+
+

पूर्वप्रधानमन्त्री खनालको स्वास्थ्य समस्या के हो ?

अनलाइनखबर अनलाइनखबर
२०७८ असार २ गते १३:०७
तस्वीर सौजन्य : नर्भिक अस्पताल

२ असार, काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्यमा समस्या देखिएपछि थप उपचार गराउन दिल्ली लगिएको छ ।

पूर्वप्रधानमन्त्री खनाल सोमबार नर्भिक अस्पताल भर्ना भएका थिए । अस्पतालका अनुसार खनाललाई साढे १२ बजे नर्भिकबाट दिल्लीतर्फ लगिएको हो । पोस्ट कोभिडका बिरामी खनाललाई फोक्सोमा पानी जमेको र रगतमा संक्रमण अस्पतालको भनाइ छ ।

अस्पताल भर्ना भएदेखि अक्सिजन सपोर्टमा रहेका खनाललाई क्रोनिक निमोनियाको शंका गरी उपचार गरिएकामा परिवारकै सल्लाहमा दिल्ली पठाइएको अस्पतालका जनसम्पर्क अधिकारी सोमनाथ बास्तोलाले जानकारी दिए । ‘हामीले सक्दैनौं भनेर डिस्चार्ज दिएका होइनौं, उहाँले पहिलादेखि नै दिल्लीको एपोलो अस्पतालमा उपचार गराइरहनुभएकाले परिवारको सल्लाहमा लगिएको हो’ उनले भने ।

बास्तोलाको अनुसार खनाललाई मिर्गौलाको पुरानो समस्या छ । ‘हिजो उहाँलाई २ पिन्ट रगत चढाउन लागिएको थियो तर शरीरले एक पिन्ट भन्दा बढी लिएन’ बास्तोलाले भने, ‘कोभिडपछि शरीरका विभिन्न अंगहरुमा क्षति गर्छ उहाँलाई भएको त्यही हो, मिर्गौलाको पुरानो बिरामी भएकाले मिर्गौलामा पनि असर गरेको भन्न सकिन्छ, सबै रिपोर्टहरु आउन बाँकी छ ।’

अस्पतालका अनुसार खनालको ज्वरो घटेको छैन भने लगातार खोकी लागिरहेको छ । शरीर शिथिल भएर काम छुट्ने भएकाले क्रोनिक निमोनियाको शंका गरिएको छ ।

यसअघि खनालले भारतको एपोलो अस्पतालमा उपचार गराएका थिए । गएको माघ अन्तिम साता एपोलोमा उपचार गराएर खनाल स्वदेश फर्किएका थिए ।

गत वैशाखमा खनाललाई कोरोना संक्रमण देखिएको थियो । त्यतिबेला उनी १० दिन नर्भिक अस्पतालमा नै उपचारपछि संक्रमणमुक्त भई वैशाख २७ मा घर फर्किएका थिए ।

उनको दुवै मिर्गौलामा समस्या देखिए पछि गत ३० माघमा एपोलो अस्पताल भर्ना भएका थिए । उनलाई अस्पतालले मिर्गौला प्रत्यारोपण गर्न सुझाव दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?