Comments Add Comment

वीरगञ्ज आइपुग्यो १५० थान रेम्डिसिभिर

फाइल तस्वीर

२५ वैशाख, वीरगञ्ज । वीरगञ्जको नारायणी अस्पतालमा १५० थान रेम्डिसिभिर आइपुगेको छ । शनिबार बिहान १५० थान रेम्डिसिभिर अस्पतालको फार्मेसीमा आइपुगेको नारायणी अस्पतालले जानकारी गराएको छ ।

रेम्डिसिभिर कोरोना संक्रमितका लागि उपयोगी मानिएकोले बढी माग भइरहेको छ । सरकारी दररेटमा अस्पतालले उपलब्ध गराउन नसक्दा चर्को मूल्यमा सर्वसाधारणले कालोबजारीयाहरुबाट खरिद गरेर प्रयोग गर्न बाध्य छन् ।

नारायणी अस्पतालका प्रवक्ता डा. सरोज सिंहले शनिबार विज्ञप्ति जारी गर्दै रेम्डिसिभिर आएको जानकारी गराएका छन् । अस्पतालमा आएको रेम्डिसिभिर सरकारी दररेटमै आवश्यकताको आधारमा चिकित्सिकको सिफारिसमा संक्रमितलाई वितरण गरिने विज्ञप्तिमा उल्लेख छ ।

यसअघि ५४ भाइल रेम्डिसिभिर अस्पतालमा पठाइएको भनिएपनि नआएको अस्पतालले जनाएको छ । नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सञ्जय ठाकुरले मेडी कन्र्सनले ५४ थान रेम्डिसिभिर उपलब्ध नगराएको दाबी गरे ।

‘भारतले रेम्डिसिभिर निर्यातमा रोक लगाइदियो, काठमाडौंमा नपाएर मारामार छ । हामीले कहाँबाट ल्याउने ?,’ उनले भने ‘बंगलादेशबाट आएको तीन हजार भाइलमध्ये औषधि व्यवस्था विभागले नारायणीलाई ५४ भाइल भनेर राखेको छ । तर हामीकहाँ आएकै छैन । दोस्रो लटको १५० थान बल्ल बिहान आइपुगेको छ ।’

यसअघि नारायणी अस्पतालमा रहेको मौज्दातमध्ये ५० थान संक्रमितलाई वितरण गरिएको अस्पतालका कोभिड संयोजक सरोजरोशन दासले जानकारी दिए ।

संक्रमितको उपचारमा खासै प्रभावकारी नदेखिएपनि रेम्डिसिभिरको माग अस्वभाविक देखिएको उनको भनाइ छ । ‘विश्व स्वास्थ्य संगठनले नै रेम्डिसिभिरको खासै भूमिका छैन भनिसकेको छ, गम्भीर अवस्थामा पुग्नु अघिको अवस्थामा केही प्रतिशतलाई फाइदा भएको छ ।’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment