+
+
Shares

बाढी पहिरोबाट क्षति पुगेका घर पुनर्निर्माणका लागि अनुदान दिन थालियो

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख २० गते १८:३५
फाइल तस्वीर

२० वैशाख, काठमाडौं । गत वर्ष बाढी र पहिरोबाट क्षति पुगेका घर पुनर्निर्माण तथा पुनर्स्थापना लागि सरकारले अनुदान रकम दिन शुरु गरेको छ । सोमबार पहिलो चरणमा म्याग्दीमा २४७ वटा निजी घर पुनर्निर्माण तथा पुनर्स्थापना लागि एक करोड ८ लाख ९७ हजार ५ सय रुपैयाँ पठाइएको छ ।

राष्ट्रिय विपद व्यवस्थापन तथा न्यूनीकरण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल पोखरेलका अनुसार विपदबाट आवासविहीन बनेका नागरिकलाई अनुदान दिन बनेको कार्यविधिअनुसार रकम वितरण थालिएको हो ।

विपदबाट प्रभावित विभिन्न जिल्लामा अनुदान वितरणका लागि सरकारले २० करोड रुपैयाँ प्रदान गरेको थियो । म्यादीपछि अन्य प्रभावित जिल्लामा पनि क्रमशः अनुदान वितरण गरिने पोखरेलले बताए ।

यसअघि गृहमन्त्री रामबहादुर थापा बादलको अध्यक्षतामा बसेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले मनसुनजन्य विपद् प्रभावित निजी आवास पुनर्निर्माण तथा पुनर्स्थापना अनुदान कार्यविधि, २०७७ लाई स्वीकृत गरेको थियो । त्यसअनुसार अनुदान रकम वितरण गर्न थालिएको हो ।

कार्यविधिअनुसार अस्थायी आवास निर्माणका लागि दुई किस्तामा ५० हजार रुपैयाँ र पुनर्स्थापना वा पुनर्निर्माणका लागि हिमाली जिल्लामा ५ लाख, पहाडी जिल्लामा ४ लाख र तराईका जिल्लामा तीन किस्तामा गरेर ३ लाख रुपैयाँ दिइनेछ ।

घडेरी अनुदानमा बढीमा ३ लाख रुपैयाँसम्म दिइने भनिएको छ । मर्मत वा प्रबलीकरण अनुदानमा ५० हजार रुपैयाँ दिने भनिएको छ । तर उक्त रकम काम सम्पन्न भएपछि मात्रै एकमुष्ट दिइनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?