Comments Add Comment

स्नातक तह पहिलो वर्षमा दुई ‘ब्याच’ का विद्यार्थी !

त्रिविले परीक्षा गराउन नसक्दाको अन्योल

२३ जेठ, काठमाडौं । सिन्धुपाल्चोक, चौताराका सुशील नेपाली रत्नराज्य (आरआर) क्याम्पसमा मानविकी संकाय स्नातक पहिलो वर्षका सिनियर ब्याचका विद्यार्थी हुन् । उनी पहिलो वर्षमा भर्ना भएको १९ महीना भयो । उनी पछाडि अर्को ब्याच पनि पहिलो वर्षमा भर्ना भइसकेको छ । सुशीलले अझै पनि परीक्षा दिन पाएका छैनन् ।

सामान्य अवस्था भएको भए उनी यतिबेला स्नातक दोस्रो वर्षको परीक्षा दिइरहेका अथवा सकेका हुन्थे । तर उनले पहिलो वर्षकै परीक्षा अझै पनि दिन पाएका छैनन् । बल्ल केही दिनअघि अनलाइन परीक्षा फारम भरेका छन् ।

कोरोना महामारीका कारण एउटा मात्रै क्षेत्र प्रभावित भएको छैन । यसले मानव स्वास्थ्यसँगै व्यापार, व्यवसाय, उद्योग, रोजगारदेखि ‘भविष्यका कर्णधार’ मानिने विद्यार्थी वर्गलाई पनि ठूलो मारमा पारेको छ ।

महामारीले विद्यालय जाने उमेरका कैयौं विद्यार्थी विद्यालय भर्ना हुनै पाएका छैनन् भने विद्यालय र कलेज गइरहेका विद्यार्थीको सिकाइ प्रक्रिया नै अवरुद्ध भएको छ । कैयौंले परीक्षा नै दिन पाएका छैनन् ।

महामारीले सबै तहका विद्यार्थी मारमा परेका छन् । परीक्षा समयमा हुन नसक्दा विद्यार्थीमा अन्योल छाएको छ । यसबाट सबैभन्दा बढी प्रभावित स्नातक तहका विद्यार्थी भएका छन् ।

स्नातक तह पहिलो वर्ष अध्ययनरत विद्यार्थी परीक्षा दिनबाटै वञ्चित छन् । अहिले स्नातक तहको पहिलो वर्षमा विद्यार्थी सिनियर, जुनियर भएर अध्ययन गरिरहेको अध्ययनरत विद्यार्थी बताउँछन् ।

सिनियर ब्याचका विद्यार्थीको पाठ्यक्रम सकिएको भनेर अनलाइन कक्षा पनि सञ्चालनमा छैन । जुनियर अर्थात् नयाँ भर्ना भएका विद्यार्थीको भने अनलाइन कक्षा सञ्चालन भइरहेको छ । त्यसमा इच्छा हुने सिनियर ब्याचका विद्यार्थी पनि जोडिनसक्ने सुविधा भने क्याम्पसहरूले दिएका छन् ।

अहिले स्नातक तहको पहिलो वर्षमा सिनियर, जुनियर सँगै भएर अध्ययन गरिरहेको विद्यार्थी बताउँछन् । सिनियर ब्याचका विद्यार्थीको पाठ्यक्रम सकिएको छ । जुनियर अर्थात् नयाँ भर्ना भएका विद्यार्थीको भने अनलाइन कक्षा सञ्चालन भइरहेको छ ।

कोरोनाका कारण पहिलो वर्ष पढाइ रोकिएपछि तत्काल अनलाइन कक्षा सञ्चालन गर्न नसक्ने र विद्यार्थीको पहुँचमा नहुने भन्दै अनलाइन कक्षा गरेन । जसका कारण विद्यार्थीको पाठ्यक्रम सकिनका लागि सामान्य अवस्था कुर्नुपर्‍यो । सामान्य अवस्था भएपछि भौतिक कक्षाबाट पाठ्यक्रम सकियो ।

त्यसपछि त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले परीक्षा फारम खुलायो । लगत्तै कोरोना महामारीको दोस्रो लहर तीव्र रूपमा फैलियो । त्यसको केही दिनमै निषेधाज्ञा शुरू भयो । निषेधाज्ञाका कारण फारम भर्ने कार्य पनि बन्द भयो ।

सरकारले निषेधाज्ञा शुरू हुनुभन्दा अघि गन्तव्य स्थानमा जाने समय दियो । त्यो समयमा अधिकांश विद्यार्थी आफ्नो गृह जिल्लातिर लागे । अहिले त्रिविले स्नातकका विद्यार्थीको लागि अनलाइन फारम खुलाएको छ । जेठ मसान्तसम्म फारम भर्ने समय दिएको छ । विद्यार्थी अनलाइन फारम भरिरहेको बताउँछन् ।

त्रिविले बेवास्ता गरेकै कारण एक वर्ष ढिला भएको सुशीलको दाबी छ । त्रिविले विद्यार्थीको अवस्था र पहुँचको आधारमा वैकल्पिक माध्यमको उपाय खोज्नुपर्ने उनको भनाइ छ ।

‘त्रिविले अनलाइन पहुँच भएकालाई अनलाइन र नभएकालाई नजिकैको क्याम्पसमा कडा स्वास्थ्य सुरक्षाका साथ भौतिक उपस्थितिमा परीक्षा गराउनुपथ्र्यो’ उनी भन्छन्, ‘अब सामान्य अवस्था हेर्ने हो भने त थप अर्को एक वर्ष पनि यस्तै जाला जस्तो छ ।’

जनस्वास्थ्यविद्हरूले अझै तेस्रो, चौथो लहर आउने जोखिम रहेको औंल्याइरहेका छन् । त्यसले गर्दा अझै केही समय सबै विद्यार्थीले सम्बन्धित स्थानमा भौतिक उपस्थितिमा परीक्षा दिनसक्ने अवस्था हुन नसक्ने उनको बुझाइ छ ।

शिवपुरी क्याम्पस महाराजगञ्जमा व्यवस्थापन संकायको ब्याचलर अफ बिजिनेस स्टडिज (बीबीएस) को पहिलो वर्षमा अध्ययनरत मञ्जु कुँवर जीवनको लक्ष्य नै अलमलमा परेको अनुभूति गरिरहेको बताउँछिन् ।

तेस्रो वर्षको तयारी गर्नुपर्ने समयसम्म पहिलो वर्षकै परीक्षा दिन नपाउँदा उनी तनावमा छिन् । कोरोनाका कारण भएको पहिलो लकडाउनमा पनि उनीहरूको अनलाइन कक्षा भएको थियो ।

तर त्रिवि अन्तर्गत दिनुपर्ने हुँदा पढाइ सकिए पनि परीक्षा दिन नपाएको गुनासो गर्छिन् । भनिन्, ‘तेस्रो वर्ष पढ्ने बेला भइसक्दा पनि पहिलो वर्षकै परीक्षा दिन पाइएको छैन । लाइफको गोल नै गोलमाल भइसक्यो ।’

स्नातक पढ्ने पहिलो र दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीको एक वर्ष पछाडि धकेलिएको छ । अझै परीक्षाको निश्चित छैन । कहिलेसम्म यस्तो भइरहने हो भन्ने चिन्ता विद्यार्थीलाई छ ।

अहिले तेस्रो वर्षको परीक्षा सक्नुपर्ने विद्यार्थीको दोस्रो वर्षको समेत परीक्षा सकिएको छैन । लकडाउन खुलेपछि भौतिक उपस्थितिमा पढाइ भयो । पाठ्यक्रम सकिएपछि वैशाख ५ गतेदेखि शुरू भएको परीक्षा नसकिंदै कोरोना महामारीको दोस्रो लहरका कारण पुनः निषेधाज्ञा भयो । भइरहेको सेमेष्टर एवं वाषिर्क सम्पूर्ण परीक्षा स्थगित भएपछि विद्यार्थी अन्योलमा परेको बताउँछन् ।

रत्नराज्य क्याम्पसमा मानविकी संकाय स्नातक तह दोस्रो वर्षका परीक्षार्थी संगम लामाको एउटा विषयको परीक्षा दिन बाँकी थियो । निषेधाज्ञा नभएको भए उनको परीक्षा वैशाख १७ गते सकिंदै थियो ।

तर कोरोना नियन्त्रणका लागि सरकारले वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गर्‍यो । त्यसपछि उनको एउटा परीक्षा बाँकी नै रहृयो ।

क्याम्पसले दोस्रो वर्षको परीक्षा नसकिएको भन्दै तेस्रो वर्षको कक्षा नै सुचारु गरेको छैन । विद्यार्थीले दोस्रो वर्षको परीक्षा बाँकी रहे पनि एक वर्ष पछाडि धकेलिइसकेको समय अझै नधकेलियोस् भनेर तेस्रो वर्षको अनलाइन कक्षा चलाउन क्याम्पसलाई अनुरोध गरिरहेका छन् । तर उनीहरूको अनुरोध अहिलेसम्म सुनुवाइ भएको छैन ।

विद्यार्थीको आवाज उठाउने विभिन्न पार्टी सम्बद्ध भएर राजनीति गरिरहेका विद्यार्थी संगठन यतिबेला निष्क्रिय अनि विद्यार्थीका मर्का र मुद्दामा ‘मृतप्रायः’ छन् ।

रत्नराज्य क्याम्पसमा अध्ययनरत टेकेन्द्र पाण्डेको दुईवटा परीक्षा बाँकी छ । निषेधाज्ञाको बीचमा साथीहरूको सहयोगमा कैलाली घर पुगेका पाण्डे त्रिविको हेलचेक्र्याईंले परीक्षा पूरा नभएको जिकिर गर्छन् ।

पाण्डे भन्छन्, ‘सबै विद्यार्थी महामारीको जोखिम बुझ्ने लेबलका छन् । निश्चित सुरक्षाको मापदण्ड अपनाएको भए बाँकी रहेको परीक्षा सकिन्थ्यो ।’ त्रिविले जिम्मेवारी पूरा नगरेको र तेस्रो वर्षको पढाइ पनि शुरू नहुँदा विद्यार्थी अन्योलमा बस्नु परेको उनको भनाइ छ ।

इन्जिनियरिङ पढिरहेका विद्यार्थी लोकेश जोशीको पढाइ भने करीब ६ महीना ढिला भएको छ । चौथो सेमेष्टर पुग्नुपर्ने उनी दोस्रो सेमेष्टरमा अध्ययन गरिरहेको बताउँछन् ।

त्रिवि केन्द्रीय विभागको समाजशास्त्र संकायको दोस्रो सेमेष्टरमा अध्ययनरत प्रवीण बिष्ट त्रिविको लापरबाहीले सबै विद्यार्थी मारमा परेको बताउँछन् ।

अघिल्लो वर्ष त्रिविले विद्यार्थीको पहुँचको विषयमा लगत संकलन शुरू गरेको थियो । तर बीचमा आएर रोकियो । विद्यार्थीलाई ३० दिनको इन्टरनेट प्याकेज उपलब्ध गराउने भनेको थियो । त्यसको लाभ केही विद्यार्थीले मात्रै लिए । क्याम्पस खुल्न थालेपछि यो सबै बन्द भयो । त्रिविको अवस्था आज पनि कोरोनाको पहिलो लहर पूर्वको जस्तै रहेको विद्यार्थी बताउँछन् ।

शिक्षकहरूलाई माइक्रोसफ्ट आईडी उपलब्ध गराइएको छ । तर चलाउन नजानेर अहिले पनि जुम र मेसेन्जरबाटै अनलाइन कक्षा लिइरहेका छन् । यसबीचमा केही सुधार नभएको उनको भनाइ छ ।

निष्क्रिय विद्यार्थी संगठन

विद्यार्थीको आवाज उठाउने भनेर विभिन्न पार्टी सम्बद्ध भएर राजनीति गरिरहेका विद्यार्थी संगठन यतिबेला निष्क्रिय छन् । उनीहरू विद्यार्थीका मर्का र मुद्दामा ‘मृतप्रायः’ छन् ।

बिष्ट भन्छन्, ‘अहिले विद्यार्थी संगठनहरू आफैंले विद्यार्थीको लागत संकलन गर्न सक्थे । अथवा त्रिविलाई सुधारका लागि रचनात्मक दबाब दिनसक्थे । केही गरेका छैनन् । यस्तो अवस्थामा पनि उनीहरूको भूमिका केही नहुनु दुःखद हो ।’ नेपालका विद्यार्थी संगठन विद्यार्थीका मुद्दाभन्दा ‘अन्यत्रै’ केन्द्रित भइदिनु दुःखद भएको विद्यार्थीको गुनासो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
नुनुता राई

ट्रेन्डिङ

Advertisment