२१ असार, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को साविक विजेता लुम्बिनी लायन्सले सन्देश कटुवाललाई प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गरेको छ ।
लुम्बिनी लायन्सका प्रमुख ईश्वर जिसीले आइतबार कटुवाललाई औपचारिक रूपमा स्वागत गर्दै सीईओको जिम्मेवारी सुम्पिएका हुन् ।
गत सिजन लुम्बिनी लायन्सको सीईओ रहेकी भावना घिमिरेलाई यसपटक कार्यकारी निर्देशक (एक्जिक्युटिभ डाइरेक्टर) को जिम्मेवारी दिइएको छ । लुम्बिनीले दोस्रो संस्करणको एनपीएलमा सुदूरपश्चिम रोयल्सलाई फाइनलमा पराजित गर्दै उपाधि जितेको थियो ।
नियुक्तिपछि कटुवालले लुम्बिनी लायन्सप्रति आभार व्यक्त गर्दै आफूले टोलीमा व्यावसायिक र संस्थागत संस्कृतिको विकासमा जोड दिने बताए ।
‘लुम्बिनी लायन्सलाई यो अवसरका लागि धन्यवाद दिन चाहन्छु। विगतमा पनि एनपीएलसँग जोडिएको अनुभव भएकाले आफ्नो भूमिका अझ प्रभावकारी रूपमा निभाउन सक्ने विश्वास लिएको छु। बिजनेस म्यानेजमेन्ट र स्पोर्ट्स म्यानेजमेन्टलाई सँगसँगै अघि बढाउँदै कर्पोरेट हाउसमा बलियो टिम कल्चर निर्माण गर्ने मेरो उद्देश्य हुनेछ’ उनले भने ।
कटुवाल एनपीएलको पहिलो संस्करणमा काठमाडौं गोर्खाजका सीईओ थिए । पूर्वखेलाडीसमेत रहेका उनीसँग कर्पोरेट तथा व्यवसाय व्यवस्थापन क्षेत्रमा दुई दशकभन्दा बढी अनुभव छ ।
उनले यसअघि कान्तिपुर मिडिया ग्रुपमा बिजनेस हेड, यामाहामा सिनियर म्यानेजर तथा एपेक्स कलेजमा हेड अफ स्ट्राटेजीको जिम्मेवारी सम्हालिसकेका छन् ।
नेपाल स्पोर्ट्स म्यानेजमेन्टअन्तर्गत स्थापना गरिएको इन्डोर क्रिकेट तथा फुटबल पूर्वाधार भेलोसिटी एरिनाका उनी एक लगानीकर्ता पनि हुन् ।
कटुवालको नेतृत्वमा काठमाडौं उपत्यका तथा बाहिरी जिल्लामा विभिन्न खेल प्रतियोगिता आयोजना भइसकेका छन् ।
प्रतिक्रिया 4