Comments Add Comment

चैते दशैं : चार दशैंमध्ये कति छ यसको महत्व ?

आज चैत्र शुक्ल अष्टमी अर्थात् चैते दशैं । वसन्तीय नवरात्रको आठौं दिन धुमधामका साथ देशभर चैतेदशैं मनाइँदैछ । यो शारदीय नवरात्रपछिको सबैभन्दा ठूलो दशैं हो ।

संस्कृतिविद् विनोदराज शर्माका अनुसार एक वर्षमा मनाइने ४ किसिमको दशैं आफैँमा ठूलो र छुट्टै महत्वको हुन्छ । तर पनि समाजमा हुने आस्थाका आधारमा यसलाई शारदीय नवरात्र पछिको दशैंको रूपमा मान्यता दिने गरिन्छ । बाँकी २ किसिमका दशैं भने आफैँमा विलुप्तप्राय: छन् ।

शर्माका अनुसार मध्यकालीन नेपालमा ४ किमिसको दशैं धुमधामका साथ मनाउने गरिन्थ्यो । यी दशैंहरूमध्ये अहिले प्रचलनमा रहेको शारदीय र वसन्तीय नवरात्रबाहेक पनि आषाढ शुक्लमा मनाइने ग्रीष्मकालीन नवरात्र र माघ शुक्लमा मनाइने शिशिरकालीन नवरात्र अहिले लोपोन्मुख अवस्थामा छ । तर यी सबै दशैंहरूको आ–आफ्नै विशेषताहरू छन् । जसमा पूजा गरिने देवीहरू एउटै भए पनि त्यसको विधि र प्रक्रिया भने भिन्दाभिन्दै रहेको संस्कृतिविद् शर्मा बताउँछन् ।

चैत्र शुक्ल पक्षको १० दिन चैते दशैं भनेर मनाउने गरिन्छ । जुन शारदीय नवरात्रको तुलनामा अत्यन्त कम महत्वको पर्व हो । तर, यसरी नै कम महत्वपूर्ण हुँदाहुँदै अस्तित्वविहीन बनेका दुई वटा गुप्त नवरात्रका बारेमा भने धेरै बेखबर छन् । यद्यपि अहिलेसम्म पनि अत्यन्त नियममा रहने तान्त्रिकहरूले भने नियमित चारै किसिमको दशैं मनाउने गर्छन् ।

अहिले पनि सात्विक पञ्चबली मानेर कुभिण्डोलाई राँगाको प्रतीक, बिमिरोलाई बोकाको प्रतीक, उखुलाई कुखुराको प्रतीक, अदुवालाई हाँसको प्रतीक र मुलालाई भेडाको प्रतीकको रूपमा चढाउने गरिन्छ । शर्माका अनुसार राष्ट्रिय अभिलेखालयमा रहेका विभिन्न प्रमाणहरूको आधारमा मध्यकालमा चारवटै दशैं धुमधामका साथ मनाउने गरिएको साहित्यिक प्रमाण पाउन सकिन्छ ।

शर्मा भन्छन् ‘राष्ट्रिय अभिलेखालयमा रहेका पुष्पिका वाक्यहरूमा शारदीय नवरात्र, ग्रीष्मकालीन नवरात्र, वसन्तीय नवरात्र र शिशिरकालीन नवरात्र र त्यसक्रममा भएका विभिन्न गतिविधिको उल्लेख पाइन्छ । यसले मध्यकालमा सर्वसाधारणले समेत धुमधामका साथ चारवटै दशैं मनाउने गरेको प्रमाण दिन्छ ।’

के–के हुन्छ चार दशैंमा फरक ?

मध्यकालमा मनाइने चारवटा दशैंका बीचमा ठूलो फरक नभए पनि त्यसको विधि र प्रक्रियामा भने केही भिन्नता देखिन्छ । अहिले जस्तो बाह्रमासे फलफूलको व्यवस्था त्यतिबेला थिएन । जसका कारण सिजन अनुसारको फलफूलको प्रयोग गर्ने, पूजा र बली चढाउने विधि आदिमा पनि चारै दशैंमा भिन्नता थियो ।

मध्यकालमा वर्णाश्रम व्यवस्थाको प्रचुर प्रयोग भएकोले दशैंलाई पनि भिन्नभिन्न वर्णअनुसार फरक–फरक विधिले मनाउने गरिएको थियो । शर्माका अनुसार असार महिनामा मनाइने नवरात्र विशेषगरी ब्राह्मणहरूको मौलिक विधि अनुसार मनाउने गरिन्थ्यो । यसको अर्थ ब्राह्मणले मात्र मनाउने दशैं नभएर बली दिने क्रममा ब्राह्मण विधिबाट दिने, पूजा शैली आदिलाई पनि ब्राह्मण विधिबाट मनाउने मनाउने गरिएको थियो ।

त्यस्तै, आश्विन शुक्ल पक्षमा मनाइने नवरात्र क्षत्रीय विधिबाट, शिशिरकालीन नवरात्र वैश्य विधिबाट र चैत्र शुक्लमा मनाइने नवरात्र शुद्र विधिबाट मनाउने गरिन्थ्यो । जस्तो– बली सबै नवरात्रमा दिने गरिन्थ्यो भने ब्राह्मण विधि अर्थात् असार महिनामा मनाइने नवरात्रको बलीमा तरबारको प्रयोग गरिँदैन’थ्यो । तर, शारदीय नवरात्रमा भने तरबारको प्रयोग अनिवार्य थियो ।

शर्माका अनुसार पूर्वराजा वीरेन्द्रका पालासम्म पनि गोरखामा शारदीय नवरात्रमा ब्राह्मण पुजारीलाई तरबारले बली दिन लगाइन्थ्यो । यसले शारदीय नवरात्रमा ब्राह्मणले पनि क्षत्रीय विधिबाट दशैं मनाउने गरेको पुष्टि हुने शर्मा बताउँछन् ।

चैते दशैंमा पनि नवदूर्गाकै पूजा

चारवटै दशैंमा पूजा भने नवदूर्गाकै गर्ने गरिन्छ । नवरात्रको पहिलो दिन दशैंघरमा घटस्थापना गरेर जौ (कतै मकै र धान पनि थप गरेर) छरिन्छ । आठ किसिमका अष्टमात्रिका पनि भिन्दाभिन्दै किसिमका हुन्छन् । धेरैले शैलपुत्र्यादी नवदूर्गाको बढी पूजा गर्छन् । यो चारैवटा दशैंमा पूजा हुने देवी स्वरूप हो । यी सबै पूजा तान्त्रिक विधिबाट गरिन्छ ।

ज्योतिष शास्त्रअनुसार शुक्लपक्ष भनेको बिहान हो र कृष्ण पक्ष भनेको राति हो । यी सबै किसिमका दशैंहरू शुक्लपक्षमा नै मनाउने गरिन्छ । कालरात्रि पूजाबाहेक अरू सबै पूजा दिउँसोमा हुनुको संकेत पनि यी सबै उज्यालोको संकेत हो भन्ने मानिन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment