Comments Add Comment

नेपालको सिनियर फुटबल टिमबाट डेब्युमै गोल गर्ने तीन खेलाडी

१६ जेठ, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले शनिबार इराकविरुद्ध मैत्रीपूर्ण खेलमा ६–२ को हार बेहोर्दा अन्जन विष्ट र मनिष डाँगीले गोल गरे ।

मनिषले राष्ट्रिय टिममा डेब्यु गरेको खेलमै गोल गरे । कुवेती प्रशिक्षक अबदुल्लाह अलमुताइरीले मनिषसँगै डिफेण्डर गौतम श्रेष्ठलाई इराकविरुद्ध पहिलो रोजाइमा खेलाउँदै सिनियर टिममा डेब्यु गराएका थिए ।

अलमुताइरीले राष्ट्रिय टिममा ठूलो फेरबदल गर्दा विश्वकप छनोट र मैत्रीपूर्ण खेलका लागि यस पटक ६ नयाँ खेलाडीले टिममा स्थान बनाएका थिए । इराकविरुद्ध दुई जनाले डेब्यु गरे । अन्य चार नयाँसहित गोलकिपर दीप कार्की गरी पाँच खेलाडीले भने अझै डेब्यु गर्न बाँकी छ ।

मनिष नेपालको लागि डेब्युमै गोल गर्ने तेस्रो खेलाडी समेत बने । यसअघि यो उपलब्धि अन्य दुई खेलाडीले पनि प्राप्त गरिसकेका छन् । जसमा यामबहादुर (वाईबी) घले र राष्ट्रिय टिमका पूर्वकप्तान समेत रहेका हरि खड्का छन् ।

नेपालले सन् १९८२ मा भारतको नयाँ दिल्लीमा भएको एसियन गेम्समार्फत आधिकारिक अन्तर्राष्ट्रिय फुटबल खेलेको थियो । त्यसअघि पनि नेपालले विभिन्न टिमसँग खेले पनि अन्तर्राष्ट्रिय मान्यता भने त्यही एसियन गेम्सको खेल थियो ।

नेपालले पहिलो खेल कुवेतसँग खेलेको थियो र ३–१ को हार बेहोरेको थियो । त्यसमा वाईबी घलेले नेपालका लागि गोल गरे । घलेले राष्ट्रिय टिम डेब्युमै गोल मात्र गरेनन् यो नेपालको लागि अन्तर्राष्ट्रियस्तरमा आधिकारिक मान्यता पाएको पहिलो गोल समेत बन्यो ।

भर्खर विश्वकप खेलेर आएको कुवेतविरुद्ध ३ गोलले पछि परेको अवस्थामा घलेले खेलको ८५औं मिनेटमा गोल गरेका थिए । घलेले गोल गर्दा जवाहरलाल नेहरु रंगशालामा नेपाल नेपाल भनेर गुन्जिएको त्यही बेलाका खेलाडी राजुकाजी शाक्यले सम्झना गरे ।

हरि खड्काले सन् १९९५ मा श्रीलंकामा भएको सार्क विस्टोल गोल्डकपमार्फत नै राष्ट्रिय टोलीबाट डेब्यु गरे । उनले श्रीलंकाविरुद्ध पहिलो खेल भने खेल्न पाएनन् । त्यो खेलमा नेपाल पराजित भएको थियो ।

दोस्रो खेलमा हरिले पहिलो रोजाइमै खेल्ने अवसर पाए । पहिलो खेलमा बंगलादेशसँग २–० ले पराजित भएकोले नेपाललाई समूह एबाट सेमिफाइनलको स्थान सुरक्षित गर्न पाकिस्तानलाई कम्तीमा २–० को गोलअन्तरले हराउनुपर्ने थियो । संयोगवस हरिले पाकिस्तानविरुद्धको निर्णयाक भिडन्तमा मौका पाए र गोल पनि गरे ।

नेपालले पाकिस्तानलाई योजना अनुसार नै २–० ले हरायो । हरिले पहिलो गोलका लागि बालगोपाल महर्जनलाई पास मिलाएका थिए । खेलको दोस्रो गोल हरिले गरेका थिए र त्यो उनको राष्ट्रिय टिममा डेब्यु खेलमै गोल थियो ।

हरिसँगै निराजन रायमाझीले नेपालका लागि सर्वाधिक १३ गोल गरेका छन् ।

२० वर्षीय मनिष डाँगी ए डिभिजन लिग समेत नखेली राष्ट्रिय टिममा परेका हुन् । उनी कोरिया बस्दै उतै अध्ययन गर्छन् । दुई वर्षअघि नेपालमा साफ यू–१८ च्याम्पियनसिप हुँदा उनले उमेर समूहमा प्रतिनिधित्व गरिसकेका थिए । अलमुताइरी प्रशिक्षक बनेपछि मनिषलाई बन्द प्रशिक्षणमा बोलाउँदै पहिलो पटक टिममा मात्र राखेनन् । पहिलो खेलमै पहिलो रोजाइमा खेल्ने अवसर दिए । मनिषले पनि निराश पारेनन् । उनले इराकविरुद्ध मैत्रीपूर्ण खेलमा डेब्यु गरे र डेब्युमै गोल समेत गरे ।

उनले २९औं मिनेटमा गोल गर्दै खेलमा नेपाललाई २–१ को अग्रता समेत दिलाएका थिए । पछि नेपालले आफ्नै गल्तीले लगातार गोल खायो र ६–२ ले पराजित भयो ।

मनिषले डेब्युमै गोल गर्ने नसोचेको बताए पनि गोल गरेपछि आत्मविश्वास बढेको प्रतिक्रिया दिए । उनले गोल गर्दा खुशी लागेको र नतिजा राम्रो नहुँदा भने दुःख लागेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment