Comments Add Comment

प्रदेश-२ को नाम ‘मिथिला भोजपुरा’ राख्‍न कांग्रेसले दर्ता गरायो प्रस्ताव

९ वैशाख, जनकपुरधाम । नेपाली कांग्रेसले प्रदेश २ को नाम ‘मिथिला भोजपुरा’ राख्नुपर्ने भन्दै प्रदेश सभा सचिवालयमा प्रस्ताव दर्ता गराएको छ ।

प्रदेश सभा सचिवालयले प्रदेशको नाम र स्थायी राजधानीका लागि प्रस्ताव आह्वान गरेको अन्तिम दिन बिहीबार कांग्रेसले नाम र स्थायी राजधानीको प्रस्ताव दर्ता गराएको हो । उसले स्थायी राजधानी जनकपुरधामलाई बनाउनुपर्ने प्रस्ताव दर्ता गराएको छ ।

प्रदेशको नाम मिथिला भोजपुरा हुनुपर्ने भन्दै सांसद शिवचन्द्र चौधरीले दर्ता गराएको प्रस्तावमा मन्जुकमारी र प्रमिला दासले समर्थन जनाएको प्रस्तावक चौधरीले जानकारी दिए ।

चौधरीका अनुसार सांसद उपेन्द्र प्रसाद कुशवाहाले स्थायी राजधानी जनकपुरधाम हुनुपर्ने प्रस्ताव दर्ता गराउँदा सांसद नरेश कुमार यादव र नागेन्द्र प्रसाद सिन्हाले समर्थन जनाएका छन् ।

प्रदेशमा कांग्रेसका १९ जना सांसद छन् । कांग्रेसले यसअघि पहिलो पटक प्रयास शुरु गर्दा पनि प्रदेशको नाम मिथिला भोजपुरा र राजधानी जनकपुरधाम हनुपर्ने भन्दै प्रस्ताव दर्ता गराएको थियो ।

यसअघि प्रदेशको नाम मधेश हुनुपर्ने भन्दै सत्तारुढ जनता समाजवादी (जसपा) र नेकपा माओवादी केन्द्रले छुट्टाछुट्टै प्रस्ताव दर्ता गराएको छ । नेकपा एमालेले प्रदेशको नाम जानकी हुनुपर्ने भन्दै प्रस्ताव दर्ता गराएको छ । यी तीनै दलले स्थायी राजधानी जनकपुरधाम हुनुपर्ने भन्दै प्रस्ताव दर्ता गराएको छ ।

प्रदेशको नामाकरण र स्थायी राजधानी तोक्ने प्रकृया दोस्रो पटक शुरू हुन लागेको छ । यसअघि २०७६ साल चैत महिनामा भएको पहिलो प्रकृया फेल भएको थियो ।

प्रदेशको नाम र राजधानी तोक्न दुई तिहाई बहुमत अर्थात् ६९ जना सांसदको आवश्यक परेपनि यो अवस्था कुनै पनि दलसँग छैन् । प्रदेश सभामा कूल १०७ सांसदमध्ये माओवादी केन्द्रले आफ्ना चार जना सांसदलाई पदमुक्त गरेपछि सांसदको संख्या १ सय ३ छ । जसपाका ५५, एमालेका २१, कांग्रेसका १९, माओवादी केन्द्रका ७ र नेपाल संघीय समाजवादी पार्टीका एक सांसद छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment