Comments Add Comment

नोभाभ्याक्सको कोरोना खोप ९० प्रतिशत प्रभावकारी 

३१ जेठ, काठमाडौं । अमेरिकी कम्पनी नोभाभ्याक्सले विकास गरेको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप ९० प्रतिशत प्रभावकारी पाइएको छ । अमेरिका र मेक्सिकोमा गरिएको क्लिनिकल परीक्षणमा नोभाभ्याक्सको खोप प्रभावकारी पाइएको हो ।

सोमबार कम्पनीले सबै नतिजाले खोप प्रभावकारी हुनुका साथै सुरक्षित पनि देखिएको दाबी गरेको छ । अमेरिकामा कोरोना खोपको माग नाटकीय रुपमा घटे पनि विश्वका अन्य मुलुकमा भने माग उच्च छ । यस्तो अवस्थामा भण्डारण गरेर राख्न र ढुवानीका लागि सहज मानिएको नोभाभ्याक्सको खोप विश्वका अन्य मुलुकमा कोरोना संक्रमण नियन्त्रणको लागि निकै महत्वपूर्ण हुन सक्ने विश्लेषकहरुले बताएका छन् । यद्यपि त्यसका लागि केही महिना भने लाग्न सक्ने बताइएको छ ।

कम्पनीले अब अमेरिका, युरोप तथा विश्वका अन्य मुलुकमा खोपको प्रयोगका लागि अनुमति लिन आवेदन दिने योजना बनाएको छ । सेप्टेम्बरको अन्तिमसम्ममा यो खोपले प्रयोगको अनुमति पाउने विश्वास लिइएको छ । त्यतिबेलासम्म मासिक १० करोड डोज कोरोना खोप उत्पादन गर्ने कम्पनीले बताएको छ ।

नोभाभ्याक्सका सीईओ स्ट्यान्ली एर्कले कम्पनीको धेरै खोप कम तथा मध्यम आय भएका मुलुकमा जाने बताएका छन् । अहिले अमेरिकाको समग्र जनसंख्याको आधाभन्दा धेरैले कोरोनाको दुवै डोज खोप पाइसकेको अवस्थामा विकासशील मुलुकमा भने एक प्रतिशतभन्दा कम मानिसले पनि कोरोनाको दुवै डोज खोप पाएका छन् ।

नोभाभ्याक्सले गरेको क्लिनिकल परीक्षणमा १८ वर्षभन्दा माथिका करिब ३० हजार मानिस सहभागी भएका थिए । जसमध्ये दुई तिहाइलाई कोरोनाको खोप दिइएको थियो भने बाँकी एक तिहाइलाई औषधि नहालेको खोप दिइएको थियो । खोप लगाएका कसैलाई पनि कोरोनाको गम्भीर लक्षण देखिएन भने औषधि नराखिएको खोप दिएका १४ जनामा कोरोनाको गम्भीर लक्षण देखिएको थियो ।

नोभाभ्याक्सको खोप विभिन्न किसिमका भेरियन्टमा पनि उत्तिकै प्रभावकारी देखिएको कम्पनीले बताएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment