Comments Add Comment

‘चाइनिज ताइपेईविरुद्धको जित स्वास्थ्यकर्मीप्रति समर्पित’

२१ जेठ, काठमाडौं । विश्वकप र एसियन कप छनोटअन्तर्गत चाइनिज ताइपेईविरुद्धको जितलाई नेपाली राष्ट्रिय फुटबल टिमका प्रशिक्षक अब्दुल्लाह अलमुतारीले कोरोना कोरोना महामारीको रोकथाममा खटिएका फ्रन्टलाइनर स्वास्थ्यकर्मीलाई समर्पित गरेका छन् ।

एसियाली क्षेत्रको दोस्रो चरण छनोटअन्तर्गत समूह बी मा रहेको नेपालले चाइनिज ताइपेईलाई २-० ले पराजित गरेको थियो । नेपालका लागि अन्जन विष्ट र वैकल्पिक खेलाडी नवयुग श्रेष्ठले गोल गरे ।

खेलपछि पत्रकार सम्मेलनमा बोल्दै प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले यस जित अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मीलाई समर्पित गरे । ‘यो जित नेपाली समर्थकका लागि हो । नेपाल निकै कठिन अवस्थामा छ । विशेषगरी अग्रपंक्तिमा रहने स्वास्थ्यकर्मीका लागि । उहाँहरुले मिहिनेत गरेकै कारण हाम्रो खेलाडीले पनि राम्रो खेले ।’ नेपालको प्रशिक्षको रुपमा पहिलो जित हात पारेपछि अब्दुल्लाहले भने ।

प्रशिक्षक अलमुताइरीले आफू कुवेत र नेपालको प्रतिनिध्व गर्ने भएकोले खुशी लागेको बताए ।

चाइनिज ताइपेईविरुद्ध छनोटमा दोस्रो जित हात पारेको नेपालको ६ खेलबाट ६ अंक छ र चौथौ स्थान बलियो बनाएको छ।

कोभिड-१९ कै कारण नेपालले घरेलु मैदानमा खेल्ने भनिएको ३ खेल कुवेतमा गएर खेल्नुपरेको हो । बाँकी खेलमा नेपालले जेठ २४ गते जोर्डन र जेठ २८ गते अष्ट्रेलियासँग खेल्नेछ ।

प्रशिक्षक अलमुताइरीले ताईपेविरुद्धको खेल नेपालका लागि निकै महत्वपूर्ण रहेको र जित सहज भने नभएको बताए । ‘ताइपेईले धेरै राम्रो खेल्यो । खेल प्रतिस्पर्धात्मक थियो । जित सहज थिएन । कठिन भयो,’ उनले भने, ‘हामीले उनीहरुका सबै खेल अध्ययन गरेका थियौं । खेलअघि बिहान ११ वटा अभ्यास गरेर तयार भएका थियौँ । उनीहरुको खेलाडीबारे बुझ्न खर्च गरेका थियौं ।’

यस्तै प्रशिक्षकले यो सुरुआत भएको बताए । ‘यो अन्त्य होइन सुरुवात भएको छ । हामीले निकै मिहिनेत गरेका छौँ । हाम्रो लक्ष्य अझै बाँकी छ,’ उनले भने ।

उनले विपक्षीलाई सरप्राइज दिन टिममा केही परिवर्तन गरिएको बताए । उनले भने, ‘हामी सरप्राइज दिन चाहन्थ्यौ । सुनिल बल र आशिष लामाको बारेमा उनीहरुलाई थाहा थिए । त्यसैले सुरुमा खेलायौँ ।’

इराकविरुद्ध गत शनिबार मैत्रीपूर्ण खेल खेल्दा मनिस डाँगीले डेब्यु गर्दै गोलसमेत गरेका थिए । त्यसैले उनले ताइपेईविरुद्ध सुरुमै खेल्ने अपेक्षा थियो तर प्रशिक्षकले रणनीति बनाएर खेलाए ।

अब्दुल्लाहले इराकविरुद्ध मैत्रीपूर्ण खेल खेलेको पहिलो रोजाइमा दुई परिवर्तन गरेका थिए । मनिष डाँगीको स्थानमा सुनिल बललाई राखेका उनले नवयुगको स्थानमा आशिष लामालाई मौका दिएका थिए ।

‘दोस्रो हाफमा खेलाडी परिवर्तन गराउने हाम्रो रणनीति नै थियो । मनिष र नवयुगले पनि त्यसै गरेँ,’ उनले भने ।

अलमुताइरीले यस पटक युवा खेलाडीरुलाई टिममा समावेश गर्दा ६ खेलाडीले पहिलो पटक राष्ट्रिय टिममा स्थान बनाएका थिए ।

मनिससँगै इराकविरुद्ध डेब्यु गरेका डिफेण्डर गौतम श्रेष्ठले ताइपेईविरुद्ध पूरा समय मैदानमा बिताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment