Comments Add Comment
अन्तर्वार्ता :

कांग्रेसमा अर्काे महाधिवेशनपछि मात्रै गणतन्त्र आउने हो ?

‘नेतृत्वबारे सात जनाले निर्णय गर्ने भए कांग्रेसमा हाम्रो भूमिका के ?’

१३ असार, काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन नजिकिएसँगै नेतृत्वका आकांक्षीहरुले आफ्नो दावेदारी प्रस्तुत गर्न थालेका छन् । सभापति शेरबहादुर देउवाले आफूनिकट केन्द्रीय सदस्यहरुसँग नेतृत्वमा दोहोरिन चाहेको बताएका छन् भने संस्थापन समूहमै रहेका उपसभापति विमलेन्द्र निधि पनि सभापति बन्ने दौडमा छन् । त्यहाँ आफूलाई सभापति बनाउन सम्भावना नभएपछि उनले संस्थापनइतरका नेताहरुसँग भेटघाटलाई बाक्लो बनाएका छन् ।

संस्थापनइतर समूहभित्र बरिष्ठ नेता रामचन्द्र पौडेलसहित आधा दर्जन आकांक्षी देखिएका छन् । निधिले संस्थापनइतर समूहमा रहेका र सभापतिका आकांक्षी महामन्त्री डा. शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहसँग भेटवार्ता बढाउँदा कतिपय नेताहरु भने शशंकित बनेका छन् ।

संस्थापनइतर समूहका नेता डा. मिनेन्द्र रिजालले त सर्वसम्मत नेतृत्व चयनबारे निधिले अघि सारेको विकल्पमा आपत्ति जनाएका छन् । अनलाइनखबरलाई दिएको अन्तर्वार्तामा निधिले तीन विकल्प अघि सारेका थिए ।

  • पहिलो, सभापतिका सात आकांक्षीबीच छलफल गर्ने र जसको नाममा सहमति जुट्छ, त्यसलाई स्वीकार गर्ने ।
  • दोस्रो, १३ औं महाधिवेशनमा प्रतिस्पर्धा गरेका तीन नेता बसेर हामी पार्टीको कार्यकारिणी पद ग्रहण गर्दैनौं । अब तपाईंहरु चार जनामा यसरी पदीय भाबगण्डा गर्नुस् भनेर तोकिदिने ।
  • तेस्रो, १३ औं महाधिवेशनमा सभापति नउठेका, तर अहिले सभापतिमा आकांक्षा राखेका चार नेता बसेर सहमति खोज्ने ।

तर निधिको प्रस्तावमा रिजाल टिप्पणी गर्छन्, कांग्रेसमा अर्काे महाधिवेशनपछि मात्रै गणतन्त्र आउने हो ?

प्रस्तुत छ, १४ औं महाधिवेशनमा महामन्त्री पदका दावेदार मानिएका रिजालसँग आसन्न महाधिवेशन, निधिको सर्वसम्मत नेतृत्व चयनको प्रस्ताव लगायतका विषयमा गरिएको कुराकानीको सम्पादित अंश :

सभापति र उपसभापतिले उम्मेदवारी घोषणा गरेर छलफल थालिसक्नुभयो । संस्थापन इतर समूहमा खासै सक्रियता देखिएको छैन । तपाईंहरुलाई महाधिवेशन हुन्छ भन्नेमा अझै शंका हो ?

सभापतिले मलाई नै बोलाएर ‘म महाधिवेशन गर्न चाहन्छु । महाधिवेशन गर्न चाहेन भनेर अपजस लिन म चाहन्न । मलाई सहयोग गर्नुस्’ भन्नु भएको छ । उम्मेदवारी घोषणा गरेर काठमाडौंमा भएका नेताहरुलाई जिल्ला–जिल्ला गएर तयारी गर्नुस् भन्नुभएकाले महाधिवेशन हुँदैन भनेर म आशंका गर्दैन ।

जहाँसम्म हाम्रो समूह (संस्थापनइतर)को प्रश्न छ, हामीलाई पोहोर साल नै महाधिवेशन लागिसकेको हो । तर अहिलेसम्म सभापतिमा को उम्मेदवार बन्ने भन्नेमा एउटा निष्कर्षमा पुग्न मात्र नसकेका हौं । सबै आ–आफ्नै तरिकाले उम्मेदवारीको प्रचारप्रसारमा मात्रै हिँडिरहनुभएको छ । हामीमध्ये अलि बढी निर्वाचनका लागि तयारी गरेर अगाडि बढेको डा. शेखर कोइराला हो । तर चुनाव त लागिसकेको छ । उम्मेदवारी तय गर्न मात्र नसकेको हो ।

तपाईंहरुको समूहले कहिलेसम्म तय गर्छ नेतृत्व ?

अहिलेसम्म नेतृत्वबारे निर्णय गर्न नसकेको कुरालाई हामीले स्वीकार गर्नुपर्छ । संस्थापन समूहबाट सभापति लड्न चाहने विमलेन्द्र निधिले अहिले हाम्रो समूहका दुई प्रमुख खम्बा प्रकाशमान सिंह र डा. शशांक कोइराला बसेर हामी साझा उम्मेदवार तय गर्छाैं भन्नुले पनि हामीभित्र कहिँ न कहिँ कन्फ्यूजन छ भन्ने पुष्टि गर्दछ । विमलेन्द्रजीले अब म तपाईंहरुको समूहमा आएँ, तपाईंहरुले गर्ने निर्णय मानेर बस्छु भन्नुभयो भने एउटा कुरा हो । अथवा म अलग उम्मेदवार हुन्छु भनेर आफ्नै समूहमा प्रयत्न गरेको भए पनि अर्काे कुरा हुन्थ्यो । दुबै नभनेर हाम्रो समूहका दुई खम्बासँग बसेर उम्मेदवारीबारे छलफल गर्दा हामीलाई झनै अन्यौल बनाएको यथार्थ हो ।

तपाईंहरुको समूहमा आउनुभयो भने निधिलाई नै नेतृत्व मानेर जाने अवस्था पनि बन्नसक्छ ?

म यसबारे टिप्पणी गर्न आवश्यक देख्दिनँ किनकि उहाँ (निधि) को अहिलेसम्म बलियो आस्था के छ भने संस्थापन समूहबाट सभापतिको उम्मेदवार हुने । तर उहाँको सर्वसम्मत नेतृत्व चयनको प्रस्तावमा मेरो टिप्पणी छ । उहाँले भन्नु भएको छ, कांग्रेसको नेतृत्व सात जना सभापतिका आकांक्षी (शेरबहादुर देउवा, रामचन्द्र पौडेल, कृष्ण सिटौला, विमलेन्द्र निधि, शशांक कोइराला, प्रकाशमान सिंह र शेखर कोइराला) ले तय गर्नुपर्दछ । सात जनाले तय गर्न सकेन भने १३ औं महाधिवेशनमा नेतृत्वको प्रतिस्पर्धा गरेका देउवा, पौडेल र सिटौला बसेर एउटा निर्णय गरे मान्छौं भन्नुहुन्छ । तीन जनाले पनि निर्णय गर्न नसके हामी चार जना (विमलेन्द्र, शशांक, प्रकाशमान र शेखर) बसेर टुंगोमा पुग्छौं भन्नुहुन्छ । हिजोका पुराना नेता भएका कारण वा स्वनामधन्य नेताका छोराहरु भएका कारण उहाँहरुलाई कांग्रेसको भावी नेतृत्वका बारेमा निर्णय गर्ने विशेषाधिकार छ भन्ने आशयले निधिले कुरा गर्नुभएको छ ।

त्यसो हो भने कांग्रेसमा मेरो भूमिका के ? त्यो विशेषाधिकारबाट नेतृत्वबारे निर्णयमा पुग्न नसकेपछि मात्रै निधिजी हाम्रो समूहको नेता बन्न सक्ने/नसक्ने भन्नेबारे टिप्पणी गर्ने आधार हुन्छ नि ।

निधिले प्रस्ताव गरेको सर्वसम्मत नेतृत्व चयनको मोडालिटी मन नपरेको कि सर्वसम्मत हुन सक्दैन भन्नु भएको ?

मैले सर्वसम्मत नेतृत्व चयन हुनुहुँदैन भनेको छैन । तर उहाँ (निधि) ले विशेषाधिकार प्राप्त हामी सात जना छौं भन्नुभयो, त्यो मलाई जचेन । किनकी हाम्रो पार्टीमा नेतृत्वबारे निर्णय गर्ने विशेषाधिकार कुनै व्यक्ति वा समूहलाई दिइएको छैन । अर्काे, हामीले देशमा गणतन्त्र स्थापना गरिसकेका छौं । कांग्रेसमा चाहिँ अर्काे महाधिवेशनपछि मात्रै गणतन्त्र आउने हो ?

यदि निधिजीले सर्वसम्मतको पहल गर्नुभएको हो भने सुरुमा त उहाँले देउवाजीसँग गर्नुपर्‍यो । देउवाजी र निधिबीच नै सर्वसम्मतको प्रयास खोज्नुभएको छैन । अनि देउवाको विकल्पमा सर्वसम्मत नेतृत्व चयन गर्न नसकेर अलमलिएका हामीहरुबीच आएर उहाँले यहाँ पनि सहमति गर्न नमिल्ने वातावरण बनाउन खोज्नुभएको छ । यसले हामीलाई झनै अलमल र अन्यौलमा मात्र पर्छ ।

आफूहरु मिल्न नसक्ने अनि अरुलाई दोष दिनुको के अर्थ भो र ?

हामी मिल्न सकेनौं भने त्यसको दोषी हामी नै हुन्छौं । तर उहाँ (निधि) ले सबैलाई एकैपटक पोको पार्न खोज्दा उहाँका लागि यो उचित हुन सक्ला, तर अरुका लागि अन्यौल हुनसक्छ । देउवाले लड्छु भनिसक्नुभयो, उहाँले हामी सात जना बसेर निर्णय गर्नुपर्छ भन्दा हामीलाई थप अलमल्याउने काम भयो मात्र भन्न खोजेको हुँ । किनकी उहाँसँग त अझै पनि विकल्प छ । उहाँले अहिले पनि देउवाकै समर्थनमा सभापति लड्छु भनिरहनुभएको छ । उहाँले देउवासँगको धागो टुटेको छैन पनि भन्नुभएको छ । अनि हामीले उहाँका लागि सहमति खोजिदिनुपर्ने ?

तपाईंहरुको भनाइ, निधिजीले देउवातिर बस्ने कि नबस्ने भनेर टुंगो गरेपछि मात्र अरु छलफल हुन्छ भन्ने हो ?

यसलाई देउवा कुनै पनि हालतमा सभापति बन्नुहुन्न भन्ने अर्थ लगाउन हुन्न । शेरबहादुर देउवाप्रति केही गुनासाहरु पनि छन् । तर व्यक्तिगत रुपमा देउवासँग लामो राजनीतिक सहकार्य गरेका कारण सबै जिम्मेवारी देउवाको काँधमा हालेर अरु चोखिनुपर्दछ भन्ने मान्यता म राख्दिनँ । तर शेरबहादुर देउवालाई सभापति बनाउनका लागि तयार एउटा मेसिनरी त छ ।

जहाँसम्म निधिजीको प्रश्न छ, शेरबहादुर देउवाकै समर्थनमा सभापति बन्ने विकल्प राख्दासम्म त उहाँलाई नेतृत्वमा स्वीकार्न सजिलो छैन होला नि ! हामीले तीन वर्षदेखि देउवाको विकल्पमा सहमतिमा नेतृत्व चयनको प्रयास गर्दै आएका छौं । अनि, तपाईंहरुले मेरो नेतृत्व स्वीकार गर्नुभयो भने ठीक छ, नत्र म उतै छु भन्ने उहाँको मनशाय त कसरी उचित मान्न सकिएला ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment