Comments Add Comment
सिने-समीक्षा :

एक किशोर अपराधीको डायरी

भनिन्छ, मान्छे बिग्रन वा सुध्रनको लागि ‘टीनएज’ महत्त्वपूर्ण मानिन्छ । यो अवस्थामा नजानिंदो आवेग हुन्छ, अलि धेरै उत्तेजना, चञ्चलपन, जिज्ञासा र जोश हुन्छ । किशोरहरूको मनोविश्लेषण गर्दै धेरै किताबहरू लेखिएका छन्, सिनेमाहरू पनि बनेका छन् । यसमध्ये केही किशोर मनोविज्ञानको तगडा र जीवन्त किसिमले मनोविश्लेषण गर्न सफल भएका छन् भने केही अलि फिक्का छन् ।

यसै विषयमा केन्द्रित स्टेनली कुब्रिकको फिल्म ‘अ क्लकवर्क अरेन्ज’ले मलाई निकै प्रभाव पार्न सफल भयो । फिल्म हेरिसक्दा मस्तिष्क पुरै शून्य भएको थियो । किनभने मैले किशोरावस्था पार गरेर आएको धेरै समय भएको छैन । त्यसबेला आफूले गरेका केही कामहरू अहिले पनि मेरो स्मृतिमा ताजै छन् ।

यस फिल्मको मुख्य पात्र एलेक्स, एक सत्र वर्षीय किशोर हो । ऊ आफ्ना केही साथीहरूका साथ रातिराति अनौठो भेषभूषामा निस्किन्छ । उनीहरू ड्रग्स मिसिएको नशालु दूध पिउँछन् जसले हिंसातर्फ उत्तेजित गराउँछ । उनीहरू मान्छेलाई कुट्छन्, महिलाहरूको बलात्कार गर्छन् । जथाभावी गाडी कुदाउँछन् । चोरी गर्छन् ।

एलेक्स राति अबेला घर फर्किन्छ र  भोलिपल्ट बिरामीको विभिन्न बहाना गरेर स्कुल जाँदैन । ऊ अत्यन्त सन्की-हठी-बेफिक्र छ । हत्या, हिंसा र अपराध उसको शोख हो । यति गर्दा पनि ऊ अझै असन्तुष्ट छ । जसकारण अझै ठूला-ठूला हिंसा र अपराधिक घटना घटाउने योजना बनाउँछ ।

हरेक चिजको अन्त्य हुन्छ । अब ऊ जेल परेको छ । साथीहरू उसलाई फसाएर आफू उम्केका छन्  । एलेक्स जेलभित्र  नितान्त फरक व्यक्ति झैं देखिन्छ । कसैसँग झगडा त के ठूलो स्वरले समेत बोल्दैन । जेलभित्रका सम्पूर्ण नियम पालना गर्छ ।  बाइबल पढ्छ । जेलको पादरीलाई सहयोग गर्छ । तर उसको हिंसात्मक प्रकृतिले भने उसलाई छोडेको छैन । लाइब्रेरीमा बसेर बाइबल पढ्दै गर्दा ऊ क्राइष्टलाई आफूले कोर्रा हानेको कल्पना गर्दै रोमाञ्चित हुन्छ ।

समाजमा अपराध बढेर जेलको समेत अभाव हुन थालेकाले सरकार अपराध नियन्त्रण गर्नका लागि चिन्तित देखिन्छ । यस्तैमा केही डाक्टर र अनुसन्धाताहरूले अपराधीलाई सुधार्ने एक विशेष किसिमको उपचार पद्दति पत्ता लगाएको दाबी गरेका छन् । जसलाई ‘लुडोभिको’ भनिन्छ । यस उपचार पद्धतिको अपराधीमाथि प्रयोगात्मक परीक्षण गरिन बाँकी छ । जसमा विभिन्न किसिमको मनोवैज्ञानिक दबाबद्वारा अपराधीको प्रकृतिलाई परिवर्तन गर्ने कोसिस गरिन्छ ।

अपराधीको दिमागमा रहेको हिंसाप्रतिको प्रेमलाई परिवर्तन गरेर त्यसप्रति घृणा उत्पन्न गराउनु यस परीक्षणको उद्देश्य हो । यसबाट यदि अपराधी सुध्रिएमा उसलाई जेलबाट मुक्त गरिने घोषणा गरिन्छ । एलेक्स छिट्टै बाहिर निस्किने उपाय खोजिरहेको हुनाले ‘लुडोभिको’को लागि सहमत हुन्छ ।

लुडोभिकोमार्फत मष्तिष्कभरि नै अपराध हिंसा भरिएको एलेक्सको अन्तरनिहित प्रकृतिलाई कृत्रिम माध्यमबाट परिवर्तन गर्न खोजिन्छ । उसको मष्तिष्कमा अपराध र हिंसाप्रति जबर्जस्ती घृणा सिर्जना गर्ने काम गरिन्छ ।

तर के प्रकृति र कृत्रिमता एकैठाउँमा उभिन सक्छन् ? कोही व्यक्ति मान्छे र रोबर्ट एकैपटक बन्न सक्छ ? कुनै पनि प्राकृतिक चिजलाई जबर्जस्ती कृत्रिमतातिर धकेल्दा त्यसले कस्तो दुष्परिणाम निम्त्याउन सक्छ ? अपराधी को हो, उसलाई कसरी सुधार्न सकिन्छ ? हलिउडका प्रभावशाली निर्देशक स्टेन्ली क्युब्रीकको फिल्म ‘अ क्लकवर्क अरेन्ज’  हेर्दा मष्तिष्कमा यिनै प्रश्नहरूको जन्म हुन्छ ।

राम्रो सिनेमाले प्रश्न गर्छ र उत्तर दिने जिम्मा दर्शकहरूको हातमा छोडिदिन्छ ।

यस फिल्मको शीर्षक ‘अ क्लकवर्क अरेन्ज’ सुन्दा अलि अनौठो किसिमको सुनिए पनि यसले कथानक र मुख्य पात्र एलेक्सलाई अत्यन्त सजीव र जीवन्त चित्रण गर्दछ । ‘अरेन्ज’ अर्थात् सुन्तला एक प्राकृतिक चीज हो । ‘क्लकवर्क’ मानवनिर्मित कृत्रिम चीज । अर्थात् हिंसा र अपराधप्रतिको शोख एलेक्सको प्रकृति हो । ‘लुडोभिको’को माध्यमबाट उसलाई जबर्जस्ती सुधार्न खोजिन कृत्रिमता हो । जब प्राकृतिक चिजमाथि कृत्रिम हस्तक्षेप हुन्छ, तब यसले समाधान नभएर प्रकोप सिर्जना गर्छ । आपराधिक मनोवृत्तिलाई प्राकृतिक तवरबाट नै क्रमिक रूपमा परिवर्तन गरिनुपर्छ, जबर्जस्ती होइन ।

बेलायती लेखक जर्ज अरवेलले आफ्नो ‘१९८४’ भन्ने उपन्यासमा यस्तो सर्वसत्तावादी समाजको कल्पना गरेका थिए, जसमा नागरिकका प्रत्येक क्रियाकलापमाथि राज्य र प्रहरीको प्रत्यक्ष निगरानी र नियन्त्रण रहन्छ । यस फिल्ममार्फत कुब्रिकले नागरिकका सम्पूर्ण गतिविधिमाथि नियन्त्रण र निरीक्षण गर्ने ‘पुलिस स्टेट’को विरोध गर्दै यसले निम्त्याउन सक्ने खतरालाई दृश्यमा प्रस्तुत गरेका छन् ।

यो फिल्म भविष्यप्रतिको चेतावनी हो । नागरिकको मष्तिष्कमा आफू अनुकुलको भाष्य जबर्जस्ती थोपरिदिने र ब्रेनवास गर्ने प्रवृत्तिको दुष्परिणामलाई सबल रूपमा प्रस्तुत गर्न निर्देशक सफल भएका छन् ।

यस फिल्मको प्रमुख पात्रको चरित्र त्यत्तिकै सजीव र जटिल छ । एलेक्स एउटा बलात्कारी हो, हत्यारा हो । सभ्य समाजको त्यस्तो दानव जसलाई अपराध गर्दा, हिंसा मच्चाउँदा आनन्द आउँछ । ऊ महिलालाई खेलौना जसरी बलात्कार गर्छ । बेकसुर व्यक्तिहरूको हत्या गर्छ । फिल्म हेर्न बस्दा सुरूमा ऊप्रति मेरो मष्तिष्कमा केवल घृणा र रोष मात्र थियो । फिल्मको बीचमा ऊ जब लुडिभिकोको लागि जान्छ र स्वतन्त्र हुन्छ तब उसको अवस्थाप्रति अचानक सहानुभूति पैदा भयो । एकछिन फिल्म रोकेर सोचें, ‘अरे यार, यो अत्यन्त धृणित अपराधी हो, बलात्कारी हो यस्ताप्रति सहानुभूति किन ?’

सिनेमा क्लकवर्क अरेन्जको एक दृश्य

यसरी एउटै पात्रलाई लिएर दर्शकको मष्तिष्कमा सुरूवातमा घृणा उत्पन्न गराउनु, बीचमा सहानुभूति दर्शाउन बाध्य बनाउनु र अन्त्यमा भिलेनबाट हिरोमा रूपान्तरण गर्न सक्नु नै कुब्रिकको निर्देशकीय खुबी हो ।

कानूनभन्दा नैतिकता सधैं माथि हुन्छ । अनि हरेक पिंढीको अलग-अलग नैतिक मूल्य र मान्यताहरू हुन्छन् । जस्तो, मेरी आमा, हजुरआमाहरूलाई छोटा कपडा लगाउने महिलाहरू अनैतिक र भ्रष्ट लाग्छन् । म भने सिनेमामा पूर्ण नग्नता पनि सामान्य रूपले हेरिरहेको हुन्छु । म, मेरी आमा र हजुरआमा एउटै परिवारमा छौं । हाम्रो आ–आफ्नो पुस्ता पनि सोचाइमा भिन्नताका बाबजुद एउटै समाजमा छ । यसले गर्दा नयाँ पिंढी र पुरानो पिंढीबीच वैचारिक दूरी कायम रहिरहन्छ ।

समाजमा कानून प्राय: पुरानो पुस्ताले आफ्ना अवधारणाअनुसार निर्माण गर्छ जुन नयाँ पुस्तालाई समेत लागू हुन्छ । जसले गर्दा समाजका मूल्य, मान्यता, कानून, नैतिकता र पद्धतिप्रति नयाँ पिंढी असन्तुष्ट हुन्छ र यसप्रति विद्रोह गर्ने कोशिश गर्दछ । यही क्रममा केहीले नकारात्मक बाटो समाउँछन् । प्रत्येक पुरानो पिंढीले नयाँ पिंढीको विचारलाई सहजै स्वीकार गर्दैन । फलस्वरूप समाजमा जहिल्यै पनि दुई पुस्ताबीच अघोषित टकराव चलिरहन्छ ।

आधुनिक फौजदारी न्यायको अवधारणा अनुसार सजायको मुख्य उदेश्य अपराधीलाई सुधार्नु हो । अपराधीलाई सुधार्नभन्दा उसलाई समाजमा पुनर्स्थापित गर्ने काम बढी चुनौतीपूर्ण हो । बाल अपराधीहरूलाई समाजमा पुनर्स्थापित गर्नु अझै कठिन हुन्छ । लामो समय कारागारमा सजाय काटेर फर्किंदा समाज अत्यन्त परिवर्तन भइसकेको हुन्छ । जस्तो २०५९ सालमा जेल चलान भएको व्यक्ति सजाय भुक्तान गरेर २०७८ सालमा बाहिर निस्कँदा उसले काठमाडौं कति धेरै बदलिएको महसुस गर्छ होला ? नितान्तः नयाँ संसारमा नै आइपुगेको महसुस गर्दो हो । यसरी अपराधीलाई लामो सजायपश्चात नयाँ संसारमा पुनःस्थापित हुन अत्यन्त कठिन हुन्छ । फलस्वरूप उसको मानसिक अवस्था बिग्रने र पुन: अपराधतर्फ फर्कने सक्ने खतरा धेरै हुन्छ ।

यस फिल्ममा लुडोभिकोमार्फत जेलबाट रिहा भएपछि समाजमा एलेक्सले पुनर्स्थापित हुनको लागि गर्नुपरेको संघर्षलाई सजीव रूपमा प्रस्तुत गरिएको छ । एलेक्सलाई थेरापीमार्फत ऊ जे होइन सो बन्न बाध्य तुल्याइएको छ । उसको अन्तर्निहित प्रकृतिको बर्खिलाप गरिएको उपचारले निम्त्याएको दुष्परिणामले  उसलाई आत्महत्या गर्न समेत बाध्य तुल्याएको छ ।

हिन्दीमा एउटा कहावत छ- ‘अन्त भला तो सब भला !’ अर्थात् अन्तिम नतिजा सही निस्कियो भने बाँकी सब ठीक मानिन्छन् । तर यो फिल्म भने यस भनाइमा सहमत छैन । के साध्यले साधनलाई पुष्टि गर्छ ? अहँ गर्दैन । सही नतिजाको लागि सही माध्यम नै प्रयोग गरिनुपर्छ । गलत माध्यमबाट गरिएको प्रयोगले सही र आवश्यक नतिजा निस्किए पनि त्यो गलत नै हुन्छ ।

यो फिल्म एउटा उत्तेजक र अराजक युवाको मानसिक विनिर्माण र पुनर्संरचनाको रोमाञ्चक कहानी हो । निर्देशक कुब्रिकको प्रयोगात्मक शैली र अनौठो कथावाचनले गर्दा यसलाई अझै रङ्गीन बनाएको छ । यसको कथावाचक १७ वर्षीय एलेक्स स्वयं हो जसले बलात्कार र हत्याजस्ता क्रुर घटनालाई समेत अत्यन्त हास्यास्पद शैलीमा प्रस्तुत गर्दछ ।

किशोरावस्था बालकबाट वयस्क अवस्थालाई जोड्ने पुल हो । यो समयमा व्यक्तिको शारीरिक तथा मनोसामाजिक विकास तीव्र रूपमा हुने गर्दछ । यतिबेला किशोरलाई सही बाटो हिंडाउन परिवार र अभिभावकको ठूलो भुमिका हुन्छ । ‘ब्याड प्यारेन्टिङ’ अमेरिका र अन्य पश्चिमी देशहरूमा जहिल्यै समस्याको रूपमा रहँदै आएको छ । यस विषयलाई फिल्मले राम्रो ढङ्गबाट सम्बोधन गरेको देखिन्छ ।

‘अ क्लकवर्क अरेन्ज’ बेलायती लेखक एन्टोनी ब्रुजेजको सन् १९६२ को व्यंगात्मक उपन्यासमा आधारित फिल्म हो । यो फिल्म रिलिज भएपश्चात विवादास्पद बन्यो । यसलाई युवाहरू भड्काएको र समाजमा आपराधिक क्रियाकलापलाई प्रोत्साहन गरेको आरोप लागेको थियो । आफू र आफ्नो परिवारको ज्यानसमेत मार्ने धम्की आएपछि कुब्रिकले यो फिल्म प्रदर्शन नगर्ने निर्णय गरेका थिए । उनको मृत्युपछि यो फिल्म पुन:प्रदर्शन गरिएको थियो ।

स्टेनली क्युब्रिक भन्नासाथ ‘२००१: स्पेस ओडिसी’ र ‘द साइनिङ्ग’ झट्ट दिमागमा आउँछन् ।  यो फिल्म विश्व सिनेमामा अत्यन्त कम आँकिएको फिल्म (मस्ट अन्डररेटेड) मध्ये एक हो । यो प्रयोगात्मक सिनेमा हो जसमा निर्देशकले फिल्म निर्माणको परम्परागत शैलीलाई चटक्कै पछाडि छोडेका छन् । तपाईंलाई लाग्न सक्छ, रिलिज भइसकेको ५० वर्षपछि यस्ता पुराना फिल्मका बारेमा किन लेखेको होला ?

रिलिज भएको जति नै भए पनि यो फिल्म आज पनि त्यत्तिकै सान्दर्भिक छ । यसले उठाएका केही सवालहरू आजको कृत्रिम बौद्धिकता र डिजिटल एकाधिकारको समयमा गरिनुपर्ने बहसहरू हुन् ।

समयसँगै हरेक सुन्दर चीज ओइलाउँदै जान्छन्, सुकेर खङ्ग्रङ्ग पर्छन् । तर हरेक चीज सुक्दैनन्, केही केही सधैं हरियै रहन्छन्- ‘एभरग्रीन’ ।

‘अ क्लकवर्क अरेन्ज’ यस्तै एभरग्रीन सिनेमा हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment