+
+

गण्डकीमा मनसुनको सुरुमै बाढी, पहिरो र डुवान

२ सय ५० घर विस्थापित

अमृत सुवेदी/विकास रोकामगर अमृत सुवेदी/विकास रोकामगर
२०७८ असार २ गते १३:५०

२ असार, पोखरा । गण्डकी प्रदेशका ११ जिल्लामा लगातार परेको वर्षाका कारण बाढी, पहिरोले घर, वस्ती र सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याएको छ । सबैभन्दा बढी मनाङ, लमजुङ, म्याग्दीमा क्षति पुर्‍याएको छ ।

तीन दिनदेखि लगातार भइरहेको वर्षाले पानीले मनाङ सदरमुकाम चामे मंगलबार बिहानैदेखि डुवानमा परेको थियो भने लमजुङ र म्याग्दीमा पनि पहिरोले धेरै घर बगाएको छ ।

लमजुङको दोर्दी खोलामा आएको बाढीले दोर्दी गाउँपालिका-८ हिलेबजारको १५ घर बगाएको वडाध्यक्ष तुलबहादुर घलेले जानकारी दिएका छन् ।

बाढीले बजार क्षेत्रको ४ वटा बिजुलीको खम्बा पनि ढालेको छ । जसका कारण विद्युत र टेलिफोन पनि अवरुद्ध हुन थालेको वडाध्यक्ष घलेले जानकारी दिए । ‘हाइटेन्सन पोल ढालेको छ । अरु पोल कति ढले ढले कुरै नगरौं’ उनले भने, ‘हाम्रो वडा लथालिंग भयो । पानी परेको पर्‍यै छ । रमिता हेर्नुबाहेक उपाय छैन ।’

बाढीका कारण स्थानीय आमा समूहको घर, फुटबल मैदानलगायतका संरचना बगाएको वडाध्यक्ष घलेले बताए । बाढी पीडितलाई बजार भन्दा केही अग्लो स्थानमा रहेको स्कुल तथा आफन्तको घरमा स्थानान्तरण गरिएको वडाध्यक्ष घलेले जानकारी दिए । उनले भने, ‘पुल पनि धरापमा छ । सबै मान्छेहरु एउटै ठाउँमा कोचाकोच भएर बस्नुभएको छ । हाम्रो बिजोग भयो ।’

मनाङको मर्स्याङदी नदीमा पानीको बहाव बढ्दा नासों गाउँपालिका-१ तालगाउँका ४८ घर डुबानमा परेका छन् भने ६० परिवार विस्थापित भएका छन् । चामे बजारको ६ घर बाढीले लग्यो ।

सोमबारयता लगातार पानी परिरहेकाले सदरमुकाम चामे र नासों तालगाउँबासीको चैन हराएको छ । नासों गाउँपालिका अध्यक्ष चन्द्र घलेकाअनुसार तालगाउँ डुबेपछि गाउँलेहरु तालडाँडामा त्रिपाल टाँगेर बसेका छन् ।

‘पानी रोकिएको छैन । गाउँले सबै डराएका छन् । बाढीले बितण्डा मच्चाइरहेको छ । गाउँमा केके लग्यो, केके बाँकी छन् भन्ने पत्तो छैन,’ उनले भने ।

मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेका अनुसार चामेमा चामे बजारका करिब ३ सय जनालाई जिल्ला कारागार भवनमा ल्याएर राखिएको छ । ‘नासोंमा राहत सामाग्री ल्याएर हेलिकप्टर बस्न सक्ने अवस्था पनि छैन,’ उनले भने, ‘हाइड्रो पावर बिग्रिएकाले बिजुली छैन ।’

गाउँमा राहत पुर्‍याउन हेलिकप्टर तयारी अवस्थामा राखिएको भए पनि लगातार पानी पर्दा जानै नसक्ने अवस्था रहेको प्रमुख जिल्ला अधिकारी लामिछानेले बताए ।

मनाङको ङावलमा बुधबार विहान पहिरो खसेर मर्स्याङ्दी नदी नै थुनिँदा तल्लो तटीय क्षेत्र नै जोखिममा छ । ‘विस्तारै नदी खुल्न थालेको छ तर पानी लगातार परिरहेकाले जोखिम भने उत्तिकै छ,’ प्रजिअ लामिछानेले भने, ‘पानी परिरहेका कारण क्षति भइसकेका ठाउँमा उद्धार र राहतमा समस्या परेको छ भने क्षति झन् बढ्न सक्ने भएकाले सचेत रहन भनेका छौं ।’

सीडीओ  लामिछानेका अनुसार नासो गाउँपालिकाकाको कार्यालय, इलाका प्रहरी कार्यालय, प्रभु बैंक, प्राइम कमर्सियल बैंकको भवन बाढीले बगाएको छ । साथै ५ वटा होटल पनि बगाएको छ । राहत लिएर काठमाडौंबाट आउने हेलिकप्टरको पर्खाइमा स्थानीय रहेको उनको भनाइ छ ।

सीमा प्रहरी चौकी धारापानीका अनुसार नासो गाउँपालिका धारापानीमा रहेको प्राइम कमर्सियल बैंकमा कार्यरत एक जना कर्मचारी सम्पर्कविहीन बनेका छन् । डिएसपी सुवास खड्काले उनको खोजी भइरहेको जानकारी दिए ।

चामेको तिल्चिङ घट्टा र कोदो बीचमा १०० मिटर सडक बगाएको प्रदेश प्रहरी कार्यालय पोखराका एसएसपी तथा सूचना अधिकारी मोहनप्रसाद पोखरेलले जानकारी दिए ।

‘सडक अवरुद्ध छ । हेलिकप्टरसमेत जाने अवस्था छैन । बाटो ठाउँ ठाउँमा पहिरोले परेको सूचना प्राप्त छ,’ पोखरेलले भने, ‘जसका कारण उद्धार र राहतमा समस्या छ ।’ मानवीय क्षति नभए पनि अन्य क्षतिको हिसाबकिताब गर्ने अवस्था नरहेको प्रहरीले जनाएको छ ।

मनसुनको सुरुमै २ सय ५० घर विस्थापित

गण्डकी प्रदेशका विभिन्न जिल्लामा अहिलेसम्म बाढी पहिरोका कारण करिब २ सय ५० भन्दा धेरै घर विस्थापित भएका छन् । करिब ८ जना मानिस विस्थापित भएका प्रहरीले जनाएको छ ।

गोरखामा आरुघाट गाउँपालिका-२ मा ठोटनेरी खोलाले ३८ वर्षीय गोविन्द चौधरीलाई बगाएर बेपत्ता पारेको छ । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा पनि १ जनालाई खोलाले बगाएको छ।

म्याग्दीका विभिन्न ठाउँमा पहिरोबाट करिब ३२ घर परिवार विस्थापित भएका छन् । अन्नपूर्ण गाउँपालिकाको शिख, बेनी नगरपालिकाको सल्लेरी, बगरफाँट, डाँडाखेत र मंगलाको तल्लो डडुवामा पहिरोले क्षति पुर्‍याएको हो ।

अन्नपूर्ण-५ घोस्केखोरमा सात, स्वातमा तीन र पाउद्वारमा दुई घरमा पहिरोले क्षति पुर्‍याएको छ । पहिरोका कारण बेनी-२ बगरफाँटमा ९ र वडा नं ८ सल्लेरीमा ४ घरपरिवार विस्थापित भएका छन् । बेनी-४ डाँडाखेतमा ३ परिवार विस्थापित भएका छन् ।

मंगला गाउँपालिका-२ मा १६ जनाको परिवार पहिरोका कारण विस्थापित भएको छ ।

पहिरोका कारण बेनी-मालढुंगा, बेनी-बागलुङ, बेनी-जोमसोम सडकअवरुद्ध भएका छन् । जिल्ला सदरमुकामसँग जोड्ने थ्रुपै सडकहरु पहिरोले अवरुद्ध पारेको छ भने शिखको स्वाँतखोलाको मोटरेबल पुल बगाएको जिल्ला प्रशासन कार्यालय म्याग्दीले जनाएको छ ।

लमजुङको मस्र्याङ्दी नगरपालिका-३ बुद्धबजारमा मर्स्याङ्दी नदीले डुबाउँदा ५ परिवार विस्थापित भएका छन् । बेंसीशहर-६ डाडागाँउमा पहिरोका कारण मानध्वज थापाको घर विस्थापित भएको छ । लमजुङ दोर्दी ६ कृतिपुरमा सुपर दोर्दी हाइड्रो पावरको ड्याममा बाढीले क्षति पुर्‍याएको छ ।

बागलुङमा पनि विभिन्न ठाउँमा अविरल पानीका कारण क्षति पुगेको छ । करीब १५ परिवार विस्थापित भएका छन् । जैमिनी-७ सेतीढुंगाका ९ घरमा क्षति पुगेको छ ।

बागलुङका थुप्रै ठाउँमा सडक अवरुद्ध भएका छन् । काठेखोलामा ३ घरमा क्षति पुगेको छ ।

ढोरपाटन नगरपालिका-९ नबीमा १० मिटर माथिबाट पहिरो खस्दा २ घर पुरेको छ । काठेखोला गाउँपालिका-६ इनारपानीमा १ घर पहिलोले विस्थापित गरेको छ ।

गल्कोट गाउँपालिका-१ दोधिला भाटीमा रहेको बर्दे खोला बढ्न गई पहिरो जाँदा ४ घर विस्थापित भएका छन् । गल्कोट-३ लोकतान्त्रिक चोकमा विभिन्न ठाउँको जमिन भासिएर घर जोखिममा परेको छ ।

बरेङ गाउँपालिका-२ सानो दलेनमा पहिरोले ४ घरमा क्षति पुर्‍याएको छ । पहिरोका कारण सबै घरलाई छिमेकीमा सारिएको प्रहरीले जनाएको छ ।

कास्कीको मादी गाउँपालिका-७ स्थित मादी खोलाको पानीको बहाव बढ्दा ६ घर परिवारलाई अन्यत्र सारिएको छ । कास्की पोखरा महानगरपालिका-२७ रुठ्ठेपानीस्थित घर भत्किँदा सेतु विक घाइते भएकी छन् । उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । परिवारका अन्य ४ जनाको प्रहरीले उद्धार गरेको छ ।

अन्नपूर्ण गाउँपालिका-७ वीरेठाँटी स्थित मोदी खोलाको पानीको बहाब बढेपछि ६ घरलाई सुरक्षित ठाउँमा सारिएको छ । अन्नपूर्ण-६ हाइजुङमा पहिरोका कारण ४ जनाको परिवार बिस्थापित भएका छन् ।

अन्नपूर्ण-८ छेदगाउँमा पहिरोका कारण ४ घर विस्थापित भएका छन् । कास्कीमा विभिन्न ठाउँमा जमिन भासिएको छ भने बाटो पनि अवरुद्ध भएको खबर आइरहेका छन् ।

पर्वतको बिहादी गाउँपालिका-६ सेतीबेणीस्थित कालीगण्डकी नदीको किनारमा रहेको ९ वटा घर डुवानमा परेका छन् । जलजला गाउँपालिका-३ मा वर्षाका कारण एउटा घर भत्किएर विस्थापित भएका छ । मुस्ताङको थासाङमा पहिरोका कारण ३ जनालाई स्थानान्तरण गरिएको छ।

तनहुँको भानु, घिरिङ लगायतका विभिन्न ठाउँमा पहिरोले सडक अवरुद्ध पारेको जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ । शुक्लागण्डकीमा सेती नदीको बहाब बढेकाले किनारका बस्तीलाई सचेत गराइएको छ।

स्याङ्जामा हरिनाश-४ सिरौलेमा सडकमा हिँडिरहँदा पहिरो खसेर घाइते बनाएको छ । उनको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

अविरल वर्षाका कारण नारायणी नदीको वहाव बढ्दा नवलपुर गैँडाकोट नगरपालिका-२ बोटे टोलका १ सय ५० परिवार उच्च जोखिममा परेको प्रहरीले जनाएको छ । गैंडाकोट-२ स्थित महेन्द्र स्मारक निमाविमा १८ परिवार र अक्सफोर्ड कलेजमा ३० घरका १५० जनालाई सारिएको छ ।

तनहुँको ब्यास नगरपालिका-१३ कमलबारीमा पहिरोले ६ घर जोखिममा परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?