Comments Add Comment

भैरहवाको युनिभर्सल अस्पतालले कोरोनाका थप बिरामी भर्ना नलिने

२६ वैशाख, बुटवल । आवश्यकता अनुसार अक्सिजन सिलिण्डर आपूर्ति नभएको भन्दै भैरहवाको युनिभर्सल कलेज अफ मेडिकल साइन्सेसले नयाँ कोभिडका बिरामी भर्ना नलिने भएको छ ।

अस्पतालले कोरोना संक्रमितसहित दैनिक रुपमा दुई सय जना गम्भीर प्रकृतिका बिरामीहरुको उपचार गर्दै आएकोमा अक्सिजनको अभावमा उपचार गाह्र्रो भएकाले नयाँ कोरोना संक्रमितलाई भर्ना गर्न सकिने जनाएको हो । मेडिकल कलेजका मेडिकल सुपरिटेण्डेण्ट प्राध्यापक डा. साधन मुखीले आइतबार विज्ञप्ति जारी गर्दै अक्सिजनको नियमित आपूर्तिको व्यवस्था नभएसम्म सीमित बेड मात्र सञ्चालनमा ल्याउने उल्लेख गरेका छन् ।

दैनिक सात सयभन्दा बढी सिलिण्डर अक्सिजनको नियमित आपूर्ति हुनुपर्नेमा हाल दुई सय सिलिण्डर पनि आपूर्ति हुन नसकेकाले उपचार प्रभावित भएको कलेजको भनाइ छ । अक्सिजन अभावले असहज परिस्थिति भएकाले सोमबारदेखि नियमित बेड मात्र सञ्चालन गर्ने कलेजले जनाएको छ ।

स्थानीय प्रशासनले दैनिक ४२० वटा सिलिण्डर दिने प्रतिवद्धता जनाएको तर १६८ वटा मात्र सिलिण्डर आपूर्ति भएकाले बिरामीलाई उपचार गर्न कठिन भएको कलेजका सूचना अधिकारी सुशील गुरुङले बताए ।

मेडिकल कलेजमा अहिले कोभिड बिरामीका लागि १० वटा आईसीयू र ९० वटा एचडीयू बेड रहेका छन् । योसँगै थप ६० बेडको थप आइसोलेसन निर्माण सम्पन्न भएको तर अक्सिजन अभावमा सञ्चालनमा ल्याउन नसकेको गुरुङले बताए ।

‘आइसोलेसन सञ्चालनमा आउँदा अस्पताललाई प्रतिदिन १ हजार अक्सिजन सिलिण्डर आवश्यक पर्छ तर दुई सय सिलिण्डर पनि आपूर्ति नभएपछि कसरी उपचार दिन सकिन्छ ?,’ गुरुङले प्रश्न गरे ।

युनिभर्सल मेडिकल कलेज जस्तै लुम्बिनी  प्रादेशिक अस्पताल बुटवलमा पनि आवश्यकता अनुसार अक्सिजन आपूर्ति नहुँदा अस्पतालले नयाँ बिरामी भर्ना लिन सकेको छैन ।

अस्पतालमा दैनिक सरदर ४१० सिलिण्डर अक्सिजन खपत भइरहेको तर मुस्किलले ३३० देखि ३५० सिलिण्डर आपूर्ति भइरहेको मेडिकल सुपरिटेण्डेन्ट डा. राजेन्द्र खनालले बताए । ‘अहिले पनि दैनिक एक सय सिलिण्डर कमी भएको छ, यसले गर्दा अक्सिजन सपोर्टमा उपचार गराइरहेका संक्रमित र अन्य बिरामीलाई कतिखेर के हुन्छ भन्न सक्ने अवस्था छैन ।’ अस्पताललाई हाल दैनिक कम्तीमा पाँच सय सिलिण्डर अक्सिजन आपूर्तिको सुनिश्चितता सरकारले गरिदिए कोरोना संक्रमित र अन्य जटिल अवस्थाका बिरामीलाई बचाउन सकिने उनले बताए ।

भैरहवाको भीम अस्पतालमा पनि अक्सिजन अभावका कारण नयाँ बिरामीलाई भर्ना लिन सक्ने अवस्था नरहेको सूचना अधिकारी डा. नारायण पोखरेलले बताए । अस्पताललाई हाल दैनिक चार सय सिलिण्डर अक्सिजन आवश्यक रहेको तर आपूर्ति जम्मा २ सय सिलिण्डर हुने गरेको पोखरेलले बताए ।

रुपन्देहीमा अस्पतालहरुका लागि दैनिक २ हजार सिलिण्डर अक्सिजन आवश्यक पर्ने स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा. राजेन्द्र गिरी बताउँछन् । तर अहिले करिब ९ सय सिलिण्डर अक्सिजन आपूर्ति भइरहेको छ । रुपन्देहीमा तीन वटा ग्यास उद्योग छन् । ती उद्योगको कुल क्षमता ११ सय सिलिण्डर हो । वैकल्पिक व्यवस्था नगरिए ती उद्योग पूर्ण क्षमतामा सञ्चालन भएपनि जिल्लाको मागलाई धान्न नसक्ने लुम्बिनी ग्यास प्रालिका सञ्चालक रमेश खनालले बताए ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले अक्सिजन आपूर्तिको पहल प्रशासनले गरिरहेकाले अस्पतालहरुले उपचार रोक्न नहुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment