Comments Add Comment

ग्रेटर टुँडिखेल : एक स्वप्निल आयोजना

जमलदेखि वागमती र धरहरादेखि सिंहदरबारसम्म

१५ वैशाख, काठमाडौं । १२ वैशाख २०७२ को विनाशकारी भूकम्पको समयमा जब घर छाडेर खुला चौरमा बस्नुपर्‍यो, धेरैले खुला स्थानको महत्व बुझे । त्यहीबेलादेखि शहरको मुख्यभागमा अवस्थित टुँडिखेलका साथै अरु सार्वजनिक स्थानलाई अतिक्रमणमुक्त बनाउनुपर्ने आवाज पनि चर्कोसँग उठ्यो ।

अभियन्ताहरुले ‘अकुपाई टुँडिखेल’ अभियान नै चलाए । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले यसबारे चासो देखाएपनि त्यसले मूर्त रुप लिन सकेको थिएन । तर ११ वैशाखमा पुनर्निर्मित धराहरा उद्घाटनको दिन भने ग्रेटर टुँडिखेलको मास्टर प्लान नै सार्वजनिक भएको छ ।

जसमा जमलदेखि दशरथ रंगशालासम्म र धरहरादेखि सिंहदरबारसम्मको क्षेत्रलाई अहिले नै सार्वजनिक प्रयोजनको लागि प्रयोग गरिनेछ । भविष्यमा यसको विस्तार वागमती करिडोरसम्म गर्ने लक्ष्य लिइएको छ ।

ग्रेटर टुँडिखेल

कुनैबेला काठमाडौंको कोर शहरभन्दा बाहिर पानीको स्रोत रिचार्जको लागि उपयोगी रहेका टुँडिखेल लगायतका खाली क्षेत्रको उचित व्यवस्थापन नहुँदा यतिबेला भद्रगोल र अस्तव्यस्त छ । गाडीको अनावश्यक होहल्ला र भीडले पैदलयात्री अनुकूल वातावरण सिर्जना हुनसकेको छैन । यस्तो अस्तव्यस्त दृश्यले गिज्याइरहेको काठमाडौंवासीलाई ग्रेटर टुँडिखेलको यो योजनामा अर्कै स्वरुपको काठमाडौंको परिकल्पना गरिएको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सार्वजनिक गरेको मास्टर प्लानको डीपीआर तयार हुन बाँकी छ भने कुल लागत अनुमान पनि गरिएको छैन । तर अबको ६ महिनामा यसको गुरुयोजना तयार पारेर त्यसलाई कानूनी मान्यता दिने र ढिलोमा साढे दुई वर्षमा आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीको भाषामा प्रस्तावित ग्रेटर टुँडिखेल यस्तो हुनेछ :–

यो योजनाले लैनचौरदेखि केशरमहल, नारायणहिटी दरबारदेखि जमल हुँदै रानीपोखरीसम्म, रानीपोखरीदेखि टुँडिखेल हुँदै दशरथ रंगशालासम्मको क्षेत्रलाई खुला क्षेत्रको रूपमा व्यवस्थित गर्ने । सार्वजनिक कार्यक्रमको लागि एउटा प्रभावकारी स्थलको रूपमा विकास गर्ने योजना हो ।

यो योजनाले अर्काे चरणमा भृकुटीमण्डप हुँदै सिंहदरबार र बिजुलीबजारमा रहेको औषधिव्यवस्था विभाग हुँदै यूएनपार्कतर्फ रहेको वागमती करिडोरसम्मको सार्वजनिक क्षेत्रलाई समेत समेट्नेछ ।

जसमध्ये पहिलो चरणमा जमलदेखि रंगशाला र धरहरादेखि भृकुटीमण्डप हुँदै सिंहदरबारसम्मको क्षेत्रलाई व्यवस्थापन गर्ने गरी योजना बनाउन लागिएको हो ।

यो योजनालाई अघि बढाउने क्रममा रानीपोखरी र रत्नपार्क क्षेत्रमा रहेको शान्तिबाटिका अनि जमल र रानीपोखरीको बीचमा रहेको खाली ठाउँलाई व्यवस्थापन गरेर पैदलयात्रीमैत्री संरचना तयार पारिनेछ । त्रिचन्द्र क्याम्पसको अहिले विद्यमान सरस्वती सदनबाहेक सबै संरचना भत्काइनेछ । घण्टाघर पछाडि रहेको जग्गामा घण्टाघरभन्दा अग्लो नहुने गरी चारतले भवन निर्माण गरिनेछ । रानीपोखरीतर्फको भवनलाई पहिले जमलस्थित जनप्रशासन क्याम्पस रहेको ठाउँमा सुविधासम्पन्न क्याम्पस भवन निर्माण गर्ने र अहिले त्रिचन्द्र क्याम्पस रहेको ठाउँलाई सार्वजनिक क्षेत्रको रूपमा व्यवस्थापन गर्ने योजना बनाइएको छ । त्यहाँ एउटा वाटर फाउन्टेन राखिनेछ । त्यसलाई दरबारमार्ग हुँदै नारायणहिटीसँग समेत जोडिनेछ ।

अहिले रानीपोखरीको छेउमा रहेको महानगरीय प्रहरीको कार्यालयलाई स्थानान्तरण गर्ने विषयमा गृह मन्त्रालयसँग छलफल भइसकेको छ भने त्यसलाई कहाँ व्यवस्थापन गर्ने भन्ने बारेमा छलफल हुँदैछ । स्थानान्तरणपछि त्यो क्षेत्र पनि सार्वजनिक प्रयोगको लागि खाली हुनेछ र त्यहाँ आकर्षक पार्क बनाइनेछ ।

अहिले रत्नपार्कमा छोटो दूरीका सवारी रोक्ने र यात्रु लैजाने ठाउँमा अण्डरपास तयार पारेर सवारी आवतजावतको व्यवस्था गरिनेछ । त्यसको माथि खुला हावा खान आउनेहरूलाई टहलिनको लागि व्यवस्थित र कोलाहलमुक्त बाटो र बस्नको लागि समेत बेन्चहरू राखिनेछ । यो सवारी साधनले झण्झट निम्त्याउने बाटो नभएर केबल पैदलयात्रीको लागि मात्रै खुला ठाउँको रूपमा विकास हुनेछ ।

त्यहाँबाट खुलामञ्चतर्फ लागेपछि खुलामञ्चको माथिपट्टि खाली ठाउँमा ७ वटा कमलको पातयुक्त आकृति राखिनेछ । जसले ७ प्रदेशको संकेत दिनेछ । त्यहाँ ८,८४८ सेन्टिमिटर उचाइको झण्डा राखिनेछ । त्यसको अण्डरग्राउण्डमा सुन्धाराबाट आएका गाडीलाई पुरानो बसपार्कतर्फ डाइभर्ट गर्ने अण्डरपास निर्माण गरिनेछ । माथि विभिन्न सांस्कृतिक कार्यक्रम होस् या अन्य भेटघाटको कार्यक्रमको लागि प्रयोग गर्ने ठाउँ निर्माण हुनेछ ।

त्यसबाट अलिक अघि बढ्दा सैनिक (शहीद) मञ्च आउँछ । जुन नेपाली सेनाले पहिलो विश्वयुद्धमा विगुल फुकेर सबै सेनालाई भेला गराएको ठाउँ हो । त्यसैले इतिहास बोल्ने यो मञ्चलाई नेपाली मौलिक कलाले युक्त भवन बनाएर व्यवस्थित गर्ने योजना छ । यसमा नेपाली सेनाले काम समेत शुरू गरिसकेको छ । त्यसभन्दा अघि बढेपछि ठूलो टुँडिखेल आउँछ । जसलाई नेपाली सेनाको परेड र सर्वसाधारणको प्रयोगमा ल्याउने गरी व्यवस्थित गरिनेछ ।

अर्काेतर्फ भृकुटीमण्डपलाई दुई खण्डमा विभाजन गरिनेछ । टुँडिखेलभन्दा करीब ६ मिटरको कम उचाइमा रहेको भृकुटीमण्डपलाई तल्लो तहमा अहिले खुल्ला बजार रहेको ठाउँलाई व्यवस्थित गरेर त्यसलाई नेपाली उत्पादनको प्रदर्शनी स्थलको रूपमा विकास गर्ने र माथिल्लो तहलाई हरियाली पार्कको रूपमा विकास गर्ने योजना तयार पारिएको छ ।

त्यहाँ रहेको राष्ट्रिय पुस्तकालयलाई पनि व्यवस्थित गर्नेबारे छलफल चलिरहेको छ । भृकुटीमण्डपको उक्त योजनाको लागि समाजकल्याण परिषद्सँग छलफल भएको र यसमा पनि सहमति जुटसकेको छ । यसलाई टुँडिखेलकै तहमा हुनेगरी सिंहदरबारसम्मको क्षेत्र हरियाली बनाइनेछ ।

यता भद्रकालीदेखि धरहरासम्मको क्षेत्रलाई पैदलयात्री एवं टहलिने मार्गको रूपमा विकास गरिनेछ । भद्रकाली र शहीदगेटलाई धरहराको ४२ रोपनी जग्गासँग जोडिनेछ । सवारी साधनलाई अण्डरपासबाट वारपार गर्ने व्यवस्था गरिनेछ भने यो विस्तारलाई रंगशाला मैत्री बनाइनेछ ।

आर्मी अफिसर्स क्लब र आर्मी हेडक्वार्टर अघि रहेको खेलकुद मैदानसम्मको क्षेत्रलाई पनि सार्वजनिक खुला क्षेत्रको रूपमा विकास गरिनेछ । अहिले आर्मी अफिसर्स क्लब रहेको क्षेत्रको तल्लो भागमा रंगशालाको लागि आएका दर्शकको सवारी पार्किङ गर्ने क्षेत्रको रूपमा यसलाई विकसित गरिनेछ । भविष्यमा यसलाई त्रिपुरेश्वरबाट वागमती करिडोरमा जोडेर सिंगै वागमती करिडोरसँग यसको सम्बन्ध जोड्ने योजना बनाइएको छ । तर पहिलो चरणमा रंगशालासम्म मात्रै यसको विस्तार गरिनेछ ।

योसँगै सुन्धारास्थित केन्द्रीय कारागारलाई व्यवस्थित गरेर लोकतान्त्रिक संग्रहालयको रूपमा विकास गरिनेछ । अहिले केन्द्रीय कारागार नुवाकोटको विदुरमा सार्ने काम चलिरहेको छ । त्यहाँ महिला थुनुवा कक्षको रूपमा केही ठाउँ छाडेर बाँकी क्षेत्रमा लोकतन्त्र प्राप्तिको लागि कृष्णप्रसाद कोइराला (वीपी कोइरालाका बुबा)देखिका योद्धाहरूले जेल बसेर कसरी आन्दोलनमा ऊर्जा भरे ? भन्ने स्मरण गराउने संग्रहालय बनाउने योजना छ ।

कसरी बन्यो योजना ?

२०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्पमा भत्किएका संरचना पुनर्निर्माणको अगुवाइ गर्ने गरी सरकारले पुस १० गते राष्ट्रिय पुनर्निर्माण प्राधिकरण स्थापना गर्‍यो । त्यसैको तीन सातापछि माघ २ गते रानीपोखरी पुनर्निर्माणको शिलान्यास राष्ट्रपति विद्यादेवी भण्डारीबाट भएको थियो ।

ज्ञवालीका अनुसार रानीपोखरीको शिलान्यास गर्दै गर्दा टुँडिखेलदेखि रंगशालासम्मको क्षेत्रलाई सिटी सेन्ट्रल पार्कका रुपमा विकास गर्न पाए हुन्थ्यो भन्ने लागेको थियो ।

तर केही लाख निजी आवास, हजारौं विद्यालय तथा सांस्कृतिक सम्पदाहरु पुनर्निर्माणको अगुवाइ गर्ने दायित्व बोकेका बेला ग्रेटर टुँडिखेलको अवधारणा ल्याउँदा न सार्वसाधारणले विश्वास गर्ने अवस्था थियो, न तत्काल काम सुरु हुनसक्थ्यो । यद्यपि उनले आफ्नो सोच राजनीतिक नेतृत्वलाई सुनाए । प्राधिकरणको निर्देशक समितिबाट सात विश्वसम्पदा क्षेत्र, ६ वटा प्राचिन बस्तीका साथै यो क्षेत्र गुरुयोजना बनाउने निर्णय पनि भयो ।

त्यसपछि सरकारसँगै पुनर्निर्माण प्राधिकरणको नेतृत्व फेरबदलको क्रम चलिरह्यो । ३० साउन २०७५ मा पुनः प्राधिकरणको कार्यकारी अधिकृत बनेका ज्ञवालीले बृहत्तर टुँडिखेलका लागि सहमति जुटाउन काम गर्न थाले । अन्य आयोजनाले नियति भाग्नु नपरोस् भनेर पूर्वतयारीमा समय दिएको प्राधिकरणले राजनीतिक सहमति खोज्यो । राष्ट्रपति, प्रधानमन्त्रीले यो योजनामा उत्साहित हुँदै सकारात्मक सुझाव दिएको ज्ञवाली बताउँछन् ।

उपत्यका प्रकृति र संस्कृतिको संगमस्थल रहेको र यसलाई जोगाउँदै काठमाडौंलाई आर्थिक हबको रूपमा विकास गराउन सकिने योजना बनाउन राष्ट्रपतिले चासो दिएको उनले सम्झिए । परियोजनाका स्टेक होल्डरहरु धेरै थिए । उनीहरूको आवश्यकता बमोजिमको व्यवस्थापनको योजना, योजना कार्यान्वयनमा आउनसक्ने व्यवधान सबै पक्षमा गृहकार्य गरिएको छ । यो सबैका लागि मलाई न्यूनतम पनि दुई÷साढे २ वर्ष लाग्यो,’ उनले भने । अहिले यसको कार्यान्वयनका लागि सबै सरोकारवाला निकायहरू सहमत छन् ।

अनि मास्टर प्लान सार्वजनिक

११ वैशाखमा धराहरा उद्घाटनको दिन पारेर पुनर्निर्माण प्राधिकरणले ग्रेटर टुँडिखेलको मास्टर प्लान सार्वजनिक गरेको छ ।

‘केही यस्ता पूर्वाधार खडा नगरेसम्म योजना सार्वजनिक मात्रै गर्दा जनताले सहजै पत्याउन सक्ने अवस्था थिएन । त्यसैले हामीले आन्तरिक रूपमा गर्न सकिने कामलाई पहिलेदेखि नै कार्यान्वयनमा ल्याए पनि यसलाई सार्वजनिक गरेनौं,’ ज्ञवाली भन्छन्, ‘धरहरा ठडिएसँगै मान्छेमा यो नेतृत्व र हाम्रो विकास गतिमा विश्वास बढ्न थालेकाले यो आयोजनाको उद्घोष गर्‍यौं ।’

कसरी अगाडि बढ्छ काम ?

आगामी पुस १० गतेदेखि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको समय सकिंदैछ । यसको समय थप हुने सम्भावना कम छ । तर यति महत्वाकांक्षी योजना कसले सम्पन्न गर्छ ? पुनर्निर्माणका सीईओ ज्ञवालीका अनुसार प्राधिकरणको समय थप हुने सम्भावना कम भए पनि समयअगावै यसले गुरुयोजनालाई पूर्णता दिनेछ । आगामी आर्थिक वर्षको बजेटमा नै यसको लागि केही बजेट व्यवस्थापन गर्न अर्थ मन्त्रालयसँग कुराकानी भइसकेको उनी बताउँछन् ।

योजना कार्यान्वयनका लागि तीनै तहका सरकारलाई सहभागी गराइनेछ । जस अन्तर्गत काठमाडौं महानगरपालिकाका प्रमुख, वागमती प्रदेश सरकारका मुख्यमन्त्री र केन्द्रमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि छलफल भएर विभिन्न क्षेत्रमा कार्यान्वयनको लागि भागबण्डा गरिएको छ ।
त्रिचन्द्र कलेजको हातामा पुनर्निर्माण प्राधिकरणले योजना अनुसार नै काम शुरू गरिसकेको छ । जस अन्तर्गत त्रिचन्द्र कलेजको रेट्रोफिटिङ गर्ने काम शुरू भइसकेको छ । अन्य संरचनाको लागि यही वर्ष टेण्डर आह्वान गर्ने काम समेत शुरू भइसकेको छ ।

थप संरचनाको विकासका लागि भारतीय एक्जिट बैंकबाट डेढ अर्बजति बजेटको व्यवस्थापन समेत गरिसकिएको कार्यकारी अधिकृत ज्ञवालीले जानकारी दिए ।

रानीपोखरीदेखि खुलामञ्चसम्मको संरचना तयार पार्न काठमाडौं महानगरपालिकाले चासो दिएको छ । त्यसको सबै जिम्मेवारी महानगरपालिकालाई दिने तयारी छ । सैनिक मञ्चसहितको संरचनालाई नेपाली सेनाले डिजाइन र निर्माणको काम गर्ने भनेर जिम्मेवारी लिइसकेको छ ।

भृकुटीमण्डपदेखि रंगशालासम्मको कामको शहरी विकास मन्त्रालय र प्रदेश सरकारले गर्ने तय भएको छ । यसरी कार्यान्वयनको जिम्मा दिइसकेपछि समन्वयका लागि एउटा स्ट्याण्डिङ कमिटी वा अन्य यस्तै कुनै निकायले अनुगमन गर्ने हो भने प्राधिकरणकै संरचना आवश्यक नहुने ज्ञवाली बताउँछन् । सम्भवतः त्यस्तो समितिको संरक्षक प्रधानमन्त्री नै रहने उनी बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment