
९ जेठ, काठमाडौं । स्वास्थ्यका लागि हानिकारक हुने किसिमको स्यानिटाइजर उत्पदान गर्ने तीनवटा कारखानामा प्रहरीले छापा मारेको छ । सातदोबाटो, त्रिपुरेश्वर र क्षेत्रपाटीमा रहेको स्यानिटाइजर उत्पादन केन्द्रमा अपराध महाशाखाको टोलीले एकैपटक छापा मारेको हो ।
महाशाखाका प्रमुख एसएसपी चन्द्रकुवेर खापुङका अनुसार प्रहरी नायब उपरीक्षक (डीएसपी) दुर्गाराज रेग्मी नेतृत्वको टोलीले अहिले सातदोबाटोस्थित मुख्य कारखानामा परिचालित थियो, अन्य कारखाना शाखा हुन् । कम्पनीले ‘प्लस ७५’ नामको स्यानिटाइजर उत्पादन गर्ने गरेको पाइएको खापुङले अनलाइनखबरलाई बताए ।
उनका अनुसार प्रारम्भिक अनुसन्धानमा कम्पनीले स्यानिटाइजर उत्पादनका लागि अनुमति पनि लिएको देखिएको छैन । ‘प्रयोगशालामा गरिएको परीक्षणबाट पनि बरामद स्यानिटाइजर स्वास्थ्यका लागि हानिकारक रहेको पुष्टि भइसकेको छ’, खापुङले भने ।
प्रहरीका अनुसार छापा मारेर कम्पनीका सञ्चालक आशिष प्याकुरेल र मार्केटिङ अफिसर विश्वास खत्रीलाई पक्राउ गरिएको छ । उनीहरुलाई अपराध महाशाखामा राखिएको छ । प्रहरीका अनुसार १० ट्रकमा हालेर बरामद स्यानिटाइजर लगायतका सामाग्री महाशाखामा ल्याइएको छ ।
एक प्रहरी अधिकृतका अनुसार बरामद सामग्रीको गणना सकिन अझै एक दिन लाग्छ । उनीहरुविरुद्ध कालोबजारी ऐनअनुसार कारबाही अघि बढ्ने भनिएको छ ।
प्रतिक्रिया 4