Comments Add Comment

लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशन आजदेखि

विपक्षीको एजेण्डा - मुख्यमन्त्रीको राजीनामा वा विश्वासको मत

१९ जेठ, बुटवल । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशन बुधबार (आज)देखि सुरु हुँदैछ । अधिवेशनको पहिलो दिनमै विपक्षी दलहरु नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले अल्पमतमा परेका मुख्यमन्त्री शंकर पोखरेलको राजीनामाको मागलाई चर्काउने रणनीति बनाएका छन् ।

दुई दिनअघि सम्पन्न राष्ट्रियसभाको उपनिर्वाचन परिणामले सरकारले बहुमत गुमाइसकेकाले प्रमाणित भएको भन्दै नैतिकताको आधारमा राजीनामा दिनुपर्ने विपक्षीको तर्क छ ।

त्यसो नभए गत वैशाख १९ गते नेकपा एमालेको एकल बहुमतको दाबीसहित संविधानको धारा १६८ (१) अनुसार पुनः नियुक्त भए पनि अहिले १६८ (२) मा पुगेका मुख्यमन्त्री पोखरेलले आजै विश्वासको मत लिएर बहुमत पुष्टि गर्न विपक्षीले चुनौती दिने रणनीति बनाएका छन् ।

माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्तीले मुख्यमन्त्रीविरुद्ध गत वैशाख २६ गते प्रदेश सभामा दर्ता भएको अविश्वास प्रस्तावबारे पनि विपक्षी गठवन्धनले आवाज उठाउने बताए । ‘मुख्यमन्त्रीले वैशाख १९ गते नै बहुमत गुमाइसक्नु भएको थियो, जालझेल गरेर अहिलेसम्म टिक्नुभएको हो,’ माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्तीले भने, ‘राष्ट्रिय सभा चुनाव नतिजाले सबैले देख्ने गरी प्रमाणित गरिदियो,त्यसैले नैतिकताको आधारमा राजीनामा दिनुपर्छ,नभए अविश्वास प्रस्तावमाथि छलफल हुनुपर्ने माग पनि उठाउँछौं ।’

नेपाली कांग्रेसका प्रमुख सचेतक फखरुद्दिन खानले पनि आजको वैठकमा मुख्यमन्त्रीको राजीनामा वा विश्वासको मत लिनुपर्ने माग उठाउने बताए । ‘अल्पमतमा पर्दापर्दै सत्ताको दुरुपयोग गरेर संविधानको धारा १६८(१) अनुसार उहाँ मुख्यमन्त्री नियुक्त हुनुभएको हो, तर अहिले उहां १६८(२) मा पुग्नुभएको छ, त्यसैले उहाँले विश्वासको मत लिनुपर्छ,’ खानले भनेऽ ‘मुख्यमन्त्री अल्पमतमा परेको स्पष्टै देखियो, अब उहाँले उच्च नैतिकता देखाउँदै मार्गपशस्त गर्नुको विकल्प छैन ।’

पोखरेल दोस्रो पटक मुख्यमन्त्रीमा नियुक्त भएको आज ३० दिन पुग्ने भएकाले विपक्षीले आजै विश्वासको मत लिनुपर्ने माग उठाउने कांग्रेस प्रमुख सचेतक खानले बताए । वैधानिकता गुमाइसकेको अल्पमतको सरकारलाई आफूहरुले वजेट ल्याउन नदिने पनि उनले खुलाए ।

प्रदेश सभाका सचिव दुर्लभकुमार पुनले बुधवारको बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउनेदेखि दलका तर्फबाट शुभकामना मन्तव्य राख्ने गरी कार्यसूची तय भएको बताए । तर विपक्षी दलका नेताहरुले शुभकामना मन्तव्यमै समग्र राजनीतिक घट्नाक्रम, कोभिड महामारीदेखि मुख्यमन्त्रीको राजीनामा माग र विश्वासको मतको विषय नै मुख्य रूपमा उठाइने जनता समाजवादी पार्टीकी प्रमुख सचेतक पुरमति ढेंगामगरले बताइन् ।

गत बैशाख ६ गते अविश्वासको प्रस्ताव दर्ता गरेकोमा मुख्यमन्त्रीले संसद छल्ने गरी १९ गते बोलाइएको संसद बैठक बस्न नपाउदै राजीनामा दिएर सोही दिन एकल बहुमतको दाबीसहित आफै मुख्यमन्त्री नियुक्त भएपछि विपक्षी गठबन्धन तीव्र असन्तुष्ट रहदै आएको छ । दोश्रो पटक अविश्वासको प्रस्ताव दर्ता भएकोमा त्यसलाई पनि संसद्मा प्रवेश गराइएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment