Comments Add Comment

कोभिड अस्पताल सञ्चालन गर्न काठमाडौं महानगरले बनायो अध्ययन समिति

२० वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाले कोभिड-१९ बाट संक्रमितहरुको उपचारका लागि ‘कोभिड अस्पताल’ सञ्चालनको गृहकार्य थालेको छ । महामारी सुरु भएको एक वर्षपछि महामनगरको कार्यपालिका बैठकमा पहिलो पटक कोभिड अस्पताल सञ्चालनबारे छलफल भएको हो ।

महानरका प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको ६१ औं कार्यपालिका बैठकमा ‘कोभिड-१९ महामारी व्यवस्थापन’ सम्बन्धमा राखिएको प्रस्तावमा छलफल गर्दै सुविधा सम्पन्न आइसोलेसन र कोभिड अस्पतालको उपयुक्त विकल्पसहितको प्रस्ताव पेश गर्न वडा ३ का अध्यक्ष दीपक केसीको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरेको छ ।

समितिको सदस्यहरुमा वडा ६ का अध्यक्ष दिपेन्द्र लामा, ७ का अध्यक्ष शुद्धकुमार डंगोल, वडा २२ का अध्यक्ष चिनीकाजी महर्जन, ३० का अध्यक्ष दलबहादुर कार्की, ३१ का अध्यक्ष नारायण भण्डारी सदस्य छन् ।

समिति गठनपछि बैठकका अध्यक्षका अध्यक्ष एवम् प्रमुख शाक्यले गएको वर्षभन्दा यसपटक अवस्था फरक भएको बताए ।

‘शंका भएका व्यक्तिलाई जाँच गराएर क्वारेन्टिनमा बस्न प्रोत्साहित गर्नुपर्ने, पर्याप्त आइसोलेसन वार्डहरु तयार गरिनुपर्ने र महानगर आफैंले कोभिडको अस्पताल नै बनाउनु पर्ने भएको छ,’ उनले भने,’ क्वारेन्टिन निर्माण गर्ने, आइसोलेसन बनाउने र आवश्यकताका आधारमा अस्पतालसम्म बनाउने प्रयोजनका लागि हामीले महानगरभित्र होटल, पार्टी प्यालेस, स्थापना भएर चलेका र नचलेका केही अस्पतालहरुको अवलोकन गरेका छौँ ।’

केही प्रस्तावहरु पेश भएको उनले बताए । प्राप्त भएका र छलफल गरिएका विभिन्न ढाँचामध्ये कुन उपयुक्त हुन्छ भनेर अध्ययन हुने उनले बताए ।

समितिले आइसोलेसन सञ्चालन वडा तहबाट गर्ने कि महानगर तहबाट गर्ने भन्ने सम्बन्धमा सुझाव दिनेछ । जटिल स्वास्थ्य समस्या भएकालाई उपचार गर्न आवश्यक उपकरणसहितको उपचार कक्ष निर्माण गर्ने विषयमा सिफारिस पनि गर्नेछ ।

‘पूर्वाधार र जनशक्ति भएका स्वास्थ्य संस्थासँग सहकार्य गर्न पाइयो भने छिटै सेवा व्यवस्थापन गर्न पाइन्छ,’ प्रमुख शाक्यले भने ।

बैठकमा गएको वर्ष १० करोड रुपैयाँ राखेर स्थापना गरिएको कोभिड कोषबाट करिब ५ करोड रुपैयाँ खर्च भएको, एम्बुलेन्स सञ्चालनका लागि संयुक्त एम्बुलेन्स चालक संघसँग सहकार्य थालिएको जानकारी गराए ।

महानगरले तर्जुमा गर्ने महामारी नियन्त्रणका कार्यक्रममा डा. गणेश गुरुङ्, डा. अर्जुन कार्की, डा. अनुप सुवेदी र डा. सरद वन्तलाई स्वास्थ्यविज्ञका रुपमा आमन्त्रण गर्ने बैठकले निर्णय गरेको छ ।

आजको बैठकले, ‘मानव बेचविखन तथा ओसारपसार (नियन्त्रण) स्थानीय समिति गठन तथा व्यवस्थापन सम्बन्धि कार्यविधि-२०७८’ र ‘छात्रवृत्ति कार्यविधि – २०७८’ तर्जुमा गर्न सहमति दिएको छ ।

यस्तै छत्रपाटी निःशुल्क चिकित्सालय र ब्रहृमकुमारी राजयोग सेवा केन्द्रको भवन नक्सा पास दस्तुर मिनाहा गर्ने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment