Comments Add Comment

‘छोरी जन्मिइन् भने आमा फर्किएको महसूस गर्नेछु’

महामारीका रूपमा कोरोनाभाइरस (कोभिड १९) को पहिलो लहर विश्वभर फैलिएको थियो । यसको असरबाट नेपाल अछुतो रहन सकेन । नेपालमा पनि कोरोनाभाइरसको गहिरो असर पर्‍यो ।

महामारी नियन्त्रण र संक्रमणको ‘चेन ब्रेक’ गर्न सरकारले लकडाउन गर्‍यो । देश पूरै ठप्प भयो । १०० वर्षपछि फैलिएको महामारी के हो र यसले कस्तो असर गर्छ भन्ने बुझ्न विश्वले नै सकिरहेको थिएन ।

अभिनेत्री ऋचा शर्माले प्रेमी दिपेक्षविक्रम राणासँग बिहे गरेको चार महीना हुँदै थियो । अभिनेत्री शर्मा र श्रीमान् दिपेक्षविक्रम पनि महामारीका कारण रनभुल्लमा थिए । त्यसैले त्यस समयमा उनीहरूले सन्तान जन्माउने योजना बनाएनन् ।

यतिबेला ऋचाको गर्भमा बच्चा हुर्किरहेको छ । गर्भ रहेको ६ महीना भइरहँदा ऋचामा फरक महसूस छ । तर, गर्भ रहेको थाहा पाउँदा ऋचाले गरेको महसूस बेग्लै थियो ।ऋचा भन्छिन्, ‘हामीलाई दोस्रो चरणको कोरोनाभाइरसको लहर आउँछ भन्ने थाहा थिएन । तर, गत वर्ष योजना बनायौं । फेरि के भयो भयो ।’कोरोनाको संक्रमण विस्तारै कम भयो । माहोल विस्तारै पुरानै अवस्थामा फर्किंदै थियो । ऋचा र दिपेक्षविक्रमलाई अब भने सन्तान जन्माउँदा केही फरक पर्दैन भन्ने लाग्यो ।

आफू आमा बन्दै गर्दा ऋचा आमालाई सम्झन्छिन्- मेरी आमाले दिदीहरू सबैका छोराछोरी खेलाउनुभयो । म घरकी कान्छी छोरी । मेरो सन्तान खेलाउने उहाँको चाहना थियो, जुन पूरा हुन पाएन । आमा भएको भए कति खुशी हुनुहुन्थ्यो होला भन्ने लाग्छ ।

गर्भवती भएपछि ऋचाले आफूले खासै गाह्रो महसूस नगरेको बताइन् । भनिन्, ‘धेरै महिलालाई रिंगटा लाग्ने, वान्ता हुने हुन्छ । तर मलाई त्यस्तो भएन । म चलचित्र र वेव सिरिजमा काम गरिरहेकी थिएँ । डाक्टरको सल्लाहले आफूलाई अगाडि बढाइरहेकी छु ।’ऋचा सम्झिन्छिन्, ‘हामीले बच्चाका लागि योजना बनायौं । भगवानको कृपाले लामो समय पर्खिनुपरेन । पिरियड मिस भएपछि बच्चा रहेको महसूस भयो । डाक्टरले बच्चा रहेको जानकारी गराउँदा एकछिन त विश्वास नै लागेन ।’

सहज रूपमा नियमित काम गरिरहँदा उनलाई आफू गर्भवती छु भन्ने पनि लागेन । यद्यपि शुरूको दुई महीना खाना खान खासै रुचि नभएको उनले सुनाइन् । ‘शुरूको समयमा चार-पाँच किलो तौल घटेको थियो’, उनले भनिन्, ‘तर, बच्चा बढ्दै जाँदा आमाको तौल पनि बढ्नुपर्छ भन्ने डाक्टरको सुझाव छ । त्यसैले  आफ्नो तौल बढाइसकेकी छु ।’

… बच्चाले किक् हान्छ

ऋचाको गर्भमा हुर्किरहेको बच्चा ६ महीनाको भयो । आमा बन्दै गर्दा ऋचाले फरक अनुभूति गरिरहेको सुनाइन् । पेटको बच्चाले किक् हान्न थालेको दुई हप्ता भएको उनको भनाइ छ । गुलियो र अमिलो खाँदा त्यस्तो प्रतिक्रिया आउने गरेको उनले सुनाइन् । भन्छिन्, ‘कसैले अमिलो खाँदा, कसैले पीरो खाँदा बच्चाले प्रतिक्रिया दिन्छ भन्छन् । मेरो बच्चाले भने गुलियो र चिसो खाँदा किक् हानेको महसूस गरेकी छु । किक् हान्दा पानीको फोका उडेजस्तो महसूस हुन्छ ।’ ऋचा बच्चाले किक् हानेको समयमा एक आमाले गर्ने महसूस शब्दमा वर्णन गर्न नसक्ने बताउँछिन् ।

अपेक्षा के छ ?

ऋचा र दिपेक्षविक्रम पहिलो सन्तानलाई ‘सरप्राइज’कै रूपमा जन्माउने तयारीमा छन् । ऋचा भन्छिन्, ‘हाम्रो पहिलो बच्चा भएकाले छोरा हो कि छोरी भनेका छैनौं । तर, छोरी भएको खण्डमा म धेरै खुशी हुनेछु । किनकि, छोरी जन्मिइन् भने मेरो आमा नै फिर्ता आएको महसूस हुनेछ । र पनि घरमा छोरा वा छोरी के होला भन्ने अनुमान सधैं भैहाल्छ नै ।’ दिपेक्षविक्रम भने छोरा जन्मिने अड्कल काट्छन् ।

आमालाई सपनामा देख्छिन्

अभिनेत्री ऋचाले २०७६ मंसीरमा बिहे गरिन् । त्यसको केही समयमै उनकी आमाको निधन भयो । ऋचा सम्झिन्छिन्, ‘मेरी आमाले दिदीहरू सबैका छोराछोरी खेलाउनुभयो । म घरकी कान्छी छोरी । मेरो सन्तान खेलाउने उहाँको चाहना थियो, जुन पूरा हुन पाएन । आमा भएको भए कति खुशी हुनुहुन्थ्यो होला भन्ने लाग्छ । आमालाई म सपनीमा धेरै देख्छु । मेरी आमाले मलाई दिएको माया त अरू कसैले पनि दिन सक्दैन ।’

यसो भनिरहँदा उनी घरमा सासू-ससुरा र श्रीमान्ले पनि मायाको कमी नगरेको सुनाउँछिन् । ‘मलाई मेरी आमा हुनुहुन्न भन्ने महसूस गर्न उहाँहरूले दिनुभएको छैन’, उनले भनिन् ।

ऋचा आफूले पहिलो सन्तान गर्भमा हुकाउँदै गर्दा आफ्नी आमाले कसरी पाँच वटा सन्तान जन्माउनुभयो होला भन्ने सम्झिन्छिन् । भन्छिन्, ‘त्यो समयमा न अल्ट्रासाउन्ड थियो, न भ्याक्सिन, न त औषधि न डाक्टर । हामी त थोरै गाह्रो महसूस भयो भने पनि डाक्टरलाई सम्झन्छौं, उहाँहरू के गर्नुहुन्थ्यो होला । यही सोचेर पनि मेरो मनोबल उच्च हुन्छ ।’

दोस्रो चरणको कोरोनाको लहर आउँछ भन्ने थाहा पाएको भए बच्चाको योजना बनाउनुहुन्थ्यो कि हुँदैनथ्यो भन्ने प्रश्नमा ऋचाले भनिन्, ‘यो त हामीले नसोचेको कुरा भयो । एकातिर कोभिड अर्कोतिर राजनीतिले दिक्दार बनाएको छ । हामीले सन् २०२२ को शुरुआतसम्म पहिलो बच्चा जन्माउनुपर्छ भन्ने योजना बनाएका थियौं ।’कोभिडको दोस्रो लहरका कारण अस्पतालसम्म पुग्न सहज छैन ।

निषेधाज्ञापछि अस्पताल गएकी छैनन्

गर्भवती, बिरामीलाई त झन् कोभिडबाट जोगिन निकै जरूरी छ । ऋचा आफू शहरमा भएकाले पनि केही सुविधाहरू पाएको बताउँछिन् । थाइराइड, सुगर टेस्ट गरेर डाक्टरसँग अनलाइनमै कुरा गर्ने गरेको सुनाउँछिन् ।

भनिन्, ‘अति आवश्यक नपरेसम्म अस्पताल नजाने सोचमा छु । यसका लागि मैले खानेकुरादेखि हरेक कुरामा ध्यान दिएकी छु । निषेधाज्ञापछि म अस्पताल गएकी छैन ।’

श्रीमानकाे साथ

ऋचाका श्रीमान् दिपेक्षविक्रमले उनलाई यो समयमा हरेक कोणबाट साथ दिएका छन् । ऋचाको मनस्थिति शान्त राख्न दिपेक्षविक्रम लागिपर्छन् । उनले भनिन्, ‘यो बेलामा सबैको प्राथमिकतामा आउनेवाला बच्चा परेको छ । यस्तो बेलामा दिमाग र मन शान्त हुनुपर्छ । मान्छेको मूड सधैं एउटै हुँदैन । तर, हरेक समयमा मेरो दिमागलाई शान्त राख्न मेरो श्रीमान् दिपेक्षविक्रमले साथ दिनुभएको छ ।

पेटमा तेल लगाएर बच्चासँग संवाद गरेजस्तो गर्ने, पानी तताएर दिनेदेखि हरेक कुरामा उहाँ विशेष ख्याल गर्नुहुन्छ । हरेक दृष्टिकोणबाट मलाई शान्त राख्न उहाँहरूले कोशिश गर्नुहुन्छ ।’

पौष्टिक खानेकुरा खानुपर्ने यस्तो बेलामा आफूलाई भात नै प्यारो लाग्ने ऋचा सुनाउँछिन् । तर पनि उनले दाल, भातबाहेक तरकारी, मासु, दही, ड्राइ फुड नियमित खाइरहेकी छिन् ।

कोरोना महामारीको यस्तो बेलामा कुनै पनि कुराले अस्पताल जान नपरे हुन्थ्यो भन्ने उनलाई लागिरहन्छ । यद्यपि गर्भमा हुर्किरहेको बच्चाका कारण ऋचाको मनमा छुट्टै उत्साह छ । जुन उत्साह शब्दमा व्यक्त गर्न नसकिने उनले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
बिजय सुवेदी (आवाज)

ट्रेन्डिङ

Advertisment