Comments Add Comment
सन्तोषी हत्या प्रकरण :

सडकमा जोडिएको धनबहादुर-सन्तोषी नाताको वियोगान्त

सन्तोषीको हत्या आरोपमा पक्राउ परेका तिम्सिनाको फोटो हेर्दै उनका बुबा धनबहादुर ।

११ असार, काठमाडौं । ‘चरा कराउने मान्छे यहीं बस्ने हो ?’ चार जना व्यक्तिले बुधबार कालोपुलको गुरुङ बस्तीमा रहेको कोठामा बसिरहेका धनबहादुर तामाङ (५२)लाई सोधे । हट्टाकट्टा, छोटाछोटा कपाल भएका व्यक्तिहरु देखेर उनी केहीबेर मौन बसे र जवाफ फर्काए, ‘यहींभित्र बस्छ, म उसको धर्म बुबा ।’

उनलाई अर्को प्रश्न थियो, ‘खोइ.. कता छ ?’ धनबहादुर फोन लगाउँछु भन्दै मोबाइल निकाल्न खोजे । तर उनीहरुले मोबाइल झिक्ने बित्तिकै खोसिदिए । अनि जुत्ता, झोला र ज्याकेटको तस्वीर देखाउँदै एकपछि अर्को प्रश्न गरे ।

त्यसपछि बल्ल धनबहादुरले थाहा पाए, सोधपुछ गर्नेहरु सादा पोशाकका प्रहरी रहेछन् । ‘मैले दिएको झोला नचिन्ने कुरै भएन,’ धनबहादुर भन्छन्, ‘सन्तोषीकै सामान थिए ।’ प्रहरीले सामान देखाउने बित्तिकै धनबहादुरको मनमा चिसो पस्यो । उनी सम्झन्छन्, ‘पक्कै सन्तोषी दुर्घटनामा परिछिन् भन्ने भयो ।’

तर प्रहरी घरमा आएको दुई दिनपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सन्तोषीमाथि बलात्कार प्रयासको प्रतिकार गर्दा हत्या भएको तथ्य सार्वजनिक गरेको छ । पक्राउ परेका आरोपी २९ वर्षीय सुरेश तिम्सिनाले पनि बलात्कार प्रयासको प्रतिकार गरेकाले घाँटी थिचेर हत्या गरेको बयान दिएका छन् ।

प्रहरीले आरोपी सार्वजनिक गर्दा बताएका कारण सुन्दा धनबहादुर झनै बेचैन बनेका छन् ।

चाबहिलमा जोडिएको सम्बन्ध

सिन्धुपाल्चोकका धनबहादुर तामाङले काठमाडौंमा बसेर मजदुरी गर्न थालेको तीन दशक नाघिसक्यो ।

करिब १८ वर्षअघि उनी ‘विक्रम ट्याम्पो’ चलाउँथे । गाडी थन्क्याएर राति १० बजे चाबहिल चोकमा बसिरहेका थिए, अगाडि ठेलामा अम्लेट बनिरहेको थियो । एक जना बालिका आइन् र धनबहादुरलाई ‘अंकल, मलाई एक रुपैयाँ दिनु न’ भनिन् । गोजीबाट दुई रुपैयाँ निकालेर दिए, बालिका गइन् ।

‘केहीबेर घुमेर त्यही बच्ची फेरि आई र अम्लेट माग्न थाली,’ धनबहादुर भन्छन्, ‘माया लाग्यो, खाँदै गरेको आधा दिएँ ।’ अम्लेट पाएपछि उनले एक दिन बास मागिन् । सन्तोषीसँगको पहिलो भेट सम्झिँदै धनबहादुर भन्छन्, ‘मैले त हप्काएँ, तर उनी बसिरहिन् ।’ धनबहादुरलाई माया लाग्यो र कोठामा ल्याएर सुताए । अर्को बिहान धनबहादुर उठ्दा उनी हिँडिसकेकी थिइन् ।

एक सातापछि फेरि आइन् । भोलिपल्ट लुसुक्क गइन् । आउनेजाने श्रृंखला दोहोरिरह्यो । धनबहादुरले उनलाई बुबाआमाबारे सोधे, तर उनले दुवै नभएको बताइन् । चार वर्षअघि दिएको एक अन्तर्वार्तामा उनले आमाले सानैमा आत्महत्या गरेको र बुबाले सौतेनी ल्याउँदा आफू घर छाडेर हिँडेको भनेकी छन् ।

धनबहादुरको पनि पत्नीसँग सम्बन्धविच्छेद भइसकेको थियो, छोराछोरी थिएनन् । सन्तोषीको आउने जाने क्रम चलिरहेको थियो, एकदिन उनले धनबहादुरलाई बुबा भनेर बोलाइन् । धनबहादुरको मनमा छोयो र धर्म छोरीको रुपमा घरमा राखे ।

सन्तोषीको आउने जाने क्रम चलिरहेको थियो, एकदिन उनले धनबहादुरलाई बुबा भनेर बोलाइन् । धनबहादुरको मनमा छोयो र धर्म छोरीको रुपमा घरमा राखे ।

पढ्न मानिनन्, पशुपंक्षीप्रति लगाव

धनबहादुरले सन्तोषीलाई सरकारी विद्यालय भर्ना गरिदिए । तर उनी खाजा खाने समय हुनासाथ भागेर आउँथिन् । ‘एउटा विदेशीको सहयोगमा पैसा नलाग्ने स्कुलमा पनि हालें,’ उनी भन्छन्, ‘टिफिन दिन्थ्यो, खाने बित्तिकै आउन थालिन् ।’

पढाइमा उनले रुचि देखाइनन् । धनबहादुरले पनि जिद्दी गरेनन् । सन्तोषीको पशुपंक्षीप्रति अनौठो लगाव थियो । धनबहादुर भन्छन्, ‘शायद आफू सानैमा आमाबुबा र परिवारबाट टाढा भएर हो कि, कुनै पशुपंक्षी अप्ठ्यारोमा परेको हेर्न सक्दिन थिइन् ।’

धनबहादुरका अनुसार सन्तोषीले आश्रय त पाएकी थिइन्, तर पारिवारको माया भने पाउन सकेकी थिइनन् । धनबहादुर थप्छन्, ‘मैले पनि दिउँसो काम गर्नैपर्‍यो, नभए छाक टार्न गाह्रो हुन्छ ।’ सन्तोषी दिउँसो विभिन्न ठाउँ हिँडिराख्थिन्, कहिले मन्दिरमा गएर त्यहाँ चढाएको कुरा बोकेर आउँथिन् ।

आफूले पटकपटक जथाभावी हिँड्न रोक्न खोजे पनि उनको बानी नसुध्रिएको धनबहादुरले सुनाए । उनी भन्छन्, ‘बाहिर गएपछि उनी बिरालो, मुसा, कुकुर, परेवा, माछा लगायतको बच्चा ल्याइहाल्थिन्, माया गरेर राख्थिन् ।’ सन्तोषी उमेरले २७ पुगिसके पनि मानसिक अवस्था बच्चाको जस्तै भएको उनले सुनाए ।

मंगलबार दक्षिणकालीमा उनको शव नजिकै बट्टामा हालेर गंगटा राखेको भेटिएको थियो । उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख चन्द्रकुवेर खापुङका अनुसार यसले पनि मृतक सन्तोषी भएको सनाखत गर्न सहज भएको थियो । किनकि बुबा धर्मबहादुरसँग शनिबार अन्तिम पटक भएको फोन सम्वादमा पनि सन्तोषीले आफूसँग दुईवटा गंगटा भएको सुनाएकी थिइन् ।

युट्युबले भाइरल बनायो, पैसा आएन’

सन्तोषी कहिलेदेखि पशुपंक्षीको आवाज निकाल्न थालिन् धर्मबहादुरलाई थाहा छैन । यसलाई उनी ‘भगवानले दिएको’ उपहार मान्छन् । चार वर्षअघि युट्यबुर भाग्य न्यौपानेले उनको भिडियो खिचेर हालेपछि उनी चर्चामा आइन् ।

उनका दर्जनौं भिडियोले राम्रो भ्यूज पाएको छ । तर उनीहरुको आर्थिक अवस्था सुध्रिएन । धनबहादुरका अनुसार सन्तोषीले ३०० भन्दा बढी स्कुलमा पुगेर प्रस्तुति पनि दिएकी थिइन् । विर्तामोड, बुटवल लगायतका स्थान पुगिन् । विद्यालयहरुले दिएको सम्मानपत्र अहिले धनबहादुरको कोठामै थुप्रिएको छ ।

पहिले गर्व लाग्ने सम्मानपत्रले अहिले पुत्रीशोकमा रहेका धनबहादुरलाई थप पीडा दिन्छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख खापुङसँग सन्तोषीका बुबा । तस्वीरः चन्द्रबहादुर आले/अनलाइनखबर

तेरो जीवनमा अब कहिल्यै दिन आउने छैन’ 

१८ वर्षअघि सडकमा जोगिएको बाबु–छोरीको सम्बन्ध वियोगान्तमा टुंगिएको छ । शुक्रबार उपत्यका अपराध अनुसन्धान कार्यालय पुगेर उनले छोरीको हत्यारा हेर्न खोजे । सुरेश तिम्सिनालाई प्रहरीले म्याद थपका लागि अदालत लगेको थियो ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) चन्द्रकुवेर खापुङलाई भेटेर ‘हत्यारा’लाई आफूले देख्न नपाएको गुनासो गरे । ‘फोटो पनि हेरेको छैन ?’ खापुङले सोधे । धनबहादुरले नहेरेको बताएपछि आफ्नो मोबाइलमा देखाइदिए । ‘ओहो.. हेर्दा त हट्टाकट्टा बलियो रहेछ,’ तस्वीर देख्ने बित्तिकै उनी बोले ।

भेटेको भए, के गर्नुहुन्थ्यो ? धर्मबहादुरले अनलाइनखबरसँग भने, ‘मैले त्यसलाई देखेर कुट्ने होइन, मार्ने होइन । तर एउटा कुरा भन्थे, ‘तेरो जीवन उज्यालो थियो, आफैंले अँध्यारो बनाइस् । तेरो हरेक दिन अब रात हुनेछ ।’

एसएसपी खापुङले पनि ‘सन्तोषी फर्किएर नआए पनि अपराधीलाई सजाय दिइछाड्ने प्रतिबद्धता जनाए ।

यो पनि पढ्नुहोस जसलाई दिउँसो थरीथरीका आवाज सुनाइन्, उसैले साँझ सन्तोषीको हत्या गरे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
गौरव पोखरेल

सुरक्षा मामिलामा रिर्पोटिङ गर्दै आएका पोखरेल अनलाइनखबरका सम्बाददाता हुन् ।

ट्रेन्डिङ

Advertisment