२५ वैशाख, धनगढी । कैलालीको वसन्ता वनमा हुलाकी राजमार्ग विस्तारका लागि रुख कटान कार्य शुरु भएको छ । रुख काट्ने कामको थालनीसँगै सो निर्माणाधिन राजमार्गको कामले गति लिने भएको छ ।
वनको कानूनी अडचनका कारण दुई किलोमिटर खण्डमा हुलाकी राजमार्गको काम रोकिएको थियो । दश दिनसम्ममा रुख काट्ने काम सम्पन्न गरेर राजमार्ग निर्माणको काम अघि बढाइने हुलाकी राजमार्ग आयोजनाका इञ्जिनीयर पदम मडैले बताए ।
वसन्ता वनक्षेत्रमा पर्ने १८ किलोमिटर मध्ये १६ किलोमिटर सडकखण्डमा कालोपत्रे गर्ने काम सम्पन्न भइसकेको आयोजना कार्यालयले जनाएको छ । कैलारी गाउँपालिकाको बैजपुरदेखि वसन्ता सवडिभिजन वन कार्यालयसम्म बाँकी रहेको दुई किलोमिटरमा राजमार्ग विस्तारका लागि रुख कटानको कार्य अगाडि बढाइएपछि आयोजनाको काम अघि बढेको हो ।
गएको फागुन महिनामा मन्त्रिपरिषद बैठकले रुख कटानको आदेश दिने निर्णय गरेको दुई महिनापछि रुख हटाउने काम अगाडि बढेको हो । सो खण्डमा १०० वटा रुख हटाउन आवश्यक रहेको आयोजना कार्यालयको भनाइ छ ।
सो खण्डको ठेक्का अवधि जेठ मसान्तसम्म रहेको छ भने तुण्डी, प्रेरा, चन्द्रा एण्ड वसन्ता जेभीले निर्माणको ठेक्का पाएको जनाइएको छ । आयोजनाको ठेक्का २०७३ सालमा भएको थियो ।
प्रतिक्रिया 4