Comments Add Comment

अस्पताल भर्ना भएका अधिकांश संक्रमितलाई अक्सिजन सपोर्ट

‘आपूर्ति चेन नमिलाए कर्णाली र सुदूरपश्चिममा अभाव हुनसक्छ’

१३ वैशाख, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएर अस्पताल भर्ना भएका अधिकांशलाई अक्सिजन सपोर्ट दिनु परेको चिकित्सकहरुले बताएका छन् । यदि अक्सिजन आपूर्तिको श्रृङ्खला (चेन) मिलाउन नसक्ने हो भने कर्णाली र सुदूरपश्चिममा संक्रमितको उपचार प्रभावित हुने खतरा देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार साँझसम्म २२ हजार २३४ सक्रिय संक्रमित छन् । उनीहरुमध्ये २० हजार ५३५ होम आइसोलेसनमा छन् भने १८९९ संस्थागत आइसोलेसनमा छन् । २६८ जनाको आईसीयू र ७८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

तर अस्पताल भर्ना भएका अधिकांशलाई अक्सिजन सपोर्ट दिनुपरेको उपचारमा संलग्न चिकित्सकहरु बताउँछन् । ।

सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश अस्पतालद्वारा सञ्चालित कोभिड अस्पतालमा ३० जना कोरोना संक्रमित उपचाररत छन् । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. डम्बर खड्का भन्छन्, ‘२७ जना आईसीयू र ३ जना भेन्टिलेटरमा उपचाररत छन् । दैनिक ५० वटा सिलिण्डर अक्सिजन खपत भइरहेको छ ।’

तर अस्पतालको अक्सिजन प्लान्ट बिग्रिएको छ । बाहिरबाट अक्सिजन ल्याएर बिरामीको उपचार गर्नुपरेको छ । पर्याप्त सिलिण्डर नहुँदा यसमा पनि समस्या देखिएको छ ।

अस्पतालका मेडिकल रेकडर विनोद वस्नेतका अनुसार उक्त प्लान्टमर्मत भइरहेको छ र, सञ्चालनमा आएपछि दैनिक ६०/७० सिलिण्डर अक्सिजन उत्पादन हुन्छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा अक्सिजन प्लान्ट छ, तर दैनिक ८/१० सिलिण्डर अक्सिजन उत्पादन हुने रजिष्टार विश्वराज काफ्लेले बताए ।

सुदूरपश्चिमको अवस्था पनि कर्णालीको भन्दा फरक छैन ।

धनगढीस्थित सेती प्रादेशिक अस्पतालका ५५ बेड कोरोना संक्रमितले भरिएका छन् । संक्रमितमध्ये १० जना आईसीयू, ५ जना एचडीयू र ४० जना आइसोलेसनमा छन् । आइसोलेसनमा बसेकामध्ये २५ जनालाई पनि अक्सिजन दिनुपरेको छ ।

यो पनि पढ्नुहोस अक्सिजन होइन, सिलिण्डरको अभाव छ !

अस्पतालमा अक्सिजन प्लान्ट त छ, तर माग धान्न सकेको छैन । सूचना अधिकारी दिलीप श्रेष्ठका अनुसार अस्पतालमा जडान गरिएको प्लान्टबाट दैनिक ७५ सिलिण्डर अक्सिजन उत्पादन हुँदै आएको छ । जबकी दैनिक माग १४० देखि १५० सिलिण्डर छ । यो अभाव पूर्तिका लागि बाँकेबाट अक्सिजन ल्याउने गरिएको छ ।

वीरगञ्जस्थित नारायणी अस्पतालका डा. उदयनारायण सिंह पनि अहिले अस्पताल भर्ना भएका धेरै संक्रमितलाई अक्सिजन सपोर्ट चाहिएको बताउँछन् ।

नारायणी अस्पतालमा ३५ जना संक्रमितको उपचार भइरहेको र मोडरेट अवस्थाका बिरामीलाई समेत अक्सिजन सपोर्टमा उपचार गराइरहनुपरेको उनले बताए । ‘नारायणीका साथै केही निजी अस्पतालमा पनि कोरोना संक्रमितको उपचार भइरहेको छ । ७५ प्रतिशतभन्दा बढी बिरामीलाई अक्सिजन सहयोगमा उपचार गराउनु परेको छ,’ डा. सिंहले भने, ‘होम आइसोलेसनमा बसेका १०० जनाभन्दा बढीले पनि अक्सिजन प्रयोग गरेको जानकारी हामीले पाएका छौं ।’

एक सातायता अस्पतालमै अक्सिजनको माग चार गुणाले वृद्धि भएको डा. सिंहले बताए । ‘अहिले दैनिक साना ४ सिलिण्डर अक्सिजन खपत भइरहेको छ । केही दिनलाई स्टक छ’ उनले भने, यही अवस्था रहे अक्सिजनको अभाव हुनसक्छ ।’

राजधानीबाहिर मात्र होइन, संघीय राजधानी काठमाडौंमा पनि अक्सिजन सपोर्ट चाहिने बिरामी बढेका छन् ।

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले अस्पतालमा उपचाररत ९० प्रतिशत बिरामीलाई अक्सिजन दिनुपरेको बताउँछन् । ‘अस्पतालमा करिब ५३ जना कोरोना संक्रमित उपचाररत छन् । जसमध्ये २२ जनाको आईसीयूमा उपचार भइरहेको छ,’ उनले भने, ‘बिरामीलाई ‘लिक्विड अक्सिजन प्लान्ट’मार्फत अक्सिजन दिइरहेका छौं ।’

टेकु अस्पतालमा आफ्नै अक्सिजन प्लान्ट छ । बाहिरबाट ल्याएर भर्नुपर्ने बाध्यता रहेपनि अक्सिजनको अभाव नै हुने अवस्था भने नआउने उनले जानकारी दिए ।

त्रिवि शिक्षण अस्पतालको कोभिड–१९ का संयोजक डा. सन्तकुमार दास पनि ८० देखि ८५ प्रतिशत बिरामीलाई अक्सिजन दिनुपरेको बताउँछन् । उनले भने, ‘अस्पतालमा ६० जना संक्रमित बिरामी छन् । जसमध्ये ५० जनाको अक्सिजन सपोर्टमा उपचार भइरहेको छ । अस्पतालकै दुई वटा अक्सिजन जेनेरेसन प्लान्टबाट उत्पादन भइरहेको अक्सिजनले माग धानिरहेको छ ।’

अस्पतालमा जडान गरिएको एउटा प्लान्ट बन्द छ । अधिकांश बिरामीलाई अक्सिजन दिनुपर्ने अवस्था रहेकाले भोलिको दिनमा अभाव हुने चिन्ता उनले व्यक्त गरे ।

अभाव छैन, आपूर्तिमा समस्या

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अक्सिजनको अभाव नभई आपूर्तिमा समस्या रहेको बताए ।

कर्णाली र सुदूरपश्चिम प्रदेशमा अक्सिजन उत्पादन तथा भरेर बिक्री गर्ने एउटा पनि उद्योग सञ्चालनमा छैन । सीमित अस्पतालमा मात्र अक्सिजन प्लान्ट छ । अरु अस्पतालले बाहिर जिल्लाबाट अक्सिजन आपूर्ति गर्दै आएका छन् ।

‘अहिले पनि हामीसँग प्रशस्त मात्रामा अक्सिजन उत्पादन छ, तर काठमाडौंमा उत्पादन हुने अक्सिजन अन्यत्र पुर्‍याउन समस्या भएको हो’, स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा गौतमले भने, ‘अक्सिजन उद्योग नभएका ठाउँमा हुने ठूलो माग धान्न कठिन भएकाले सरकारले थप सिलिण्डर किन्ने प्रक्रिया सुरु गरेको छ ।’

अक्सिजन उत्पादकहरुले भने उत्पादनमा समस्या नभएको, तर आपूर्ति चुनौतीपूर्ण रहेको बताएका छन् ।

देशभरमा साना ठूला गरेर निजी क्षेत्रबाट सञ्चालित झण्डै २० वटा अक्सिजन उद्योगबाट दैनिक ८ हजार सिलिण्डर अक्सिजन उत्पादन हुने दावी उद्योगीहरुको छ । कोरोना संकट गहिरिँदै गएको अवस्थामा दैनिक ५ देखि ६ हजार सिलिण्डर अक्सिजनको माग हुनसक्ने स्वास्थ्य मन्त्रालयको प्रक्षेपण रहेको र त्योभन्दा बढी अक्सिजन उत्पादन गर्ने क्षमता नेपाली उद्योगहरुसँग रहेको नेपाल अक्सिजन ग्यास उत्पादक संघका अध्यक्ष गौरव शारडाले बताए ।

उनले यथेष्ट मात्रामा सिलिण्डरको उपलब्धता गराइदिन र सिलिण्डर होल्ड गर्ने कार्य रोक्ने संयन्त्र बनाउन सरकारलाई आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment