Comments Add Comment

संस्कारसहितको शिक्षाका लागि सबैले गरौं पहल

आफूलाई अब्बल बनाउने सोच राख्नु मानवीय स्वभाव नै हो । आफ्नो उन्नति र प्रगति चाहनु प्राकृतिक नियम नै हो । तर किन हामी सबैले चाहेको, सोचेको प्राप्त हुँदैन त ? यसको बाधक के हो ? कसरी हटाउने हो ? यस सम्बन्धमा मेरो आफ्नै भोगाइ छ ।

म पहिलो पटक कक्षा ११ को पढाइका लागि काठमाडौं आएपछि घरका चार जना एउटा कोठामा कोचिएर बस्दाको कष्टकर जीवन अहिले पनि सम्झन्छु । प्रत्येक दिन बिहान ट्वाइलेटको लागि कुरेर लाइनमा बस्दाको पीडाले सारै नै पिरोल्ने गर्दथ्यो ।

शायद त्यो पीडाले मलाई संघर्ष गर्न सिकायो र अग्रज दाइको निरन्तर सल्लाह, सुझाव र निगरानीले जीवनलाई सही मार्गमा अघि बढ्न प्रेरित गर्‍यो । त्यो पीडादायी जीवनले काठमाडौंमा आफ्नै घर बनाउने सपना देखें र त्यो पूरा पनि भयो ।

हरेक मानिसका विभिन्न सपना र चाहना हुन्छन् तर किन पूरा हुँदैनन् त ? मुख्यतः कुनै पनि समाज, राष्ट्र परिवर्तनका लागि दुई वटा महत्वपूर्ण आधार रहने गर्दछन्; शैक्षिक र राजनीतिक ।

व्यक्तिको सोच, आचरण, प्रगति, समुन्नतिको आधार स्तम्भ शैक्षिक गुणस्तरीयताले मापन गर्दछ भने कानूनी राज्यको निर्माण गरी विभिन्न पद्धतिको विकास गरी आम मानिसमा राष्ट्र र राष्ट्रियताप्रति सम्मान जगेर्ना गरी सबैलाई एकजुट गराउने काम राजनीतिले गर्दछ ।

अभिभावकले शिक्षक/शिक्षिकासँग मेरो बाबु/नानी बिहान उठ्न मान्दैन भन्दिनु, गाली गर्दिनु भनेर अनुरोध गरेको पाइन्छ । हामीले एक पटक सोचौं त, हामी कति परनिर्भर भइराखेका छौं । आफ्ना बालबालिकालाई बिहान सबेरै उठाउने बानीको विकास पनि आफैंले गराउन सक्दैनौं र !

सम्पूर्ण नीतिको माउनीति नै राजनीति हो र यसले सम्पूर्ण क्षेत्रमा प्रभाव पार्ने गर्दछ । हाल नेपालको शिक्षा क्षेत्र पनि यसको चपेटामा परेको छ ।

हाल शिक्षा क्षेत्रमा रहेका ‘स्टेक होल्डरहरू’ को सोच

अभिभावककै कुरा गरौं । अधिकांश अभिभावक गुणस्तरीय शिक्षा, सामाजिक मूल्यमान्यता दिने कार्य शैक्षिक संस्थाको हो भन्ने ठान्नुहुन्छ । घर बालबालिकाको पहिलो पाठशाला हो भन्ने कुरा हामी सबैले पढे–सुनेकै कुरा हो तर यसलाई हामीहरूले कत्तिको आत्मसात् गरेका छौं ?

विद्यार्थीका स–साना विषयवस्तु पनि शैक्षिक संस्थामा आवद्ध व्यक्तिहरूले समाधान गरिदिउन् भन्ने धेरै अभिभावकको चाहना हुन्छ । म यहाँ सामान्य विषयवस्तुहरू राख्न चाहन्छु ।

अभिभावकले शिक्षक/शिक्षिकासँग मेरो बाबु/नानी बिहान उठ्न मान्दैन भन्दिनु, गाली गर्दिनु भनेर अनुरोध गरेको पाइन्छ । हामीले एक पटक सोचौं त, हामी कति परनिर्भर भइराखेका छौं । आफ्ना बालबालिकालाई बिहान सबेरै उठाउने बानीको विकास पनि आफैंले गराउन सक्दैनौं र !

अधिकांश अभिभावकको अर्को एउटा गुनासो हुन्छ, ‘मेरो बाबु नानी जतिखेर पनि मोबाइल/ट्याब/आइप्याड/ल्यापटप/टिभीमा व्यस्त हुन्छ, सम्झाइदिनुस् न सर’ भनेर आग्रह गरेको पाइन्छ । यो आग्रह विद्यालयमा मात्र होइन कतै बाटो, भोजभतेरमा शिक्षक/शिक्षिकाहरूलाई भेट्नुभयो भने पनि भन्न बाँकी राख्नु हुन्न ।

कसरी गर्ने त समस्या समाधान ?

त्यसो भए यो सब किन भइराखेको छ त ? अभिभावकहरू जसरी आफू हुर्किनुभएको थियो त्यसैगरी अहिलेको पिंढीलाई हुर्काउन खोज्नुहुन्छ । त्यो अब संभव छैन भने अर्कोतिर हामी आफैंले बालबालिकाको बानी बिगारिदिएका छौं ।

बिहान सबेरै उठ्ने कुरामा नै हेरौं न, हामीले हाम्रा बालबालिकालाई समयमै सुत्न/उठ्न सिकायौं त एक पटक सोधौं आफैंलाई । शनिबार/विदा त हो नि ढिलोसम्म सुत्दा के फरक पर्छ र भन्ने हामी आफैं हौं ।

त्यति मात्र होइन बालबालिका हामीले भनेको होइन, हामीले जे गर्छौं त्यसको सिको गर्दछन् । त्यसैले हामीले बालबालिकाहरूले ग्याजेटमा धेरै समय नबिताओस् भन्ने चाहन्छौं भने आफूहरूले पनि त्यसमा कम समय विताउनुपर्‍यो । हामी नै ठीक समयमा सुत्ने, उठ्ने गर्दैनौं भने बालबालिकाको के कुरा ?

बालबालिकाले पढोस् भन्ने चाहनुहुन्छ भने आफूहरूले पनि घरमा पुस्तक पढ्ने बानी बसाल्नुपर्छ । प्रत्येक मानिसको आचरण/बानी बसाल्न कम्तीमा पनि २१ दिन लाग्दछ तर हामी एक हप्ता पनि निरन्तरता दिन सक्दैनौं ।

तसर्थ अभिभावकहरू आफूले हिजो जे सिक्नुभयो, जसरी सिक्नुभयो शायद आजको परिवेशमा त्यो कत्तिको समयसापेक्ष छ हामीले एकपटक नियाल्नु आवश्यक छ । सूचना तथा सञ्चारप्रविधिमा जति छिटो परिवर्तन आएको छ त्यसको प्रभाव सबैभन्दा बढी नयाँ पिंढीमा परेको छ ।

विद्यालयले पनि अभिभावकहरूलाई निरन्तर रूपमा अभिभावक शिक्षा कार्यक्रमहरू राख्नुपर्दछ । अभिभावकहरू स्वयंले आफूले आफैंलाई ‘अपडेट’ गर्नुपर्दछ । बालबालिकाको लागि हामी अभिभावकको जीवनशैली, आनी–बानी सिकाइको एउटा ठूलो स्रोत हो ।

हामी आफु किताब पढ्न मन गर्दैनौं तर बाबु–नानीहरूलाई जतिखेर पनि पढ्नुपर्दछ भन्ने गर्छौं । हामीले बाबुनानीहरूको शासक भएर होइन कि साथी भएर सँगसँगै काम गर्ने बानी बसालौं ।

शिक्षामा के गर्ने त ?

कुनै पनि देशलाई विकास र समृद्धिको बाटोतिर लैजाने हो भने सर्वप्रथम शिक्षामा परिवर्तन ल्याउनुपर्छ । सर्वप्रथम शिक्षण पेशामा लागेका शिक्षक–शिक्षिकाहरूले आफ्नो पेशाप्रति गर्व गर्नुपर्दछ । प्रायःजसो सुन्ने गरिन्छ कि समाजले शिक्षाको सम्मान गरेन तर हामी शिक्षाकर्मीले पनि आफ्नो पेशालाई सम्मान गरेका छौं त ? यो क्षेत्रलाई/यो पेशालाई सम्मानित बनाउने काम मुख्यतः हाम्रै होइन र ?

कुनै पनि पेशा सम्मानित बन्नुको पछाडि स्वयं त्यसमा आबद्ध पेशाकर्मीहरूको ‘प्रोफेसनालिजम्’ को हात हुन्छ । शिक्षाकर्मीहरू समाजको सबैभन्दा बढी विवेकशील र समाजलाई सही बाटोतिर डोर्‍याउन सक्ने व्यक्ति हुन् ।

तर, हामी हाम्रो बौद्धिकता प्रयोग गर्नु सट्टा अरूप्रति आशा र भरोसा गरिरहेका छौं । समाज परिवर्तनका लागि नेतृत्व शिक्षाकर्मीले लिनुपर्दछ र गुणस्तरीय शिक्षाका लागि प्रत्येकले पहलकदमी लिनु नितान्त आवश्यक छ ।

हाल शिक्षाको गुणस्तरीयता कायम गर्न अरूलाई होचो देखाएर, अरूको खुट्टा काटेर सबैलाई बराबर बनाउने प्रयास गर्दछौं जुन दुर्भाग्य हो । केही वर्ग, पेशाकर्मीका छोराछोरी पढ्ने विद्यालय स्थापना गर्ने कार्य भइराखेको छ । संस्कार सहितको गुणस्तरीय शिक्षा पाउने अधिकार सबै तप्काका बालबालिकालाई छैन र !

जबसम्म संस्कार सहितको शिक्षा सिद्धान्तमा होइन कि व्यवहारमा दिन सकिंदैन तबसम्म जतिसुकै राजनीतिक परिवर्तन आए पनि तात्विक रूपमा हाम्रो जीवनमा परिवर्तन आउन सक्दैन । किनकि नयाँ पुस्ता पनि आफ्नो स्वविवेक र निष्ठामा खरो उत्रिन सक्दैन ।

बालबालिकाको पहिलो पाठशाला आफ्नो घर र पहिलो गुरु–गुरुआमा आफ्नो बुबा–आमा भएकोले प्रत्येक घरघरमा सचेतना आउनु आवश्यक छ । साना बालबालिकाको मस्तिष्कमा आमाबुवा तथा अन्य घरका सदस्यहरूले जे रोप्छौं फल त्यसको नै आउँछ । नासपाती रोपेर स्याउको आशा गर्नुको कुनै तुक छैन ।

एकपटक हामीले सोचौं त साना बालबालिकाको मस्तिष्कमा भूतको तस्वीर हामीले बनाएका हैनौं र नत्र कसले देखेको छ त भूत ? देख्नेले पनि आफ्नै मस्तिष्कले बनाएको भूतको तस्वीर देखेका हौं वास्तविकतामा होइन ।

हामी सबैले आ–आफ्नो तह र तप्काबाट हाम्रा शिक्षाकर्मीको सम्मान गरौं । संस्कार सहितको शिक्षाका लागि जे गर्न सकिन्छ, जस्तो गर्न सकिन्छ उठौं, जागौं, लेखौं, बोलौं र गरौं । एकपटक प्रण गरौं बेथितिका विरुद्ध बोल्छु र सकारात्मक अभियानलाई सम्मान गरी सहयोग गर्दछु भनेर ।

(जोशी आदर्श विद्या सदनका प्राचार्य हुन् ।)  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment