Comments Add Comment

आर्थिक वृद्धिमा मेलम्ची र माथिल्लो तामाकोसी आयोजनाको भर

१९ वैशाख, काठमाडौं । कोरोना महामारी र यसको न्यूनीकरणका लागि अपनाइएका उपायहरुका कारण अर्थतन्त्रमा गहिरो प्रभाव परेको छ । यसका वावजुद सरकारले चालु आर्थिक वर्ष २०७७/७८ मा आर्थिक वृद्धि ४ प्रतिशत हुने अनुमान केन्द्रिय तथ्याङ्क विभागले गरेको छ ।

यो अनुमान बहुराष्ट्रिय संस्था विश्व बैंक र एसियाली विकास बैंकले गरेको अनुमानभन्दा बढी हो । तर, यसका लागि आधार दिइएको विभागका निर्देशक इश्वरीप्रसाद भण्डारी बताउँछन् । उनका अनुसार यो अनुमान ९ महिनाको आर्थिक गतिविधि र वतर्मान निषेधाज्ञाको अवस्था दुई सातापछि हट्छ भन्ने अनुमानका आधारमा गरिएको छ ।

त्यसमा अर्को आधार हो, दुई ठूला पूर्वाधार आयोजना मेलम्ची खानेपानी आयोजना र माथिल्लो तामाकोसी जलविद्यूत आयोजना ।

जीडीपीमा मेलम्चीको योगदान शुरु, तामाकोसी आउँदै

कुल गार्हस्थ उत्पादन जीडीपी)मा तीन क्षेत्रको योगदानलाई केन्द्रिय तथ्यांक विभागले गणना गरेको हुन्छ । त्यसमध्ये पहिलो क्षेत्र प्राथमिक हो । यसमा कृषि, वन, मत्स्य, खानी तथा उत्खनन् पर्छ । दोस्रो क्षेत्र उद्योग र विद्युत तथा ग्याँस, पानीको आपूर्ति तथा निर्माण पर्छ । तेस्रो क्षेत्र सेवा हो ।

यसमा थोक तथा खुद्रा व्यापार, आवास तथा भोजन, यातायात, सञ्चार, भण्डार, संचार, रियल इस्टेट, शिक्षा र स्वास्थ्यसमेत यसमा पर्छ । जीडीपीको वृद्धिदर हेर्दा द्धितीय क्षेत्रको वृद्धिदर ४.९३ प्रतिशत रहने अनुमान छ ।

यसमा मूख्य दुई आयोजनाको भूमिका यो वर्ष बढी हुने निर्देशक भण्डारी बताउँछन् । उनका अनुसार मेलम्ची खानेपानी आयोजनाले अर्थतन्त्रमा योगदान दिन शुरु गरिसकेको छ ।

आर्थिक वृद्धिदरको गणना गर्दा निर्माणाधिन आयोजनाको प्रगति र निर्माण भइसकेपछि त्यसबाट उत्पादन हुने सेवा तथा वस्तुको योगदान रहन्छ ।

‘चालु आवको करीव ८ महिना पानीको आपूर्तितर्फ जीडीपीमा योगदान करीव शून्य अवस्थामा थियो, उनी भन्छन्, जब मेलम्चीको पानी काठमाडौं आयो, यसले उत्पादन शुरु गर्‍यो, यो उत्पादनको अर्थ समग्र अर्थतन्त्रसँग जोडिएको हुन्छ ।’

अर्कोतर्फ आयोजना पुरा भइसक्दा अब यसले राज्यको पुँजीवृद्धिमा समेत सहयोग गर्छ । अहिले विभागले पानी आपूर्ति, ढल फोहोर व्यवस्थापन तथा पुनः उत्पादनका क्रियाकलापमा १.६१ प्रतिशतको वृद्धि हुने अनुमान गरेको छ ।

सरकारले वैशाखभित्रै माथिल्लो तामाकोसी जलविद्युत आयोजनाबाट विद्यूत उत्पादन शुरु भइसक्ने बताएको छ । सोहीअनुसार आएका समाचारका आधारमा विभागले आर्थिक वृद्धिदरको मापनमा उर्जा क्षेत्रको विस्तार हुने अनुमान गरेको छ ।

विद्युत, ग्यास, वाष्प तथा वातानुकिलित आपूर्ति सेवामा ७.७४ प्रतिशतको वृद्धि हुने अनुमान छ । यसो हुुनुमा वैशाख भित्रै माथिल्लो तामाकोसीबाट विद्युत उत्पादन शुरु हुन्छ भन्ने अनुमान हो ।

पहिलो चरणमा चार भागको एक भाग मात्र बिजुली उत्पादन शुरु भएपनि वस्तु उत्पादनको योगदान राज्यको आर्थिक संयन्त्रमा योगदान गर्न थाल्छ । यसले आर्थिक वृद्धिमा सहयोग गर्ने निर्देशक भण्डारीले बताए ।

अर्कोतर्फ पुनर्निर्माणतर्फका कतिपय आयोजना निर्माणको अन्तिम चरणमा छन् । जसले जीडीपीलाई भरथेग गर्ने देखिएको छ । तर, महामारी लामो समय लम्बिने र लक्ष्यअनुसार काम नहुने हो भने पुनः अनुमान अनुसार वृद्धिदर नहुने उनको भनाइ छ ।

महामारीका कारण अहिले सेवा क्षेत्रका केही उपक्षेत्रहरुमा बढी प्रभाव परेको छ । सेवा क्षेत्रतर्फ स्वास्थ्यमा लगानी बढेको पाइएको छ भने आवास, भोजन तथा यातायात क्षेत्रमा नकारात्मक प्रभाव परेको छ ।

कृषिमा यो वर्ष धानको उत्पादन बढेको र माछाको उत्पादन समेत बढेका कारण योगदान सन्तोषजनक नै देखिएको छ ।

यस्तो रहने छ आर्थिक वृद्धि

आव २०७२/७२ : ०.० प्रतिशत

आव २०७३/७४ : ८.६ प्रतिशत

आव २०७४/७५ : ७.७ प्रतिशत

आव २०७५/७६ : ६.४ प्रतिशत

आव २०७६/७७ : -२.१ प्रतिशत

आव २०७७/७८ : ४.०१ प्रतिशत (प्रारम्भिक अनुमान)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment