Comments Add Comment

मुस्ताङमा कोरोना खोपलाई खोला तार्दा पाएको अन्तर्राष्ट्रिय प्रशंसा

६ असार, काठमाडौं । असार १ गते बिहान मुस्ताङको थासाङ गाउँपालिकास्थित छाक्ताङ खोलामा बाढी आएपछि कोरोना खोप लिन हिँडेका टुकुचे र कोवाङ स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी समस्यामा परे ।

गाउँपालिकाले खोप लगाउन ५५ वर्षमाथिका नागरिकलाई खबर गरिसकेको थियो । खोला तरेर जान सक्ने अवस्था थिएन । उनीहरुले उपाय निकाले, लामो लौरी (सायद फलामको पाइप)मा राखेर खोपको बक्सा पारी पुर्‍याउने ।

ज्येष्ठ नागरिकलाई कोरोना खोप समयभित्रै लगाउन स्वास्थ्यकर्मीहरुले लगाएको जुक्तिको अन्तर्राष्ट्रिय मञ्चमै प्रशंसा भइरहेको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का महानिर्देशक डा टेड्रोस एडहानोम गेहब्रेयसले समेत मुस्ताङका स्वास्थ्यकर्मीले गरेको उक्त कार्यको मुक्तकण्ठले प्रशंसा गर्दै भिडियो ट्वीट गरे ।

नेपाली स्वास्थ्यकर्मीलाई ‘हिरोको संज्ञा’ दिँदै उनले ट्वीटरमा लेखेका छन्, ‘स्वास्थ्यकर्मीहरू अरुको जीवन बचाउन कसरी लागिपर्छन् भन्ने यो उदाहरण हो । कतिपय देशमा यस्ता हिरोहरूलाई अझै खोप दिइएको छैन ।’

****

मुस्ताङको थासाङ गाउँपालिकाका ५५ वर्षमाथिका नागरिकलाई १ असारमा कोभिशिल्डको दोस्रो डोज खोप लगाउने कार्यक्रम थियो । जिल्ला जनस्वास्थ्य कार्यालय मुस्ताङले थासाङ गाउँपालिकालाई पुग्ने खोप लेते प्राथमिक स्वास्थ्य केन्द्रमा पुर्‍याइसकेको थियो । तर सबै स्वास्थ्य चौकीमा खोप राख्ने कोल्ड चेन नभएका कारण लेतेमै राखिएको थियो ।

३१ गते लेतेबाट खोप लैजाने र १ गते जेष्ठ नागरिकलाई खोप दिने योजना थियो । तर २८ गतेदेखि भिषण वर्षा सुरु भयो । छाक्ताङ खोलामा बाढी उर्लिएर आयो ।

बाढीकै कारण वडा नम्बर १ को टुकुचे स्वास्थ्य चौकी र वडा नम्बर २ को कोवाङ स्वास्थ्य चौकीमा असार १ गते बिहानसम्म खोप पुर्‍याउन सकिएन ।

जबकी फागुन २३/२४ गते पहिलो डोज खोप लगाइसकेका नागरिकलाई असार १ गते १० बजे खोप केन्द्रमा आउने खबर गरिसकिएको थियो । दुबै वडामा गरी झण्डै ६० जना जेष्ठ नागरिक खोप पर्खाइमा थिए ।

लेते प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख मेडिकल अफिसर डा. लक्ष्मण थापाका अनुसार दुवै स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीलाई गाउँपालिकाको गाडीमार्फत खोप पठाइएको थियो । टुकुचे र कोवाङ स्वास्थ्य चौकीका लागि गाउँपालिकाको गाडीमा खोप लिएर गएका चालक गगन विक छाक्ताङ खोलामा बाढी आएका कारण पारी नै रोकिए ।

खोप रिसिभ गर्न खाएका टुकुचे स्वास्थ्य चौकीका अहेब सविन खत्री र कोवाङ स्वास्थ्य चौकीका हेल्थ एसिस्टेन्ट लालबहादुर रोकाया छाक्ताङ खोला पारी रहे ।

बाढी ठूलो आवाज निकालेर उर्लिरहेको थियो । नदीको गड्गडाहडले वारि बोलेको कुरा पारि र र पारि बोलेको कुरा वारिकाले सुन्नसक्ने अवस्था थिएन । ‘लेते प्राथमिक स्वास्थ्य केन्द्रबाट गाडीमा खोप बोकेर आएँ, तर छाक्ताङ खोला तरिनसक्नु थियो’ चालक विकले अनलाइनखबरसँग भने, ‘गड्याङगड्याङ आवाज निकाल्दै बौलाहा रुपमा बगिरहेको थियो । छाक्ताङसँग पैंठेजोरी खेलर पारी तर्न सक्ने हिम्मत भएन ।’

हामीहरुले भाइरल हुनका लागि भिडियो खिचेका थिएनौं । तोकिएकै दिन जेष्ठ नागरिकले खोप लगाउन पाउन् भन्ने उद्देश्यले खोप तार्नका लागि बुद्धिको प्रयोग गरेका थियौं । जुन जुक्तिले काम गर्‍यो र नागरिकले खोप पाए । डब्ल्यूएचओका प्रमुखसम्मले नेपाली स्वास्थ्यकर्मीहरुको प्रशंसा गर्नुले नेपालकै गौरव बढेको छ ।

चालक विकको जुक्तिको प्रयोग

छाक्ताङ खोलाको तर्नसक्ने अवस्था नभएपछि पाइपको सहायताले भ्याक्सिनको बाकस तारियो ।

चालक बिकका अनुसार जब खोला तर्ने अवस्था भएन, उनी छाक्ताङ खोलामा पुल बन्दै गरेको ठाउँमा गएर यताउति हेरे । त्यहाँ एउटा पुरानो लामो फलामको पाइप देखे ।

‘त्यही पाइप बोकेर ल्याएँ र पाइपमा भ्याक्सिन क्यारियरलाई राखेर कसरी पारी तार्न सकिन्छ भनेर खोलाको डीलमा परीक्षण गरे । भन्छन्, ‘पहिला पाइपको छेउमा भ्याक्सिन क्यारियर तार्न खोजें । तर भ्याक्सिन क्यारियर अडाउन नसकिने जस्तो लाग्यो । त्यसपछि फेरि भ्याक्सिन क्यारियरलाई पाइपको आफूतिर भएको भागमा सारेँ । एक्लै गाह्रो भयो । खोला किनारामा एकजना पैदल यात्री हिँडिरहेका थिए । उसको सहयोग लिएँ । र अन्ततः दुईवटा भ्याक्सिन क्यारियर पाइपको सहायतमा पारी तार्न सफल भयौं ।’ त्यो पाइप नै खोपलाई खोला पारि पुर्‍याउने उपयुक्त औजार बन्न पुगेको उनको भनाइ छ ।

‘बाढीको ठूलो आवाजले वारिपारी बोलेको एकअर्काले सुन्ने अवस्था थिएन’ कोवाङ स्वास्थ्य चौकीका हेल्थ एसिस्टेन्ट रोकायाले भने, ‘तर पनि गगन दाइलाई हामीले हातको इशारामा खोप तार्ने जुक्ति भन्यौं । उहाँले सुन्नुभयो/भएन, थाहा छैन, तर पुल बन्दै गरेको ठाउँबाट फलामको लामो पाइप बोकेर आउनुभयो । हामीले खोलाको साँघुरो भाग खोजेर ठूलो ढुँगामा टेकेर खोप तार्ने योजना बनायौं । र त्यसमा सफल पनि भयौं ।’

टुकुचे स्वास्थ्य चौकीका अहेव सवीन खत्रीका अनुसार उनीहरु रहेकै किनारतिर स्थानीय वासिन्दा खोला तर्न नसकेर बसेका थिए । उनैले ‘यस्तो जोखिम मोलेर काम गर्नुभएको छ, सम्झनाका लागि फोटो/भिडियो खिच्नुस् न’ भने ।

‘तर हामीले त्यसलाई वास्ता गरेका थिएनौं । तर खै के मनमा आएछ कुन्नी लालबहादुर सरले जोखिम मोलेर काम गरिररहेका छौं भोलिका लागि सम्झनायोग्य हुनसक्छ । फोटो/भिडियो खिच्नुस् न भन्नुभयो’ सवीन भन्छन्, ‘उहाँले म एक्लैले रिसिभ गर्नसक्छु भनेपछि मैले फोटो खिचेँ । अनि भिडियो पनि बनाएँ ।’

कसरी भयो भिडियो भाइरल ?

खोप आएपछि उनीहरु आ–आफ्नो स्वास्थ्य चौकी पुगे । स्वास्थ्य केन्द्र पुग्दा जेष्ठ नागरिकहरु आइसकेका थिए । खोप लगाएपछि स्वास्थ्य चौकीकी अनमी एन्जिला थकालीलाई खोप तार्नका लागि गर्नुपरेको संघर्ष सुनाए ।

उनले सो फोटो र भिडियो सामाजिक सञ्जालमा राख्न सुझाव दिइन् । ‘मलाई सामाजिक सञ्जालमा राख्न मन लागेन । महामारीबाट बच्नका लागि महत्वपूर्ण मानिने खोप जस्तो स्वास्थ्य सामग्री तार्न यस्तो जोखिम मोलेको सबैले उचित नमान्ला भन्ने लाग्यो । मानौं यदि जोखिम मोलेर खोप तार्दा भ्याक्सिन क्यारियर खोलामा बगेको भए के हुन्थ्यो ?,’ सविन भन्छन्, ‘खोप अभावमा कति नागरिकले कोरोना महामारीबाट ज्यान गुमाइरहेका छन् । हामी स्वास्थ्यकर्मी चाहिँ यस्तो जोखिम मोलेर त्यो खोप तार्नुपर्ने बाध्यता के थियो ?…यस्तै यस्तै प्रश्नको जवाफ भोलि हामीले दिनुपर्छ भन्ने मनमा आयो । त्यसैले मैले सामाजिक सञ्जालमा फोटो र भिडियो राखिन ।’

तर अनमी थकालीले हेर्नका लागि फोटो र भिडियो सेयर गरिदिनुस् न सविन सर भनिन् । उनले त्यो फोटो र भिडियो अनमी एन्जिलालाई सेयर गरे । ‘उहाँले त्यो भिडियो टिकटिकमा हाल्नु भएछ । त्यसपछि एकाएक त्यो भिडियो भाइरल भएछ । जिल्ला, प्रदेश हुँदै केन्द्र हुँदै डब्लूएचओसम्म यो भिडियोले चर्चा पाइसकेछ,’ सविनले भने ।

भाइरल हुनका लागि बनाइएको थिएन भिडियो

छाक्ताङ खोलामा खोप तार्ने कार्यमा संलग्नहरू अहिले सामाजिक सञ्जालमा भाइरल भएका छन् ।

उनीहरु भने भाइरल हुन भिडियो नखिचिएको बताउँछन् । भोलिका दिनमा जोखिमपूर्ण कामबारे सम्झनाका लागि फोटो र भिडियो खिचेको उनीहरू बताउँछन् ।

पीपीई सेट लगाएर भ्याक्सिन बाकस रिसिभ गर्ने व्यक्ति कोवाङ स्वास्थ्य चौकीका हेल्थ एसिस्टेन्ट रोकाया थिए । खोलाको अर्को डिलको किनाराबाट फलामको पाइपमा भ्याक्सिन बाकस राखेर पठाउने व्यक्ति चालक गगन थिए । चालक गगनलाई पछाडिबाट पाइप समाएर सघाउने व्यक्ति खोला तर्न बसेका स्थानीय व्यक्ति थिए ।

फोटो/भिडियो खिच्ने व्यक्ति थिए टुकुचे स्वास्थ्य चौकीका अहेब खत्री ।

भाइरल भिडियो खिच्ने टुकुचे स्वास्थ्य चौकीका अहेब खत्री चर्चा बटुल्नका लागि फोटो र भिडियो बनाउँदै नबनाएको बताउँछन् ।

‘त्यो सकस र जिम्मेवारीको बेला के को चर्चा र भाइरलको कुरा दिमागमा आउँथ्यो, काम गराइको भोगाइ भोलिका दिन स्मरणीय पल हुने सोचाइले खिचिएको हो,’ उनले भने, ‘हाम्रो कामको उच्च मूल्यांकन गर्दै स्याबासी पाउँदा भने खुशीको सीमा रहेन । डब्ल्यूएचओका प्रमुखले समेत मैले खिचेको भिडियोलाई ट्वीट गर्दै नेपाली स्वास्थ्यकर्मीलाई ‘हिरो’को संज्ञा दिएको थाहा पाउँदा काम गर्ने हौसला चुलिएको छ ।’

उदयपुरको त्रियुगा नगरपालिका–२ स्थायी घर भएका अहेब खत्री डेढवर्ष अघि मात्रै करारमा सो गाउँपालिकामा काम गर्ने अवसर पाएका थिए । छोटो समयमा नै आफूले गरेको कामको उच्च मूल्यांकन हुँदा थप हौसला मिलेको उनले बताए ।

खोप तार्न मास्टर माइन्डको प्रयोग गरेका गगन विकसमेत आफूहरूको कामको प्रशंसा भएको सुन्दा निकै खुसी लागेको सुनाउँछन् । ‘हामीहरुले भाइरल हुनका लागि भिडियो खिचेका थिएनौं । तोकिएकै दिन जेष्ठ नागरिकले खोप लगाउन पाउन् भन्ने उद्देश्यले खोप तार्नका लागि बुद्धिको प्रयोग गरेका थियौं,’ उनले भने, ‘जुन जुक्तिले काम गर्‍यो र समयमै नागरिकले खोप लगाउन पाए ।’

डब्ल्यूएचओका प्रमुखले नेपाली स्वास्थ्यकर्मीहरुको प्रशंसा गर्नुले नेपालकै गौरव बढेको भन्दै खत्रीले देशभरका स्वास्थ्यकर्मीको मनोबल उच्च राख्न सघाएको बताए ।

हेल्थ असिस्टेन्ट रोकायाले आफूहरूले जोखिम मोलेर सत्कर्म गरेका कारण प्रशंसा पाएको बताए । चर्चामा आउनका लागि भिडियो खिचेर सामाजिक सञ्चालमा नहालेको भन्दै उनले अप्ठ्यारो परिस्थितिमा पनि काम गर्न सकिन्छ भन्ने प्रमाणका लागि मात्रै भिडियो खिचेको बताए ।

हेर्नुहोस् भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
प्रेम लामा

Advertisment