कोरोनाको संक्रमणपश्चात् निको भएर केही समय (कम्तीमा तीन महीना) को अन्तरालमा फेरि कोरोनाबाट संक्रमित हुनुलाई पुनःसंक्रमण भनिन्छ । भारतमा इन्डियन काउन्सिल फर मेडिकल रिसर्चले गरेको अध्ययन अनुसार करीब ४.५ प्रतिशत जनसंख्यामा पुनःसंक्रमणको समस्या देखिएको छ ।
पुनःसंक्रमण हुने सम्भावित कारणहरूमा नयाँ नयाँ स्ट्रेनको कोरोनाभाइरसले निको भइसकेका व्यक्तिलाई फेरि संक्रमण गर्नु, प्राकृतिक तबरबाट प्राप्त कोरोना विरुद्धको एन्टीबडी केही महीनापश्चात् हराएर जाँदा फेरि नयाँ स्ट्रेनको भाइरसले संक्रमण गर्न सक्ने अनुमान वैज्ञानिकहरूले गरेका छन् ।
नेपालमा पनि कोरोनाको पुनःसंक्रमणका केसहरू देखिएको खबर आएका छन् यद्यपि यसको वैज्ञानिक तवरले अनुसन्धान गर्न तथा सेरो-सर्भिलेन्स गर्न सरकार तथा सम्बन्धित निकायले पहल गर्नुपर्दछ ।
कोभिड-१९ को खोप लगाएपश्चात् पनि संक्रमण देखिनु
कोभिड-१९ खोपको पहिलो डोज लगाउनासाथ शरीरमा कोरोना विरुद्ध इम्युनिटी निर्माण हुन शुरू हुन्छ । तत्पश्चात् दोस्रो डोज लिएको १४ दिनपछि कोरोनाभाइरस विरुद्ध खोप पूर्णरूपमा प्रभावी रहन्छ ।
यद्यपि भारतमा बिहारको राजधानी पटनामा दोस्रो डोज खोप लगाइसकेका १८७ जना स्वास्थ्यकर्मीहरूमा समेत कोभिड-१९ को रिपोर्ट फेरि पोजिटिभ देखिएको खबर आएको छ ।
कोरोनाको नयाँ स्ट्रेन विरुद्ध अहिले बनेका खोपको प्रभावकारिता न्यून देखिएको विभिन्न अन्तर्राष्ट्रिय अध्ययनको नतिजाले देखाएका छन् । खोप लगाएपश्चात् पनि कोभिड-१९ को संक्रमण हुने सम्भावना देखिएको छ । यद्यपि खोप लगाएका ८० प्रतिशत व्यक्तिहरूमा कोरोनाको गम्भीर संक्रमण नदेखिएको हुँदा कोभिड-१९ खोप कोरोनाको गम्भीर संक्रमणबाट जोगाउन प्रभावकारी रहेको अध्ययनले देखाएको छ ।
खोप लगाए तापनि कोरोना संक्रमणको सम्भावना रहने हुँदा खोप लगाइसकेका व्यक्तिले समेत अनिवार्य मास्क लगाउने तथा भौतिक दूरी कायम गर्नुपर्ने प्रावधानलाई सरकारले जनस्वास्थ्यको मापदण्डमा उल्लेख गर्नुपर्ने देखिन्छ ।
बालबालिकामा नयाँ स्ट्रेनको संक्रमण तीव्र देखिनु
सन् २०१९ मा देखिएको शुरूआती कोरोनाभाइरसले बालबालिकाको लागि धेरै खतरा नगरेको विभिन्न अनुसन्धानले देखाएको थियो । तथापि अहिलेको विभिन्न नयाँ स्ट्रेनले गर्दा बालबालिकामा कोरोनाको संक्रमण तीव्र रूपमा फैलिएको विभिन्न अन्तर्राष्ट्रिय अध्ययनले देखाएको छ । बालबालिकालाई लक्षित गरेर विश्वमा कोभिड-१९ खोप उत्पादन गर्ने विभिन्न खोप कम्पनीहरूले खोप परीक्षण समेत गर्दै छन् ।
सरकार तथा सम्बन्धित निकायले स्कूलमा पढ्ने बालबालिकाको लागि कोरोनाको नयाँ स्ट्रेन विरुद्ध विशेष सचेतना कार्यक्रम संचालन गर्ने तथा सकेसम्म अनलाइन कक्षा संचालन गर्ने व्यवस्था जनस्वास्थ्यको मापदण्डमा उल्लेख गर्नुपर्ने देखिन्छ ।
(लेखक नेपाल जनस्वास्थ्य संघका केन्द्रीय सदस्य तथा कोभिड-१९ लगायत विभिन्न अन्तर्राष्ट्रिय मेडिकल रिसर्चमा क्रियाशील छन् ।)
 
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4