Comments Add Comment

एमालेका लुम्बिनी प्रदेशसभा सदस्य डाँगीले दिए राजीनामा

२२ वैशाख, बुटवल । लुम्बिनीमा नेकपा एमालेका प्रदेशसभा सदस्य अमरबहादुर डाँगी क्षेत्रीले राजीनामा दिएका छन् । दाङ २ (ख) बाट प्रत्यक्ष निर्वाचित डाँगीले बुधबार प्रदेशसभाका सभामुखलाई राजीनामा पत्र बुझाएका हुन् ।

१९ गते एमाले संसदीय दलको बैठकमा अनुपस्थित डाँगीले राजीनामा पत्रमा प्रधानमन्त्री केपी शर्मा ओलीका साथै प्रदेश सरकारप्रति असन्तुष्टि जनाएका छन् ।

प्रधानमन्त्री ओलीले संसद विघटन गरेर दुई तिहाइ बहुमतको बर्खिलाप, कम्युनिष्ट आन्दोलन र लोकतान्त्रिक प्रणालीलाई नै तहसनहस पारेको, संविधान, विधि र प्रक्रियाको चीरहरण गरेको र मुलुकलाई अस्थिरतातर्फ धकेलेको उनले बताएका छन् । कतिपय प्रदेशमा गलत लोकतान्त्रिक संस्कृतिको सुरुवात भएको भन्दै उनले राजीनामा पत्रमा भनेका छन्, ‘उच्च रक्तचापको बिरामी राजनीतिक खिचातानीबाट मुक्त भई आराम गर्न चाहन्छु ।’

डाँगीले कम्युनिष्ट आन्दोलन र बृहत् वाममोर्चाको पक्षमा रहने प्रतिबद्धता समेत जनाएका छन् ।

आइतबार बिहान मुख्यमन्त्रीबाट राजीनामा दिएका शंकर पोखरेलले एकल बहुमतको सरकारमा दाबी गरेपछि एमालेका सांसदहरुले विद्रोह गरेका थिए । एमालेकै प्रदेशसभा सदस्य दृगनारायण पाण्डेले राजीनामा दिएका थिए भने तत्कालीन नेकपाबाट प्रदेशसभामा निर्वाचित विमला वलीले माओवादी केन्द्र रोजेकी थिइन् ।

सूर्य चुनाव चिह्नबाट चुनाव लडेका स्वतन्त्र राजनीतिक समूहका धर्मबहादुर लाल श्रीवास्तव र अजय शाही पनि नयाँ सरकार गठनको पक्षमा उभिएका थिए । तर श्रीवास्तव र शाही पोखरेलको पक्षमा फर्किएका थिए । श्रीवास्तव मन्त्री समेत भइसके ।

तर मुख्यमन्त्री पोखरेलको संकट टरेको छैन । डाँगीले राजीनामा दिएपछि एमालेसँग ३८ सांसद छन् । जबकि ७९ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४० मत चाहिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment