१० वैशाख काठमाडौं । नेपालमा पहिलो पटक आयोजना हुन लागेको फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) को विजेताले नगद ३५ लाख रुपैयाँ पुरस्कार पाउने भएका छन् ।
आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टले प्रतियोगिताको अघिल्लो दिन शुक्रबार पत्रकार सम्मेलन गर्दै पुरस्कार राशी घोषणा गरेको हो । उपविजेताले भने १५ लाख रुपैयाँ पाउने ।
यस्तै उत्कृष्ट गोलकिपर, डिफेण्डर, मिडफिल्डर, फरवार्ड र प्रशिक्षकले १-१ लाख रुपैयाँ प्राप्त गर्ने एनएसएलका निर्देशक श्रेयांश कार्कीले बताए ।
यसैगरी प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने एक जना राइजिङ खेलाडीलाई पनि पुरस्कृत गर्ने उनले बताए । तर त्यसको रकम भने खुलाइएको छैन ।
यस बाहेक हरेक खेलको म्यान अफ दि म्याचले २५ हजार रुपैयाँ पाउनेछन् । यस्तै हरेक खेलमा उत्कृष्ट प्रदर्शन गर्ने एक जना इमर्जिङ खेलाडीले पनि १० हजार रुपैयाँ प्राप्त गर्ने कार्कीले बताए ।
अखिल नेपाल फुटबल संघ एन्फाको प्राविधिक सहयोगमा हुन लागेको प्रतियोगितामा नेपालको सात फ्रेन्चाइज टिम विराटनगर सिटी एफसी, काठमाडौं रेजर्स, ललितपुर सिटी एफसी, एफसी चिवतन, पोखरा थण्डर्स, बुटबल लुम्बिनी एफसी र धनगढी एफसीले प्रतिस्पर्धा गर्नेछन् ।
क्लोज डोरमा हुनेछ खेल
नेपाल सुपर लिगका सम्पूर्ण खेलहरु क्लोज डोर अर्थात दर्शकविहीन रंगशालमा खेलाइनेछ । सरकारले कोरोना भाइरस महामारी रोकथाम तथा नियन्त्रणका लागि गत वैशाख ६ गते रंगशालामा दर्शकसहितको खेलकुद सञ्चालन नगर्ने निर्णय गरेको थियो ।
‘सरकारले जारी गरेको मापदण्डअनुसार हामी क्लोज डोरमा खेल गर्दैछौँ । जिरो अक्कुपेन्सी हुनेछ’ एनएसएलका सीईओ सुदीप शर्माले भने ।
टिकट नहुँदा आर्थिक घाटा
क्लोजर डोरमा खेल आयोजना हुने भएपछि दर्शकले रंगशालमा उपस्थित भएर खेल हेर्न पाउने छैनन् । जसले गर्दा आयोजकलाई टिकटबाट हुने आम्दानी घाटा लागेको एनएसएलका निर्देशक श्रेयांश कार्कीले बताए ।
प्रतियोगिता अवधिमा कुनै टिमका खेलाडीलाई कोरोना पोजेटिभ देखिए खेलाडी परिवर्तनको व्यवस्था गरिएको कार्कीले बताए । ‘कोभिड-१९ भएमा रिप्लेसमेन्ट पोलिसी बनाएका छौं । अक्सनमा बिक्री नभएका बी र सी क्याटगोरीका खेलाडीहरुबाट रिप्लेसमेन्ट गर्न पाइनेछ ।’
रंगशालाबाट खेल हेर्ने व्यवस्था नभए पनि टेलिभिजनमा प्रत्यक्ष प्रशारण हेर्न सकिने कार्कीले बताए ।
सबै टिमलाई तयारीकै समस्या
पहिलो सिजनको उद्घाटन खेलमा शनिबार उपत्यकाका दुई टोली काठमाडौं रेजर्स र ललितपुर सिटी एफसी भिड्दैछन् । राष्ट्रिय टिमका गोलकिपर विकेश कुथु काठमाडौंको कप्तान छन् भने ललितपुरको कप्तानमा राष्ट्रिय टिमका सदस्य अन्जन विष्ट छन् ।
सातवटै फ्रेन्चाइज क्लबका प्रशिक्षक र कप्तानले तयारीको लागि कम समय भएको बताएका छन् ।
एनएसएस खेल्ने टिम कप्तान र प्रशिक्षक
विराटनगर सिटी एफसी
कप्तान : रन्जित धिमाल
प्रशिक्षक : यान ल
काठमाडौं रेजर्स
कप्तान : विकेश कुथु
प्रशिक्षक : बालगोपाल महर्जन
ललितपुर सिटी एफसी
कप्तान : अन्जन विष्ट
प्रशिक्षक : प्रदिप हुमागाई
एफसी चितवन
कप्तान : भरत खवास
प्रशिक्षक : मेघराज केसी
पोखरा थण्डर्स
कप्तान : अनिल गुरुङ
प्रशिक्षक : नवीन न्यौपाने
बुटवल लुम्बिनी एफसी
कप्तान : विशाल श्रेष्ठ
प्रशिक्षक : सनोज श्रेष्ठ
धनगढी एफसी
कप्तान : किरण चेम्जोङ
प्रशिक्षक : युगल किशोर राई
प्रतिक्रिया 4