Comments Add Comment
विपतको बेला प्रधानमन्त्री कार्यालयले बनायो कार्ययोजना :

‘अक्सिजन सिलिण्डरको संख्या दुई दिनभित्र निर्धारण गर्ने, निर्माण क्षेत्रबाट फिर्ता गर्ने’

२३ वैशाख, काठमाडौं । कोरोना संक्रमणको दोस्रो लहरले देश आक्रान्त भइरहेको बेला अस्पतालहरुलाई आवश्यक अक्सिजन सिलिण्डरको संख्या र वितरणको मापदण्ड निर्धारणको प्रक्रिया सुरू गरिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले आवश्यक परेको अक्सिजन सिलिण्डरको संख्या दुई दिनभित्र निर्धारण गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई भनेको छ । सो संख्याको आधारमा अक्सिजन आपूर्तिको व्यवस्था मिलाउन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई जिम्मेवारी दिइएको छ ।

कोरोना संक्रमणको महामारीले शय्या र अक्सिजन अभावमा संक्रमितहरुले ज्यान गुमाइरहेको समाचार सार्वजनिक भइरहेको विपदको यो घडीमा बिभिन्न मन्त्रालय र सरकारका निकायहरुले गर्नुपर्ने काम निश्चित गरी त्यसको समयसीमासमेत तोकिएको छ।

‘बुधबार मुख्य सचिव (शंकरदास बैरागी) ज्यूको अध्यक्षतामा कोभिड सहजीकरणको बैठकले गरेको सिफारिसको आधारमा उपप्रधानमन्त्री (ईश्वर पोखरेल) ज्यूको अध्यक्षतामा बसेको बैठकले निर्देश गरेअनुसार कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारका लागि समय–समयमा गरेको आदेश र प्रधानमन्त्रीज्यूले वैशाख २० गते गर्नु भएको सम्बोधनको कार्यान्वयनका सम्बन्धमा बिभिन्न कार्ययोजना बनाइएको छ । बिभिन्न मन्त्रालय र निकायलाई तोकिएको जिम्मेवारी पनि त्यही कार्ययोजनाअनुसार हो,’ प्रधानमन्त्री कार्यालयका प्रवक्ता किरणराज शर्माले भने ।

‘अस्पतालहरुको क्षमता, विरामी संख्या, उपचारको प्रकृति, आइसियू शय्या र भौगोलिक सन्तुलनका आधारमा मापदण्ड बनाइ बैशाख २४ गतेभित्र ती अस्पतालहरुलाई आवश्यक पर्ने अक्सिजन सिलिण्डरको संख्या निर्धारण गर्ने’ प्रधानमन्त्री कार्यालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई दिएको जिम्मेवारीमा लेखिएको छ ।

स्वास्थ्य मन्त्रालयले निर्धारण गरेको संख्याअनुसार अक्सिजन आपूर्ति गर्न अक्सिजन उद्योग र अस्पतालबीच सम्बन्ध स्थापित गर्ने, आवश्यकता अनुसार अस्पतालहरुलाई अक्सिजन उद्योग डेडिकेटेड गर्ने जिम्मेवारी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई दिइएको छ ।

कार्ययोजना अनुसार अस्पतालहरुमा रहेका अक्सिजन प्लान्ट आवश्यक मर्मतसम्भार गरी वैशाख २४ गतेभित्र सन्चालनमा ल्याउन सम्बन्धित अस्पताललाई नै जिम्मेवारी दिइएको छ । यो काममा स्वास्थ्य मन्त्रालय र उद्योग मन्त्रालयलाई सहयोगीको रुपमा रहने छन् ।

सरकारी अस्पतालहरुमा रहेका अक्सिजन प्लान्ट मर्मतसम्भारका लागि आवश्यकताअनुसार स्रोत उपलब्ध गराउन स्वास्थ्य मन्त्रालय र अर्थमन्त्रालयलाई जिम्मेवारी तोकिएको छ ।

निर्माण क्षेत्रमा रहेका अक्सिजन सिलिण्डर फिर्ता गर्नू

आवश्यकताभन्दा बढी अक्सिजन सिलिण्डर होल्ड गर्ने अस्पताल, व्यक्ति वा अन्य संघसंस्थाबाट अक्सिजन सिलिण्डर नियन्त्रणमा लिई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्धारण गरेको संख्याअनुसार कोभिड अस्पतालहरुमा वैशाख २३ गतेभित्र उपलब्ध गराउन पनि प्रधानमन्त्री कार्यालयले निर्देशन दिएको छ । यो कामको जिम्मा सिसिएमसीसँग समन्वय गरी उद्योग र गृह मन्त्रालयलाई दिइएको छ ।

साथै देशभरका अक्सिजन उद्योगहरुको अनुगमन गरी वैशाख २३ गतेभित्र पूर्ण क्षमतामा सन्चालन गर्ने व्यवस्था मिलाउन उद्योग मन्त्रालयलाई भनिएको छ । अक्सिजन उद्योगहरुमा विद्युत र खानेपानीको निरन्तर आपूर्ति गर्न सिंचाइ, ऊर्जा तथा जलस्रोत र खानेपानी मन्त्रालयलाई जिम्मेवारी तोकिएको छ ।

उद्योग तथा निर्माण क्षेत्रमा रहेका अक्सिजन सिलिण्डर सम्बन्धित अक्सिजन उद्योगमा फिर्ता गराउन गृहमन्त्रालयलाई निर्देशन दिइएको छ । यो काम वैशाख २४ गतेभित्र गर्न प्रधानमन्त्री कार्यालयले निर्देशन दिएको छ ।

साथै परराष्ट्र मन्त्रालयलाई भारतबाट लिक्विड अक्सिजन आयातका लागि तत्काल कूटनीतिक पहल गर्न पनि भनिएको छ ।

हेर्नुहोस् प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले बनाएको कार्ययोजना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment