
३० जेठ, काठमाडौं । चीनले केही मुलुक सम्मिलित सानो समूहले विश्वको निर्णय गर्ने युगको अन्त्य भइसकेको बताएको छ । बेलायतको लण्डनस्थित चिनियाँ दूतावासका प्रवक्ताले विश्वका धनी मुलुकको संगठन ‘जी–७’ लाई केही मुलुक सम्मिलित सानो समूह भन्दै विश्वव्यापी मुद्दाको समाधान सबै मुलुकसँग विचार विमर्श गर्नुपर्ने बताए ।
जी–७ मा आबद्ध मुलुकका प्रमुखको बैठक बसिरहेको अवस्थामा चीनले यस्तो चेतावनी दिएको हो ।
चिनियाँ दूतावासका प्रवक्ताले भनेका छन्, ‘हामी सधैं यो कुरामा विश्वास गर्छौं कि कुनै पनि मुलुक ठूलो होस् वा सानो, बलियो होस् वा कमजोर, गरीब होस् वा धनी सबै बराबर हुन् र विश्वव्यापी मुद्दा सबै मुलुकसँग विचार विमर्श गरेर मात्र समाधान गरिनुपर्छ ।’
जी–७ का मुलुकको यसपटकको बैठक चीनको प्रभाव नियन्त्रणका लागि एकजुट हुनेमा केन्द्रित छ । अमेरिकी राष्ट्रपति जो बाइडनले कोरोना भाइरस (कोभिड–१९) को महामारीपछि विश्वमा लोकतान्त्रिक मुलुक र निरंकुश व्यवस्था भएका मुलुकबीच संघर्षको अवस्था आएको बताएका छन् ।
जी–७ मुलुकको आइतबारको बैठकमा जलवायु परिवर्तनको समस्या झेलिरहेका विकासशील मुलुकहरुलाई वित्तीय सहयोग उपलब्ध गराउने र ती मुलुकमा चिनियाँ परियोजनाको विकल्पमा पूर्वाधारका योजनाको लागि आवश्यक कोष उपलब्ध गराउने घोषणा हुन सक्ने अपेक्षा गरिएको छ ।
एजेन्सी
प्रतिक्रिया 4