Comments Add Comment

कोभिड-१९ : भारतको भन्दा फरक छैन नेपालको अवस्था

२६ वैशाख, काठमाडौं । नेपालमा दैनिक ९ हजार आसपास नयाँ संक्रमित थपिएका छन् । भारतमा दैनिक चार लाखभन्दा धेरै । नेपालमा दैनिक ५० भन्दा धेरै संक्रमितको मृत्यु हुने गरेको छ भने भारतमा यो संख्या ४ हजारबाट उकालो लागेको छ ।

झट्दा हेर्दा नेपालको तुलनामा भारतमा कोरोना संक्रमणको अवस्था निकै कहालीलाग्दो लाग्छ ।

धेरै जनसंख्या र ठूलो भू-भाग भएकाले मात्र संख्यागत हिसाबमा भारतमा कोरोना संक्रमणको अवस्था भयावह देखिएको हो । तुलनात्मक रुपमा नेपालको अवस्था भारतको भन्दा कम छैन र, अवस्था अझ खराब बन्न खतरा बढ्दो छ ।

संक्रमण फैलिने दर भारतमा भन्दा नेपालमा धेरै छ । आवर वल्र्ड इन डेटाको मे ५ सम्मको तथ्यांकअनुसार नेपालमा एक जना संक्रमितबाट थप १.८ जना मानिसहरु संक्रमित भइरहेका छन् भने भारतमा यो संख्या १.२ मात्र छ । जबकी यो दर १ भन्दा कम हुनुले कोरोना संक्रमणमा कमी आइरहेको बुझाउँछ ।

कोभिड-१९ को नयाँ संक्रमितको संख्यामा पनि नेपाल भारतभन्दा धेरै पछि छैन । मे ८ सम्मको तथ्यांकअनुसार नेपालमा १० लाख मानिसमा दैनिक नयाँ संक्रमितको संख्या २७९ छ भने भारतमा यो संख्या २८३ छ । अर्थात् कोरोनाका नयाँ संक्रमित संख्याको मामिलामा नेपाल भारतकै हाराहारीमा छ । तर पछिल्लो केही समययता भने यो संख्यामा उल्लेख्य वृद्धि भएको देखिएको छ ।

परीक्षणको मामिलामा नेपाल भारतभन्दा निकै पछाडि छ । मे ५ को तथ्यांकअनुसार नेपालमा कोरोनाको परीक्षण गरिएका समग्र मानिसहरुमध्ये करिब ४२ प्रतिशतमा संक्रमण पुष्टि हुने गरेको छ । सोही दिनको तथ्यांकअनुसार यो संख्या भारतमा २२ प्रतिशत मात्र छ । यसले नेपालमा कोरोना संक्रमित पहिचानको लागि पर्याप्त परीक्षण हुन नसकेको स्पष्ट देख्न सकिन्छ ।

कोरोना संक्रमणबाट दैनिक मृत्यु हुनेको संख्या भने भारतको तुलनामा नेपालमा केही कम छ ।

नेपालमा प्रति १० लाख मानिसमा कोरोनाको कारण १.६ जनाको मृत्यु हुने गरेको छ भने भारतमा यो संख्या २.८ छ । यद्यपि नेपनलमा आगामी दिनमा मृत्युदर बढ्नेसक्ने धुलिखेल अस्पतालको जनस्वास्थ्य तथा सामुदायिक कार्यक्रम विभागका निर्देशक डा. विजयमान कर्माचार्य बताउँछन् ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका हेमन्त चन्द ओझाले भने, ‘स्वास्थ्य केन्द्रहरुमा लक्षणसहितका संक्रमितहरु बढेका छन् । आगामी दिनमा अवस्था अझै नाजुक बन्न सक्छ ।’

साउथ चाइना मर्निङ पोस्टसँग कुरा गर्दै उनले भनेका छन्, ‘हामी अक्जिनको आपूर्तिको व्यवस्था त गर्न सक्छौं तर गम्भीर लक्षण देखिएका बिरामीको उपचारको लागि भेन्टिलेटर र आईसीयू केन्द्रको आवश्यकता पर्छ जसको अहिले अभाव देखिएको छ ।’

नेपालगञ्जस्थित भेरी अस्पतालका डाक्टर बद्री चापागाइँको भनाइ पनि फरक छैन । उनी भन्छन्, ‘अस्पतालहरु माग धान्न नसक्ने अवस्थामा पुगेका छन् । हामीहरु भवनको हरेक कुनामा बिरामीलाई राखेर उपचार गराइरहेका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment