+
+

बाघको आक्रमणबाट महिलाको मृत्यु भएपछि निकुञ्ज कार्यालयमा तोडफोड

अनलाइनखबर अनलाइनखबर
२०७८ असार ७ गते २०:३०

७ असार, चितवन । पूर्वी चितवनको रत्ननगर नगरपालिकामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएपछि आक्रोशित स्थानीयबासिन्दाले निकुञ्जको पूर्वी सेक्टर कार्यालयमा सौराहामा तोडफोड र आगजनी गरेका छन् ।

उनीहरुले कार्यालयमा झ्यालका सीसा फोड्नुका साथै कार्यालयका सामग्रीमा आगजनी गरेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले जानकारी दिए ।

जनकौली मध्यवर्ती सामुदायिक वनमा न्यूरो टिप्न गएको बेला रत्ननगर नगरपालिका–५ मगरटोल निवासी ३० वर्षीया गीता अधिकारीको बाघको आक्रमणबाट मृत्यु भएको थियो । उनको शव उठाउन तथा बाघलाई लठ्ठाउने सुई (डार्ट) गर्न ढिलाई गरेको भन्दै स्थानीय वासिन्दा आक्रोशित बनेका थिए ।

बाघलाई दिउँसो ४ बजे मात्रै डार्ट गरेर निकुञ्ज कार्यालय कसरा लगिएको प्रमुख संरक्षण अधिकृत बरालले जनाए । निकुञ्जका प्रमुख संरक्षण अधिकृत बरालले बाघलाई डार्ट गर्ने काम सजिलो नभएको त्यसको आवश्यक तयारीका लागि समय लाग्ने बताए ।

‘यो कुरा स्थानीय जनतालाई बुझाउन नसक्दा उहाँहरु आक्रोशित हुनुभएको छ, मान्छे खाएको बाघलाई डार्ट गर्न निकै तयारी गर्नुपर्छ, हातीहरु जंगल गएको बेला भएकोले पनि ढिला भएको हो’ प्रमुख संरक्षण अधिकृत बरालले भने, ‘नजिकै नेपाल आर्मी लगायतको सुरक्षा निकाय पनि छ, कार्यालयको सुरक्षामा केही ल्याप्सेस भएको अनुभव हामीले पनि गरेका छौं ।’

आक्रमण गर्ने बाघ १० भन्दा बढी उमेरको भाले रहेको निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा. विजयकुमार श्रेष्ठले बताए । सो बाघले यसअघि निकुञ्जको पुरानो पदमपुरमा अर्ना राखिएको इन्क्लोजर भित्र पसेर दुई वटा अर्नालाई मारेको थियो । यो आर्थिक वर्षमा चितवनमा ४ जनाको बाघको आक्रमणबाट मृत्यु भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?