Comments Add Comment

एमालेका ६ सांसद संक्रमित, ओलीलाई विश्वासको मत दिन पाउलान् ?

२१ वैशाख, काठमाडौं । वरिष्ठ नेता झलनाथ खनालसहित नेकपा एमालेका ६ जना सांसद् कोरोना संक्रमित भएका छन् । नेता खनालको उपचार नर्भिक अस्पतालमा भइरहेको छ ।

संक्रमित हुनेमा दुई जना संघीय सरकारकै मन्त्री छन् । पर्यटन मन्त्री भानुभक्त ढकाल र महिला, बालबालिका तथा समाज कल्याण मन्त्री जुली महतोलाई कोरोना संक्रमण भएको छ । तीन दिन अगाडि मन्त्रीहरू ढकाल र महेतोलाई संक्रमण पुष्टि भएको हो ।

पूर्वमन्त्री रघुवीर महासेठलाई पनि संक्रमण भएको छ । एमालेका प्रमुख सचेतक विशाल भट्टराईका अनुसार विमला विक र सरिता न्यौपानेलाई पनि कोरोना संक्रमण भएपछि उपचारत छन् ।

खनालबाहेक बाँकी पाँचै जना अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली निकट सांसद हुन् । प्रधानमन्त्रीले विश्वासको मत लिने भएपछि २७ वैशाखमा प्रतिनिधिसभाको विशेष अधिवेशन बोलाइएको छ ।

विशेष अधिवेशनको समय नजिकिए पनि संक्रमित सांसदको संख्या थपिदै गएपछि संसद् सचिवालय र स्वयं एमाले पनि अन्योलमा परेको छ । संक्रमित सांसदले विश्वासको मत लिने बैठकमा भाग लिने पाउने र मतदानमा सामेल गराउनेबारे अन्योल देखिएको हो ।

सभामुख अग्निप्रसाद सापकोटा र संसद् सचिवालयले यसबारे निर्णय लिन सोमवार चिकित्सकहरुको सुझाव लिएको छ । तर यसबारे कुनै निर्णय लिइएको छैन ।

चिकित्सकको सुझावका आधारमा कार्यव्यवस्था परामर्श समितिको बैठकमा राखेर दलहरुको सुझाव लिएपछि यसबारे निर्णय लिने सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले बताए ।

संक्रमित सांसदलाई कसरी सहभागी गराउनेबारे छलफल चलिरहेको संघीय संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले बताए । ‘विशेष व्यवस्था गरेर भएपनि प्रधानमन्त्रीले विश्वासको मत लिँदा सांसदले मत हाल्ने व्यवस्था मिलाउनुपर्ने हुन्छ । त्यसका लागि छलफल चलिरहेको छ’, पाण्डेले भने ।

तर निर्णय चाहिँ भइसकेको छैन । बरू बुधवार सांसदहरुलाई कोरोना परीक्षणका लागि बोलाइएको छ । संसद् बैठक २७ वैशाख दिउँसो १ बजे बस्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment