१२ वैशाख, काठमाडौं । विशाल श्रेष्ठको कप्तानीमा रहेको बुटवल लुम्बिनी एफसीले नेपाल सुपर लिग (एनएसएल) मा विजयी सुरुवात गरेको छ । आइतबार भएको दिनको दोस्रो खेलमा बुटवलले पोखरा थन्डर्सलाई २-० ले पराजित गर्यो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा बुटवलका लागि विदेशी खेलाडी अर्मान्ड बेउडुमले एक गोल गरे । पोखराले एक आत्मघाती गोल बुटवललाई उपहार दिएको थियो ।
खेलको ४२ औं मिनेटमा अर्मान्ड बेयउडुमले गोल गर्दै बुटवललाई १-० को अग्रता दिलाएका थिए । ६६औं मिनेटमा सुमन लामाको डिबक्स बाहिरबाटको गरेको प्रहार पोस्ट बारमा लागेर फर्किदा बुटवल अग्रता दोब्बर बनाउने अवसर गुमाएको थियो ।
७६ औं मिनेटमा पोखराका अजित भण्डारीले आत्मघाती गोल गरेपछि बुटवलले अग्रता दोब्बर पारे । बुटवलका अमिर श्रेष्ठको क्रस क्लियर गर्ने क्रममा अजितले रोक्न खोजेको बल आफ्नै पोस्टमा गोल भएको हो ।
सुदख सुरुवात गरेको बुटवलले ३ अंक जोड्दै दोस्रो स्थानमा रहेको छ । बुटवलका अर्मान्ड खेलको म्यान अफ दि म्याच घोषित भए । उनले नगद २५ हजार प्राप्त गरे । यस्तै इमर्जिङ प्लेअर बनेका बुटवलका अमिर श्रेष्ठले १० हजार पाए ।
आइतबारै भएको खेलमा विराटनगर सिटी एफसीले धनगढी एफसीलाई ३-० ले पराजित गर्दै शीर्ष स्थानमा छ । लिगमा सोमबार चितवन एफसी र ललितपुर सिटी एफसीबीच एक मात्र खेल हुनेछ ।
प्रतिक्रिया 4