Comments Add Comment

अचम्मको दूरभाष यन्त्र

कल्पना गर्नुस् त दिनमा २६०० पटक एक अजिब वस्तुको पर्दालाई नियाल्दै बसेको !

‘हैट्, कस्तो पागलजस्तो कुरा गरेको ? कस्तो वाहियात् कुरा गरेको ?’

हो, यस्तै प्रतिक्रिया दिए मेरा मित्रहरूले यो काल्पनिक प्रश्नमा । तर वास्तविकता सुन्दा तपाईंलाई पनि आश्चर्य लग्नसक्छ, हामी औसतमा दिनको २६०० पटक आफ्नो मोबाइल फोनको पर्दा (स्क्रिन) लाई छुँदा रहेछौं ।

यो मोबाइलको तडकभडक सूचना र रङ्गरोगनको जालोमा हामी फसिसकेका रहेछौं । पुरातन ग्रीकका अध्येता सोक्रेटसले भनेका रहेछन् ‘लेखाइले मानिसलाई छिटो बिर्सिने बनाउँछ ।’ लेखाइले मानिसलाई भुलक्कड़ बनाउँछ भन्ने सोक्रेटसले मोबाइल फोनमा घोरिएको व्यक्तिलाई नियाल्न पाएका भए के भन्थे होला ?

मोबाइलले खाना खाँदा होस् वा गाडी चलाउँदा, अवरोध त पुर्‍याउँछ नै, साथसाथै यसको सूक्ष्म प्रभावहरूले हाम्रो मस्तिष्कको वनावटलाई समेत परिवर्तन गरिरहेको हुन्छ । विशेष गरी १९९० को दशकयता हुर्केका युवा र बच्चाहरूको मस्तिष्क वनावट नै भिन्न खालको हुन्छ भन्ने कुरा अमेरिकाको राष्ट्रिय स्वास्थ्य संस्थानले गरेको एक प्रारम्भिक अध्ययनले देखाएको छ ।

धेरै बेर एउटा विषयमा ध्यान दिन नसक्ने, आलोचनात्मक क्षमताको राम्रो विकास नहुने, सामान्य कुराहरू सम्झन पनि हम्मेहम्मे पर्ने जस्ता समस्याहरू देखापर्ने गरेका छन् । २५ वर्ष उमेर कटेकालाई त सम्झना होला आफ्ना आफन्तहरूको ल्याण्डलाइन नम्बर र साथीहरूको जन्म दिन ।

तर आजकल फोनमा आउने बिहानको संकेतले थाहा दिन्छ साथीभाइको जन्म दिन र वार्षिकोत्सव । अनि वर्षौंसम्म भेटघाट कुराकानी नभएको भए पनि हतारहतार चम्किला तस्वीरहरू खोजीखोजी हाल्न फोनको ग्यालरीमा डुबुल्की मार्छौं हामी । कति ओइलाएका हामी ? मंसीरको सन्ध्यामा लम्पसार भुइँमा लडेको पारिजात जस्तै !

पुरातन ग्रीकका अध्येता सोक्रेटसले भनेका रहेछन् ‘लेखाइले मानिसलाई छिटो बिर्सिने बनाउँछ ।’ लेखाइले मानिसलाई भुलक्कड़ बनाउँछ भन्ने सोक्रेटसले मोबाइल फोनमा घोरिएको व्यक्तिलाई नियाल्न पाएका भए के भन्थे होला ?

टेबलमा राखेको मोबाइलले हाम्रो संवादलाई अल्झाएको अनुभव त तपाईंले पनि गर्नुभएकै होला । यो अचम्मको यन्त्र हाम्रो छेउमा छ भने सम्झन सक्ने र समस्या हल गर्न क्षमता समेतमा कमी आउँछ । यदि तपाईंको मोबाइल हातमा छ भने बाटोमा अपरचितलाई सहयोग गर्ने त परको कुरा भयो मुस्कान फर्काउने सम्भावना समेत शून्य भएर जान्छ ।

अस्पताल, कक्षा कोठा, बस कुर्ने जस्ता ठाउँमा दुई ओठ टाँसी घोरिएर मोबाइल चलाएको दृश्य झन् झन् बाक्लिंदै गएको छ आजभोलि । शहरी घरमा बेलुका जमघटका बेला त्यो अदृश्य अन्तरजाल फाल्ने यन्त्रलाई भ्याई नभ्याई हुन्छ । अनि बच्चाहरू टाँसिएको ओठ विस्फोटन भई आवाज आउँछ ‘नेटल्याङग भएर मार्दियो यार’ । अझ सिधा अनुहार जुधाएर हुने संवाद झनै अपवाद हुँदैछ ।

मोबाइल फोनको संख्या बढेसँगै किशोर र युवाहरूमा मानसिक समस्या पनि ह्वात्तै उकालो लागेको छ । सामाजिक कौशल र संवेदनाहरू पढ्नसक्ने क्षमतामा न्यून विकास हुन थालेको अन्वेषकहरूको खोजले देखाउँछ ।

इन्टरनेटबाट पोखिने सूचनाको आँधीले झन् मानिसलाई चरम वैचारिक कुनाहरूतर्फ धकेलिदिएको छ । विभिन्न एप्स्, सामाजिक सञ्जाल, सञ्चारमाध्यममार्फत नयाँ चेत र अवधारणा निर्माण गर्न मुश्किल हुँदै गएको छ । यी सबै माध्यमहरू यसरी बनाइएका हुन्छन् कि तपाईंको क्रियाकलापमा मेल खाने र तपाईंलाई मनपर्ने सूचनालाई मात्र प्राथमिकताका साथ देखाइन्छ ।

तपाईंले कुकुरको फोटो हाल्नुहुन्छ, कुकुरको खानाको विज्ञापन देखाइन्छ, एयरपोर्ट नजिक जानुहुन्छ, हवाईजहाजका टिकटको वौछार हुन्छ, कम्युनिष्ट बारे खोज्नुहुन्छ, कार्ल माक्र्स र लेनिनले मोबाइललाई समात्छन्, लोकतन्त्रबारे खोज्नु हुन्छ, अमेरिकी सञ्चारमाध्यमले छपक्कै छोप्छन् ।

एक दिन एउटा हातमा मोबाइल र अर्कोमा चिया बोकेर पसलमा हाम्रा काका भन्नुहुन्छ, ‘कोरोना त चीनले प्रयोगशालामा बनाएको हो नि’, अनि अर्को दिन भन्नुहुन्छ, ‘गौमूत्र खायो भने ग्यारेन्टी कोरोना भाग्छ ।’

हो यो सबको कारण मोबाइल र त्यसमा भएका एप्सका एल्गोरिथ्मको कारण भएको हो । हाम्रो आफ्नो चेतले भन्दा पनि, शारीरिक, मानसिक र सामाजिक सबै रूपमा मोबाइलले हामीलाई सर्पलाई विनले नचाए झैं नचाउँछ ।

तर यति भन्दै गर्दा ‘भोलिदेखि म मोबाइल चलाउँदिन’ भन्ने दिन आउँछ भन्न चाहिं सकिंदैन । विद्यार्थीलाई गृहकार्यदेखि हजुरबुवालाई भजन सुन्नसम्म, साथीभाइ भेटघाटदेखि अन्तर्राष्ट्रिय बैठकसम्म, प्रेमीको रोमान्टिक गफदेखि परदेशीको रोदनसम्म, टेलिभिजनको सिरियलदेखि रेडियोको समाचारसम्म सबै मोबाइलले सम्भव बनाएको छ ।

 मोबाइल फोनको संख्या बढेसँगै किशोर र युवाहरूमा मानसिक समस्या पनि ह्वातै उकालो लागेको छ । सामाजिक कौशल र संवेदनाहरू पढ्न सक्ने क्षमतामा न्यून विकास हुन थालेको अन्वेषकहरूको खोजले देखाउँछ ।

जापानदेखि अलास्कासम्मका समाचार हाम्रो औंलाको टुप्पोको इशारामा आउने गर्छन् । अबका केही वर्षमा मानसिक रोगको उपचारका लागि मोबाइल गेम(खेल) को प्रयोगको तयारीमा लागेका छन् केही वैज्ञानिक ।

हाम्रो जीवन यस यन्त्रको आगमनले कायापलट नै गरिदिएको छ । झन् अहिलेको निषेधाज्ञाको बेला मोबाइलका कारण घरमा समय कटाउन निकै ठूलो मद्दत भएको छ । विद्यार्थीको अनलाइन कक्षा र परीक्षा समेत मोबाइलले सम्भव बनाएको छ । अभिभावकलाई समय गुजार्न ठूलो उपाय बनेको छ ।

त्यसो भए हामी किन यति डराइरहेका ? किन वैज्ञानिकहरू मोबाइलदेखि सतर्क हुन भनिरहेका छन् ? जुन व्यवहार र कार्यले मानिसलाई ‘मानिस’ बनाउँछ त्यो व्यवहार नै लोप भयो भने हामीलाई मानिस भन्न मिल्छ कि मिल्दैन ? डर यै हो ।

मोबाइलले मानिस र अन्य जनावरमा हुने भिन्नतालाई मेटाउँदै लागेको छ । मोबाइल र मानिसलाई अलग्याउन नसकिने भएकाले यसबीच सन्तुलन खोज्नु आजको चुनौती बनेको छ । प्रविधिलाई सञ्चालन गर्ने हाम्रो चल्दै आएको ढाँचा पुनरावलोकन गर्ने बेला आएको छ । फुर्सदको समयमा साथीभाइ आफन्तजन भेट्दा घोप्टो परेर बस्नुभन्दा उनीहरूले बोलेका कुरामा अलि ध्यान दिएर सुन्ने बानी बसालौं ।

सा–साना बच्चाहरू ठूलाले जे गर्‍यो त्यही सिक्न खोज्छन्, त्यसैले बच्चाका अगाडि घन्टौंसम्म मोबाइल चलाउने बानी नगरौं । तीन वर्षभन्दा मुनिका बच्चाहरूलाई सकेसम्म मोबाइलबाट टाढा राखौं । हामी धेरै जनालाई सुत्नु भन्दा अगाडि मोबाइल नचलाए रात नै उजाड लाग्ने गर्छ ।

राति सुत्ने समयमा डिजिटल पर्दाको नीलो प्रकाश हेर्नाले हाम्रो आँखा र निद्राको गुणस्तर दुवैमा असर पुर्‍याउँछ । त्यसैले राति सकेसम्म नीलो प्रकाश फाल्ने पर्दाहरूबाट टाढा बसौं ।

इन्टरनेटमा देखिएका सबै समाचार र खबरमा विश्वास नगरौं । विभिन्न सञ्चारमध्यम र पत्र–पत्रिकामा समाचारको वैधता खोजौं । मोबाइलमा आउने आवाजसहितको सूचांकलाई बन्द गरौं । यस्ता उपायहरू अपनाए यस यन्त्रका कारण उत्पन्न हुने नकारात्मक समस्या न्यूनीकरण हुनुका साथै डिजिटल यन्त्र र मानव बीचको सम्बन्ध सुमधुर र सन्तुलित हुँदै जानेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment